प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

सुदूर प्रेस संवाददाता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधन भएको छ । बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । उनी ६९ वर्षकी थिइन् ।

लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट पीडित सीताको स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई बुधबार बिहान नर्भिक अस्पताल लगिएको थियो ।

प्रधानमन्त्री दाहालका निजी चिकित्सक प्राध्यापक डा. युवराज शर्माका अनुसार सीता दाहाललाई बुधबार बिहान ८ बजे हृदयघात भएपछि अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको ८ बजेर ३३ मिनेट जाँदा निधन भएको डा. शर्माले जनाएका छन् ।

यसअघि अमेरिका, भारतको मुम्बई र सिंगापुरमा उपचार गर्दा पनि उनको रोग निको भएको थिएन ।

प्रकाशित:
2023/07/12, 9:35