दार्चुलामा तुइनबाट खसेर महाकालीमा एक जना बेपत्ता

tuin
फाइल तस्बिर
सुदूर प्रेस संवाददाता

दार्चुला — व्यास गाउँपालिका–२ स्थित मालघाटमा तुइनबाट खसेर एक जना महाकाली नदीमा बेपत्ता भएका छन् । सोही ठाउँका ३५ वर्षीय जयसिंह धामी शुक्रबार बिहान ८ बजेतिर महाकालीमा खसेको प्रहरीले जनाएको छ । 


स्थानीयका अनुसार गाउँबाट दार्चुला सदरमुकाम खलंगा आउन महाकालीको तुइन तरेर भारत पुगेका थिए । त्यहाँ भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले धम्क्याएर तुइन खोल्न लगाउँदा त्यसैको तारले तानेर उनी महाकालीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार तुइन तरेर व्यासका केही मानिस भारतीय बजार गएका थिए । प्रहरी घटनास्थलमा पुगेको र थप विवरण आउन बाँकी रहेको दार्चुला प्रहरीका सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले बताए ।

अहिले दुम्लिङ र सुन्सेरा प्रहरी चौकीको टोली तथा स्थानीय बासिन्दा मिलेर बेपत्ता धामीको खोजी गरिरहेका छन् ।

प्रकाशित:
2021/07/30, 12:44