कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले माग्यो थप १० दिन

congress
सुदूर प्रेस संवाददाता

काठमाडौँ– नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले असार ३० गतेसम्म समय मागेको छ ।

पार्टी कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४औं महाधिवेशनको संशोधित कार्यतालिका प्रस्ताव गरेका छन् । जसमा क्रियाशील सदस्यता छानबिनका लागि असार २० सम्म म्याद दिइएको छ ।


छानबिन समितिका संयोजक रमेश लेखकले भने थप १० दिन चाहिने बताएका छन् ।

समितिका सदस्य प्रदीप पौडेलका अनुसार हालसम्म ८ लाख ३ हजार क्रियाशील सदस्यको डेटा इन्ट्री भएको छ । अझै १६ वटा निर्वाचन क्षेत्रका क्रियाशील सदस्यको डेटा इन्ट्री भएको छैन । त्यसमा पनि सप्तरी र बाराका चारवटै, सिन्धुपाल्चोकका दुईवटै निर्वाचन क्षेत्रको डेटा इन्ट्री सुरु नै हुन सकेको छैन ।

समितिमा भएको छलफलमा ढिलोमा डेटा इन्ट्रीका लागि १० गतेसम्म समय दिने तयारी छ । एक सदस्यकाअनुसार अहिले आएका उजुरीहरुमा धेरै प्रदेश २ का छन् । लुम्बिनी र बागमती प्रदेशमा पनि धेरै नै उजुरी आएको छ । सबभन्दा कम गण्डकी प्रदेशमा देखिएको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशबाट आएका उजुरीहरु मिलाउन सकिने खालको नै देखिएको छ ।

प्रकाशित:
2021/06/18, 6:56