शिक्षक भर्ना प्रक्रिया कार्यान्वयन नगर्न महाकाली नगरपालिकाको नाममा अदालतको आदेश

सुदूर प्रेस संवाददाता

दार्चुला – जिल्ला अदालत दार्चुलाले महाकाली नगरपालिकाको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेकाे छ । नगर शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक परीक्षाको विज्ञापन २०८० लाई कार्यान्वयन नगर्न अदालतले नगरपालिकाकाे नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको जिल्ला अदालत दार्चुलाका स्रेस्तेदार कोशलेश्वर ज्ञवालीले जानकारी दिनुभयो ।

आइतवार जिल्ला न्यायाधीश खेमराज भट्टको एकल इजलासले २०८० असार २४ गते नगरपालिकाले गरेको नगर शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक परीक्षा विज्ञापन २०८० लाई तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको उहाँले बताउनुभयो । निवेदकहरूले अन्तरिम आदेशको माग गरेको देखिँदा त्यस सम्बन्धमा दुवै पक्षलाई राखी छलफल गर्नु मनासिब देखिएकोले अदालतले आउँदाे बिहीवार दुवै पक्षलाई बाेलाएकाे स्रेस्तेदार ज्ञवालीले बताउनुभयो ।

महाकाली नगरपालिकाले असार २४ गते आधारभूत तह (कक्षा ६–८) र माध्यमिक तह (कक्षा ९–१०) मा ३३ जना नगर शिक्षक भर्नाका लागि दरखास्त आह्वान गरेको थियाे । नगरपालिकाले आधारभूत तहका नाै वटा विद्यालयमा २१ जना र माध्यमिक तहका सात वटा विद्यालयमा १२ जना शिक्षक भर्ना गर्न विज्ञापन गरेकाे थियाे ।

नगरपालिकाकाे निर्णयविरुद्ध मालिकार्जुन गाउँपालिका–२ बस्ने सुन्दर सिंह धामीसहित तीन जनाले निवेदन दिएका थिए । निवेदनमाथि अधिवक्ताद्वय धिरेन्द्र साउँद र हरिशचन्द्र जोशीले बहस गरेपछि विपक्षी महाकाली नगरपालिकाकाे नाममा अल्पकालीन अन्तरिम आदेश जारी भएकाे न्यायाधीश खेमराज भट्टले जानकारी दिनुभयाे ।

प्रकाशित:
2023/07/17, 7:06