शेखर कोइराला भन्छन: कांग्रेसको अबको सभापति मै हुँ !

सुदूर प्रेस संवाददाता

पार्टी रुपान्तरणको मुद्दा बोकेर शेखर कोइराला र महामन्त्री गगन थापा समूहका नेताहरु जिल्ला–जिल्लामा पुगिरहेका बेला केन्द्रमा भने सभापति शेरबहादुर देउवा र नेता कोइरालाबीच निकटता देखिएको छ । महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताहरुले देउवाबाट पार्टी नचल्ने भनिरहेका बेला शेखरको पछिल्लो भूमिकाले विपक्षी खेमालाई झस्काएको छ ।

सभापति देउवाले दुई वर्षअघि १४ औं महाधिवेशनमा आफैँसँग पराजित कोइरालालाई २५ औं वरीयताबाट बढुवा गर्दै वरिष्ठ नेताको हैसियत दिन लागेको विषयले कांग्रेसवृत्त तरंगित बनेको हो ।

त्यसो त पार्टीको विपक्षी खेमालाई कमजोर बनाउन माहिर खेलाडी मानिन्छन् देउवा । १३ औं महाधिवेशनसम्म आफ्ना कट्टर प्रतिस्पर्धी रामचन्द्र पौडेललाई १४ औं महाधिवेशनमा मौन समर्थकदेखि संसदीय दलको नेता चयनमा प्रस्तावक बनाउनु देउवाको रणनीतिक जित थियो ।

पार्टी सञ्चालन र मन्त्रीहरुको नियुक्तिमा सभापति देउवाको कार्यशैलीप्रति शेखर कोइराला किन मौन छन् ? कोइराला खेमामा असन्तुष्टि चुलिएको हो ? महामन्त्रीहरुसँग अब शेखरको सम्बन्ध कस्तो रहला ? देउवा र कोइरालाको मेलले पार्टीलाई कता लान्छ ? के शेखर कोइराला पनि अब ‘रामचन्द्र पौडेलपथ’ मै लागेका हुन् ? 

सुरुमा कांग्रेसभित्रै प्रवेश गरौं । २०७८ साल मंसिरमा भएको नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा पुनः निर्वाचित हुनुभयो । नयाँ नेतृत्व चयन भएको डेढ वर्ष बितिसकेको छ । कांग्रेस कुन दिशामा अघि बढेको छ ? संगठनको अवस्था कस्तो छ ?

यसलाई अलिकति व्याख्या गर्नुपर्छ जस्तो लाग्छ । हामी अधिवेशन लगत्तै, स्थानीय तह र प्रदेश तथा केन्द्रको निर्वाचनमा गयौं । तर हामीले संगठनलाई नजरअन्दाज गर्‍यौं भन्दा पनि हुन्छ । र त्यो नजरअन्दाज अहिलेसम्म पनि भइरहेको छ । भातृ संस्थाहरु पनि बनेका छैनन् । हिजो मात्रै महिला संघ भयो । त्यो पनि पूरा भएको छैन ।

१३ वटा भातृ संगठन तदर्थमा चलेका छन्....

अहिले सबै भातृ संस्था तदर्थमै चलेका छन् ।

१८ वटा सुभेच्छुक संस्था पनि तदर्थमै चलेका छन् ?

होइन सुभेच्छुकमा चाहिँ तपाईंको महत्त्वपूर्ण संस्था जस्तो टे«ड युनियन नियमित भइरहेको छ । शिक्षक संघको भइसक्यो । वास्तवमा मैले यसो हेर्दा के देखिरहेको छु भने– नेपाली कांग्रेस जब–जब सरकारमा जाँदो रहेछ तब–तब हाम्रो संगठन चाहिँ कमजोर हो कि भन्ने देखिन्छ ।

यसो हो कि, नेपाली कांग्रेसलाई जहिले पनि सरकारमा जान हतार हुन्छ ?

