गोली प्रहारबाट घाइते माओवादी नेता पाण्डेको निधन

Death
सुदूर प्रेस संवाददाता

बुटवल–गोली प्रहारबाट गम्भीर घाइते भई उपचार गराइरहेका नेकपा माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दिपक पाण्डेको निधन भएको छ।

पाँच दिनअघि उनीमाथि गोली प्रहार भएको थियो।

काठमाडौंमा उपचार गरिएका पाण्डेको गए राति निधन भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए।

अवस्था थप जटिल बनेपछि उनलाई सोमबार थप उपचार गर्न हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो।

पाण्डे र उनीसँगै रहेका एक जना भारतीय नागरिक मोहमद इर्साद खानलाई गत बुधबार राति तौलिहवा-जीतपुर सडकखण्डमा मोटरसाइकलमा आएका व्यक्तिहरूले गोली प्रहार गरेका थिए।

उनको पेट र शरीरका विभिन्न भागमा गोली लागेको थियो।

उनलाई सोमबारसम्म भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि हेलिकप्टरबाट महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल ल्याइएकोमा उनको गए राति निधन भएको हो।

पाण्डेमाथि गोली चलाएको आरोपमा प्रहरीले कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ३९ वर्षीय ओमप्रकाश यादव र वडा नम्बर २ का ३३ वर्षीय साकिर अलीलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको छ।


ओमप्रकाश जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश सभा सदस्य सहसराम यादवका स्वकीय सचिव हुन्। पाण्डेमाथि जेठ ५ गते राति गोली प्रहार भएको थियो।

घटनामा संलग्नबाट लु१६प ३४९७ नम्बरको पल्सर मोटरसाइकल, २ थान मोबाइल, १ थान जंगी राउन्ड, १ थान खोका पनि बरामद गरिएको प्रहरीले बताएको छ।

यादवले व्यक्तिगत रिसइबीका कारण गोली प्रहारको योजना बनाएको स्वीकारेको प्रहरीले जनाएको छ।

प्रकाशित:
2021/05/25, 7:53