बन्धक बनाएर सामूहिक बलात्कार गर्ने चार जना पक्राउ

सुदूर प्रेस संवाददाता

सप्तरीको कञ्चनरुप नगरपालिकामा १७ वर्षीया एक किशोरीलाई बन्धक बनाएर सामूहिक बलात्कारको घटना भएको छ । अपराधमा संलग्न रहेको आरोपमा कञ्चनरुप नगरपालिका वडा नम्बर १२ का चार युवा पक्राउ परेका छन् ।

कक्षा ९ मा अध्ययनरत किशोरी र उनका अभिभावकले सप्तरी प्रहरीमा उजुरी दिएका छन् । इलाका प्रहरी कार्यालय ठेलिया सप्तरीले घटनामा संलग्न रहेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।

गत असार २९ गते राति ८ बजे आफ्नो साथीसँग घरमा कुराकानी गरिरहेका बेला किशोरीलाई आरोपीहरुले नियन्त्रणमा लिई नजिकैको अर्को घरमा लगेर कुटपिट गर्दै बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आरोपीहरुलाई मंगलबार सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान अघि बढाइएको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी नरेशकुमार सिंहले जानकारी दिए ।

आरोपीहरुले फेसबुक-टिकटकबाट तस्बिर सार्वजनिक गरिदिने धम्की दिँदै साथीको घरमा लगेर सामूहिक बलात्कार र कुटपिट गरेको पीडित किशोरीको भनाइ छ । 

प्रकाशित:
2023/07/20, 7:58