पार्टी भएपछि सरकारमा गएर आफ्नो जुन एजेन्डा हुन्छ, त्यो एजेन्डालाई पूरा गरौं भन्ने त स्वाभाविक हो । त्यसलाई हामीले अन्यथा लिनु हुँदैन । तर यो किन भइरहेको छ भने– प्रधानमन्त्री भुन्नुस् वा पार्टी ‘प्रेसिडेन्ड’ र संसदीय दलको नेता एउटै व्यक्ति भएपति त्यो समस्याहरु उत्पन्न हुँदो रहेछ । त्यो मैले गिरिजाबाबुको पालामा पनि देखेको हो । बीपीका पालामा चाहिँ हामी केटाकेटी नै थियौं तर गिरिजाबाबुको पालामा पनि मैले त्यो देखेको हो ।

तपाईं आफू शेरबहादुर देउवासँग सभापतिको प्रतिस्पर्धी हुनुहुन्थ्यो । कति प्रतिशत मत ल्याउनु भयो तपाईंले ?

४० प्रतिशत ।

आज डेढवर्षसम्म सत्तारुढ दल नेपाली कांग्रेसका सभापतिले केन्द्रीय समितिको पूर्णता दिनसक्नु भएको छैन । विधानमा भनेअनुसार केन्द्रीय समितिको बैठक समयमै राख्न सक्नुहुुन्न । भातृ संगठन कयौं वर्षदेखि तदर्थमा चलिरहेका छन् । पार्टीको कोषाध्यक्ष छैन । दुईवटा निर्वाचनमा जानुभयो कोषाध्यक्षविहीन भएर । विधानअनुसार हरेक दुई महिनामा केन्द्रीय समितको बैठक बस्नुपर्छ । तर, भदौ २ गतेदेखि आजसम्म बस्नुभएको छैन । मंसिरमा भएको चुनावको समीक्षा गर्नुभएको छैन । पराजित भए पनि ४० प्रतिशत मत ल्याएको मान्छे पार्टीमा प्रश्न उठाउनु पर्दैन ?

हैन, पार्टीमा प्रश्न नउठाउएको होइन तर के हुन्छ भने– कति कुराहरु जस्तो केन्द्रीय सदस्यको पूर्णता भएको छैन भन्नुभयो नि, त्यो एकदम सोजै सभापतिले गर्ने कुरा हो ।

कस्तो तानाशाही हुदो रहेछन् है कांग्रेसका सभापति जितेपछि...

अब त्यो बनाएको छ ।

लोकतान्त्रिक पार्टीमा आवाज उठाउन मिल्दैन ?

हैन, भनिरहेका छौं नि । केन्दीय समतिलाई पूर्णता दिनुस् हामीले भनिरहेका छौं । पार्टीको कोषाध्यक्ष उहाँले (सभापति) बनाउने हो । १३ औं महाधिवेशनसम्म हामीले कोषाध्यक्ष पनि चुनाव गराउथ्यौं । १४ मा चाहिँ सभापतिले चुन्ने भन्नुभयो । बनाउने त उहाँको काम हो नि त ।

तपाईं सन्तुष्ट हुनुहुन्न शेरबहादुर देउवासँग ?

हैन, सन्तुष्ट र असन्तुष्टको कुरा भन्दा पनि हामीहरुले गर्नुपर्ने जुन छ– पार्टी कमजोर भइरहको देखिन्छ । अब तर कति साथी भन्नुहुन्छ हैन हामीले स्थानीय निर्वाचनमा धेरै जित्यौं । हामीले प्रदेश पनि जितेका छौैं । केन्द्र पनि जितेका छौं ।

तर, हामीले जित्यौं कसरी भन्ने कुरा हामीहरुले हेर्नुपर्ने छ । यो जित्यौं कसरी भन्दाखेरि– गठबन्धन गरेर जित्यौं । हाम्रो तागत छैन भन्ने होइन ।

मंसिर ४ को निर्वाचनमा त तपाईंहरु सबै एक ठाउँमा हुँदा पनि नयाँ दलले जितेको छ ? त्यहाँ त नयाँ सन्देश होला ।

जितेको छ । म त के भन्छु भने– नेपाली कांग्रेससँग एक्लै चुनाव लड्ने क्षमता छ । मैले चुनवा अघि पनि भनेको थिएँ । अहिले पनि भन्दै छु । क्षमता छ हामीसँग । त्यो क्षमतालाई प्रयोग गर्नुपर्‍यो नि त ।

मैले तपाईंका सभापति शेरबहादुर देउवाकै कार्यशैलीमा अलिकति जोड गरेँ । तपाईं आफूलाई कस्तो लागिरहको छ वर्तमान नेतृत्वको पार्टी सञ्चालन ?

