सुदूरपश्चिम : दशैँतिहारमा ८१ सवारी दुर्घटना, १८ को मृत्यु ११३ घाइते

accident
सुदूर प्रेस संवाददाता

धनगढी– सुदूरपश्चिम प्रदेशमा दशैँतिहारको एक महिनाको अवधिमा ८१ सवारी दुर्घटना भएका छन्। गत असोज २१ गते घटस्थापनादेखि कात्तिक २१ गतेसम्म प्रदेशभर उक्त संख्यामा सवारी दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

प्रदेशका विभिन्न जिल्लामा भएका ती दुर्घटनामा १८ जनाले ज्यान समेत गुमाएका छन्। उक्त अवधिमा दुर्घटनामा परी प्रदेशभर १ सय १३ जना घाइते भएका छन्।  

उक्त अवधिमा यो प्रदेशमा ८१ सवारी दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल ४९ रहेका छन्। यस्तै जीपकार १४, टेम्पो चार, ट्याक्टर तीन, बस दुई र बाँकी अन्य सवारीसाधन रहेका छन्।  

चाडपर्वका वेला गन्तव्यमा पुग्न सार्वजनिक सवारी समयमा नपाउनाले आफ्नै साना सवारीमा यात्रा गर्नेहरू बढी दुर्घटनामा परेको पाइएको छ। दुर्घटना भएका सवारीसाधनमध्ये ७० प्रतिशतभन्दा बढी दुर्घटना मोटरसाइकल दुर्घटना रहेका छन्।

साना सवारीचालकले लापर्वाही ढङ्गले सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी हाँक्ने, सडक साँघुरा र खाल्डाखुल्डी पनि दुर्घटनाको कारण बन्ने गरेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख, प्रहरी उपरीक्षक वामदेव गौतमले बताए।

उनले भने, ‘चाडपर्वका वेला सबैलाई समयमा गन्तव्यमा पुग्न हतार हुन्छ, सडकको खराब अवस्थाले पनि दुर्घटना निम्त्याउने गर्दछ।’ 

यसका साथै चाडपर्वका वेला समयमा गन्तव्यमा समयमै पुग्न हतारो हुने र यातायात सञ्चालकले पनि जथाभावी यात्रु चढाउने, सवारीको क्षमताभन्दा बढी यात्रु राख्ने, हतारोका कारण सवारीको प्राविधिक अवस्था नजाँच्नेजस्ता कारणले दुर्घटना भएको पाइएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित:
2021/11/10, 7:42