सुदूरपश्चिमका पाँच वटा स्थानीय तहद्वारा एमबिबिएस अध्ययनरतलाई आंशिक छात्रवृत्ति प्रदान

सुदूर प्रेस संवाददाता

धनगढी– सुदूरपश्चिमको पहाडी जिल्ला डोटीको आदर्श गाउँपालिकाले पनि एमबीबीएस अध्ययनरत २ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा जनही ६० हजारका दरले स्थानीय शिवानी सिंह र दिनेश ओडलाई एमबीबीएस अध्ययन छात्रवृत्ति दिएको गाउँपालिका अध्यक्ष गणेश खड्काले बताए ।

बझाङको दुर्गाथली गाउँपालिकाले ०७९/८० देखि अध्यक्ष छात्रवृत्ति कार्यक्रमअन्तर्गत स्थानीय विद्यार्थीलाई एमबीबीएस छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष दिलबहादुर थापाले गाउँपालिकाकै सामुदायिक विद्यालयमा पढेको हुनुपर्ने, दलित, जेहेनदार, सहिद परिवार तथा महिलालाई विशेष प्राथमिकता दिने गरी वार्षिक ५ लाखका दरले २० लाख दिने निर्णय भएको सुनाए ।

डडेलधुराका अमरगढी नगरपालिका, भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिकाले पनि हरेक वर्ष एक जना जेहेनदार र गरिब विद्यार्थीलाई एमबीबीएस अध्ययन गर्न छात्रवृत्ति दिने निर्णय गरेका छन् । भागेश्वर गाउँपालिका प्रमुख हेमराज चटौतले कुन प्रक्रियाबाट छात्रवृत्ति दिने, छनोट कसरी गर्ने भन्ने निर्णय भएपछि बजेट छुट्याइने बताए ।

अमरगढी नगर प्रमुख डिल्लीराज जोशीले हरेक वर्ष एक जनालाई छात्रवृत्ति दिने निर्णय भएको तर अझै बजेट विनियोजन नभइसकेको बताए । यी तीनै स्थानीय तहको निर्णय कार्यान्वयनमा गएको चार वर्षमा १२ जनाले चिकित्सा शिक्षा अध्ययनको मौका पाउनेछन् ।

प्रकाशित:
2023/07/15, 10:14