पार्टी सञ्चालनको हिसाबले भन्नुभयो भने त अब केन्द्रीय समिति बस्न सकेको छैन । तर कार्यसम्पादन समितिको बैठक चाहिँ बसिरहेकै छ । त्यस्तो हैन कि केही भएकै छैन । पहिला पहिला केन्द्रीय समिति बैठक धेरै बस्थ्यो । पहिला सानो केन्द्रीय समिति हुन्थ्यो अहिले ठूलो छ । तर कार्यसम्पादन समितिको बैठक नियमित छ छैन जति बस्नुपर्ने हो, तर बसिरहेकै छ । महत्त्वपूर्ण घटनामा बसिनै रहेको छ । अब सन्तुष्टिको कुरा गर्नुभयो भने सन्तुष्ट हुने आधार त देखिँदैन ।

चित्त बुझेको छैन ?

चित्त बुझ्ने भनेको त तपाईंको कार्यकर्ताहरुले कसरी लिएका छन् भन्ने हो नि त ।

तपाईंको सभापतिसँग कुरा हुँदैन ? पछिल्लो समय त तपाईं उहाँसँग निकट हुनुहुन्छ ।

त्यस्तोमा बसेर पार्टीका बारेमा छलफल भएको छैन । र तपाईंले यो जुन कुरा उठाउनुभयो त्यो कथन बनाइरहेको छ । कसैले बनाइदिएको छ । अनि तपाईंहरु त्यसमा लागिरहनु भएको छ । शेखर कोइराला शेरबहादुर देउवासँग मिल्यो भन्ने कथन बनाइएको छ । शेखर कोइराला त शेरबहादुर देउवासँग लडेको हो नि त चुजाव ।

कसले बनायो कथन ?

कोही बनाइरहन्छन् नि त मान्छे । समूहहरु हुन्छन् तिनीहरुले बनाइदिन्छन् । म त उहाँसँग चुनाव लडेको व्यक्ति हो नि त । सभापति शेरबहादुरजीसँग चुनाव लडेको हो नि म त । दोस्रो कुरा हामीले के बुझ्न जरुरी छ भने– मैले पटक पटक त्यो भनेको पनि छु । हामीहरु एउटै डुङ्गामा छौं । उहाँमात्रै डुब्नुहुन्नँ । हामीसबै डुब्छौं । कांग्रेसहरु पनि डुब्छौं । त्यो बुझ्न जरुरी छ हामीहरुले ।

त्यसकारण देउवालाई तपाईंको साथ ?

साथ भनेर मैले त्यस्तो गलत काम पनि गरेको छैन । उहाँले बोलाएको बेला जानै पर्छ । सभापति हो, भेट्नै पर्छ । भेट्छु कुरा राख्छु । आफ्ना कुराहरु गर्छु । तर तपाईंहरुले भन्नुभयो, हामीसँगसँगै कार्यक्रममा गयौं भनेर । अब डेमोक्रेटिक लयर्स यसोसिएसनले उहाँ पार्टी सभापति भएर प्रमुख अथिति बोलायो । मलाई विशिष्ट अथिति राख्यो । किन नजाने ? अब जहाँ बोलाएको हुन्छ, त्यहाँ त जाने हो ।

यहाँभन्दा पहिला किन सँगै जानुभएन ? बोलाउँदैन थिए ?

डेमोक्रेटिक लयर्स यसोसिएसनले त बोलाइराखेको नै थियो पहिलादेखि नै । बोलाएको ठाउँमा जान्छु म ।

तपाईं देउवाको प्रतिस्पर्धी अनि आलोचक पनि हुनुहुन्थ्यो । उहाँको शैलीप्रति तपाईंको आपत्ति थियो । तपाईंले पार्टीभित्र आफूजस्तो असन्तुष्टहरुको समूह नै बनाउनुभयो । तर अहिले तपाईं देउवाको समर्थनमा जुटेको मनिसहरुले आभास गर्न थाले । त्यसको कारण के हुन सक्छ ?

