सिंगापुरलाई पराजित गर्दै नेपाल फाइनलमा, मलेसियासँग उपाधिका लागि खेल्ने

सुदूर प्रेस संवाददाता

धनगढी - नेपाल एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । नेपालले सोमबार सिंगापुरलाई ९७ रनले पराजित गर्‍यो । मलेसियामा भइरहेको प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरको खेलमा ९ विकेट गुमाई १ सय ८४ रन बनाएको थियो । जवाफमा आएको सिंगापुर ३१.३ ओभरमा ८७ रनमा अलआउट भयो ।

नेपालले मंगलबार हुने फाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । सोमबार भएको अर्को सेमिफाइनलमा घरेलु टोली मलेसियाले हङकङलाई ७८ रनले पराजित गर्‍यो । सिंगापुरले आक्रामक सुरुआत गरे पनि नेपाली स्पिनरले उनीहरुलाई अंकुश लगाएका थिए । 

ओपनर रोशन रविचन्द्रनले सर्वाीधक २४ रन बनाए । उनले ३७ बल खेली ३ चौका र १ छक्का प्रहार गरे । कविर बेरिलाले ११ रन बनाए । प्रणव धानुका १४ रनमा अविजित रहे । उनले दुई चौका प्रहार गरेका थिए ।

नेपालबाट कृतिक कामतले ३ विकेट लिए । उनले २.३ ओभरमा ९ रन खर्चे । कप्तान अभिषेक तिवारी, प्रतीक पोखरेल, सन्तोष यादव, अशोक धामी र नरेन भट्टले १–१ विकेट लिए ।

यसअघि सूर्यांशु कोइराला र निरज यादवले १२ ओभरभित्र ६३ रन जोडेर नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । सूर्यांशु आउट भएपछि यो साझेदारी टुटेको थियो । उनले ४९ बल खेल्दै ६ चौका प्रहार गरी ४३ रन बनाए । निरजले ४२ रन जोड्नेक्रममा ४९ बल खेली ३ चौका र १ छक्का प्रहार गरे ।

आशिष लुहार ६, नरेन ३, प्रतिक १२ रनमा आउट भएपछि नेपाल दबाबमा परेको थियो । सन्तोष यादवले २४ बल खेल्दै २ चौकासहित १८ रन बनाए । अशोक धामी शून्यमै आउट भएपछि कप्तान अभिषेक तिवारी र दीप भुजेलले आठौं विकेटमा ३९ रनको महत्त्वपूर्ण साझेदारी गरे । अभिषेकले २१ बल खेली समान १ चौका र छक्का प्रहार गर्दै २५ रन बनाए ।

दीप १५ बलमा १२ रन बनाई अविजित रहे । कृतिक कामत अन्तिम ओभरमा १० रन बनाई अविजित रहे । उनले ५ बल खेली १ चौका प्रहार गरे । प्रतीक पोखरेल २ बल खेली ३ रन बनाई अविजित रहे । सिंगापुरबाट हरिहरनले ३ विकेट लिए । उनले ७ ओभरमा ३१ रन खर्चे । हर्ष वेंकटर्म र कविर बेरिलाले २–२ विकेट लिए ।

नेपाले थाइल्यान्ड र मलेसियालाई पराजित गरि समूह ‘ए’ को विजेता बनेर सेमिफाइनलमा पुगेको थियो । माल्दिभ्स र इन्डोनेसियामाथि विजय हात पारेको सिंगापुर अन्तिम खेलमा हङकङसँग पराजित भएपछि समूह ‘बी’ को उपविजेता बनेको थियो ।

प्रकाशित:
2023/07/03, 1:10
SPA
KN
Priya Gahana Pasal