आपत्ति त अहिले पनि छ । त्यति त मैले भने त्यो कथन बनाइरहिएको छ । त्यसलाई तपाईंहरु त्यसरी बुझिदिनुुस् ।

महाधिवेशनमा पराजित भएपछि तपाईंलाई वरिष्ठ नेताको हैसियत दिनुपर्छ भनेर माग पनि उठेको थियो । तर, त्यो कुरा सभापति देउवाले सुनेको नसुन्यै गर्नुभयो । वरीयतामा पनि २५ नम्बरमा राखिदिनुभयो । तर, अहिले तपाईंले नेतृत्वको आलोचना गर्न छाडेपछि वरिष्ठ नेताको हैसियत दिने तयारी पनि छ भन्ने सुनिन्छ ।

दिएको त छैन । शेरबहादुरजीले कहाँ दिनुभएको छ ।

कुरा चलेको छ ?

मैले त कुरा गरेको छैन । अब दिनुभयो भने दिनुभयो । दिनुभएन भने म चाहिँ माग्न जान्नँ ।

वरिष्ठ नेता दिने कुरा मिलेको होइन ?

कहाँ मिलेको छ ? यो के भएको हो भने त्यो पनि तपाईंहरुलाई बताइदिनु पर्नेछ । डीएलएको कार्यक्रममा शेरबहादुरजी प्रमुख अथिति हुनुहुन्थ्यो, म विशिष्ट अथिति थिएँ । अनि उपसभापति धनराज गुरुङ हुनुहुन्थ्यो, कानुनमन्त्रीको हैसियतले । र, महामन्त्री गगन थापा हुनुुहुन्थ्यो । अब डीएलएको साथीहरुले शेरबहादुरजीपछि मलाई आसन ग्रहण गराए । त्यसपछि कसैले उहाँलाई वरिष्ठ दियो भनेर भनिदियो भने त भएन नि ।

पार्टी कार्यालयमै तपाईंका लागि छुट्टै कोठाको व्यवस्थासमेत हुँदैछ भन्ने पनि छ ।

होइन, कोठा त मैले पाइसकेको छु ।

वरिष्ठ नेताको कोठा ?

वरिष्ठ नेताको कोठा भनेर होइन । कोठा भने दिइएको छ । वरिष्ठ नेता दिएकै छैन त, कसरी दिन्छ ।

अर्को पनि केही आधार होला नि, एउटा खरो आलोचक, जो पार्टी सुधारको पक्षमा वकालत गर्नुहुथ्यो । अहिले एकाएक सभापति देउवासँग मिल्नुभयो भन्ने कारण यो पनि हुनसक्छ कि– मन्त्रिपरिषद्मा कांग्रेसका तर्फबाट नाम पठाउँदा पनि तपाईंसँग परामर्श भएरै सभापतिले नाम सिफारिस गर्नुभएको हो । सभापतिले नाम माग्दा अन्तिममा २ जनाको नाम दिए सुटुक्क सिंगापुर उड्नुभयो भन्ने पनि आरोप छ नि ?

एकदम गलत । यो जे सुन्नुभएको छ गलत हो ।

सत्य बताइदिनुस् न त....

सत्य म बनाउँछु । म सिंगापुर जानुभन्दा पहिले गगन थापाजीसँग दुईघण्टा बसेर छलफल गर्‍यौं । यी नै नाम र प्रदेशमन्त्रीको पनि कुरा थियो । भोलिपल्ट सिंगापुर जाने भनेर मैले शेरबहादुर देउवालाई फोन गरेँ । नाम त दिनुपर्‍यो । मैले तीनवटा नाम दिएको हो, दुईवटा होइन ।

तीवनटा नाम को को हो, भन्नुन ।

अहिले जुन आयो नि धनराज गुुरुङ, डिगबहादुर लिम्बु र सुरेन्द्र आचार्य । म तीनवटै नाम दिएर गएको हो । छलफल गरेन भनेर कसैले भन्छ भने त्यो गलत हो ।

गगनजीले पछि छलफल भएन भन्नुभयो ?

मलाई भन्नुभएको छैन । उहाँसँग छलफल गरेकै हो ।

तर सार्वजनिक स्थानमै उहाँले असन्तुष्टि जनाउनु भयो नि ?

कसैले असन्तुष्टि जनाउँछ भने त्यसको उत्तर त मसँग छैन । तर गगनजीलाई सोध्नुहोला शेखरसँग बसेर दुईघण्टा छलफल भएको हो कि होइन ?

सिंगापुर केका लागि जानुभएको थियो ?

म आफ्नो चेकअपका लागि गएको थिएँ । यहाँ उपचार पनि गराइरहेको थिएँ । डा. सन्दुक रुइतले एकपटक सिंगापुर जाऊ भनेपछि गएको हुँ ।

पछिल्लो समय तपाईं सिंगापुर जानुभयो । आरजूजीको सिंगापुर जाने कुरा थियो । शेरबहादुर देउवा अहिले सिंगापुरमा हुनुहुन्छ....

त्योसँग कुनै सम्बन्ध छैन ।

तपाईंहरु तीनजना नै सिंगापुर जाने–आउनेमा केही हुनसक्छ ?

पटक्कै होइन । त्यससँग मेरो केही सम्बन्ध नै छैन । आरजूजी कहिले जानुभयो र ? अहिले जानुभयो नि सिंगापुर ।

कांग्रेस रुपान्तरण अभियान भनेर कांग्रेसकै एउटा समूह अहिले पनि देशव्यापी कार्यक्रम गर्दै हिँडेको छ । यो अभियानमा सहभागी सबै तपाईंकै समूहका नेता छन् । महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा आफ्नै तरिकाले कार्यकर्तामाझ पुगिरहेका छन् । तपाईं त्यस्ता अभियानमा देखिनुहुन्न । तर तपाईंलाई यो अभियानमा नदेख्दा मान्छेले केही अचम्म माने ?

हैन दुईवटा कुरा छ । एउटा जिल्ला अधिवेशनहरु भइरहेका छन् । जिल्ला अधिवेशनमा महामन्त्रीको हैसियतले यो पटक उहाँहरु र सह–महामन्त्रीहरु सबै गइरहनु भएको छ । कति ठाउँमा म भ्याइरहेको छैन । नभ्याएकाले म गएको छैन । मैले पठाइ पनि रहेको छु । कहिले भन्छु– गगनजी तपाईं गइदिनुहोस् कहिले सह–महामन्त्रीहरुलाई भनेको छु । उहाँहरु गइरहनु पनि भएको छ ।

दोस्रो कुरा रुपान्तरण कार्यक्रम जुन छ त्यो अलिकति भिन्दै हो । त्यो चाहिँ मैले नै गराएको हो फेरि । यसमा कसैलाई दोष दिने ठाउँ नै छैन । साथीहरुलाई भने हामी धेरै घुमिरहेका छैनौं । अहिले उपनिर्वाचनपछि एकदमै कार्यकर्ता चिन्तित भएका छन् । पार्टी छोडेर अरु पार्टीमा जाने खतरा बढेको छ । तपाईंहरु आफ्नो तरिकाले तपाईंहरु आफै बस्नुस्, सात वटा समूह बनाउनू । तपाईंहरु जानुस् सातैवटा प्रदेशमा मैले पठाएको हो ।

तर यो पनि भनेको छु– त्यहाँ कसैलाई गालीगलौज गर्ने होइन । अर्को समूहका साथीहरुलाई पनि तपाईंहरुले फोन गर्नुस् । धेरै सिनियर साथी हुनुहुन्छ भने घर जानुस् । भेट्नुस्, बोलाउनुस्, जो आउनुहुन्छ ठीक छ, जो आउनुभएन भने भन्नु के छ र ।

पार्टीकै कतिपय नेताहरुले भन्न थालेका छन्– शेखर कोइराला अब महामन्त्रीसँगै नहिँड्नु चाहिँ मलाई भोलिका दिनमा अप्ठ्यारो पर्न सक्छ भन्ने सोचाइमा हुनुहुन्छ भन्छन् नि ?

बोलाउनुपर्‍यो नि त । जिल्लाले नबोलाएर हुन्छ ? गगनजी र मेरो बारेमा त छलफल नै भइरहेको छ । यो जिल्ला कार्यक्रम होइन, त्यसपछि हामीसँगै दुई–चार ठाउँ जानुप¥यो भनेर सल्लाह भइरहेको छ ।

आगामी महाधिवेशनमा तपाई फेरि सभापतिमा लड्नुहुन्छ ?

लड्छु ।

जित्नकै लागि ?

जित्नकै लागि त लडछ नि मान्छे । लास्ट टाइम पनि जित्नकै लागि लड्या हो । कान्तिपुर टिभी वाट साभार

प्रकाशित:
2023/06/15, 8:21