सुदूरपश्चिम विश्वविद्यालयमा १६ दिनदेखि तालाबन्दी

विभाग र क्याम्पस प्रमुखमा राजनीतिक भागबण्डा
सुदूर प्रेस संवाददाता

कञ्चनपुर — सुदूरपश्चिम विश्वविद्यालयको महेन्द्रनगरस्थित केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको १६ दिन भयो । विश्वविद्यालयले हालै गरेको विभागीय प्रमुख र क्याम्पस प्रमुखलगायतको नियुक्तिमा असन्तुष्टि जनाउदै राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले तालाबन्दी गरेको हो । जसका कारण केन्द्रीय कार्यालयका सबै कामकाज प्रभावित भएका छन् । विश्वविद्यालयले असार अन्तिम साता ७ वटा विभाग र १५ क्याम्पसमा नयाँ प्रमुख नियुक्त गरेको थियो । राजनीतिक भागबण्डाका आधारमा गरेको नियुक्तिको विरोधमा सुरुमा एमाले निकट अनेरास्ववियू र राप्रपा निकट राप्रविसले तालाबन्दी गरेका थिए । अनेरास्ववियूसँग सहमति भएर ताला खुले पनि राप्रविससंॅग भने हालसम्म छलफलसमेत भएको छैन । विश्वविद्यालयले विभागीय प्रमुखमा इन्जिनियरिङतर्फ हरेन्द्रराज कलौनी, व्यवस्थापनमा पदमराज भट्ट, मानविकिमा पुष्पराज जोशी, शिक्षामा अर्जुन नेगी, सिएसआईटीमा कर्णदेव भट्ट, विज्ञानमा शैलेन्द्र चन्द र कृषिमा सुशील न्यौपानेलाई नियुक्त गरेको थियो । जसमा कांग्रेस, एमाले, माओवादी केन्द्र निकट प्राध्यापक संगठनबाट २/२ र एकीकृत समाजवादी निकट संगठनबाट एक जना परेका छन् । विश्वविद्यालयले हालै नियुक्त गरेका १५ जना क्याम्पस प्रमुखमा पनि कांग्रेस र एमाले निकटबाट ६/६ जना र माओवादी निकटका ३ जना परेका छन् ।

‘हामीले यही भागबण्डा अन्त्य हुनुपर्छ भनेर ताला लगाएका हौं,’ राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष प्रेम रावलले भने, ‘सेवा आयोगलाई निष्क्रिय बनाएर हरेक कुरा भागबण्डामा नियुक्त गर्ने काम बन्द गर्नुपर्छ ।’ उनका अनुसार केन्द्रीय कार्यालयमा ताला लगाएको १६ दिनसम्म विश्वविद्यालयले छलफलका लागि समेत चासो दिएको छैन ।

राजनीतिक भागबण्डाका आधारमा नभई सेवा आयोगबाट नियुक्त गरिनुपर्ने माग गर्दै ताला लगाएको अनेरास्ववियू कञ्चनपुरका अध्यक्ष अमर धानुकले बताए । २०७७ मा पनि विश्वविद्यालयले कुनै पनि पदमा राजनीतिक भागबण्डाका आधारमा नियुक्ति नगर्ने सहमति गरेको तर कार्यान्वयन नगरेको उनको आरोप छ । अनेरास्ववियूले केन्द्रबाटै शैक्षिक संस्थामा ताला नलगाउने नीति अन्तरगत ताला खोलिएको र विश्वविद्यालयसँग पनि राजनीतिक भागबण्डाका आधारमा नियुक्ति नगर्ने सहमति भएको अध्यक्ष धानुकले बताए ।विश्वविद्यालयले गरेको नियुक्तिप्रति असन्तुष्टि देखिएको पहिलो पटक होइन । यसअघि पनि विभागीय प्रमुखदेखि सहायक डीनलगायत नियुक्त गर्दा पनि विद्यार्थी संगठनहरुले महिना दिनसम्म ताला लगाएका थिए । २०७७ मा विद्यार्थीको तालाबन्दीका कारण दीक्षान्त समारोह समेत प्रभावित भएको थियो । विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकले विद्यार्थी संगठनहरुले विभिन्न माग राखेर गरिएको तालाबन्दीका विषयमा छलफल भइरहेको बताए । अनेरास्ववियूसँग छलफल गरेरै ताला खोलिएको र राप्रविससँग पनि छलफल गरेर ताला खोलिने उनले बताए ।

‘हामीले ज्येष्ठता र क्षमताका आधारमा विभागीय र क्याम्पस प्रमुख नियुक्त गरेका हौं,’ रजिष्ट्रार पाठकले भने, ‘कहीकतै भागबण्डा भएको छैन ।’ ०६८ मा स्थापना भएको विश्वविद्यालयले एक वर्षपछि प्रशासनिक कामकाज सुरु गरेको थियो । ०६९ मंसिरदेखि तत्कालीन सिद्धनाथ बहुमुखी क्याम्पसलाई (हालको केन्द्रीय क्याम्पस) विश्वविद्यालयमा समायोजन गरि पठनपाठन सुरु गरिएको हो । स्थापना भएको १२ वर्षमा पटकपटक गरि केन्द्रीय कार्यालयमा ८ सय भन्दा बढी दिन तालाबन्दी भएको छ । सामान्य विवाद वा असहमतिमा पनि कहिले प्राध्यापक संगठन त कहिले विद्यार्थी संगठनले तालाबन्दी गर्दै आएका हुन् ।

यसैबीच मंगलबार विश्वविद्यालयको ११ औं सभा काठमाडौंमा सम्पन्न भएको छ । सभाले थप दुईवटा क्याम्पसलाई आंगिक बनाउने निर्णय समेत गरेको छ । बैतडीको गोकुलेश्वरस्थित कृषि क्याम्पस र कञ्चनपुरको बेलौरीस्थित महाकाली बहुमुखी क्याम्पसलाई आंगिक बनाउने निर्णय भएको रजिष्ट्रार पाठकले बताए । योसँग सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसको संख्या २८ पुगेको छ । यसअघि पटकपटक आंगिक भएका क्याम्पसको दरबन्दी स्वीकृत गर्नेदेखि मिलानको काम बाँकी छ । ०७४ मा आंगिक भएका ६ र गत चैतमा आंगिक भएका ५ गरि ११ क्याम्पसको दरबन्दी अझै स्वीकृत हुन सकेको छैन । ०७० मै आंगिक बनाएका १५ क्याम्पसको दरबन्दी पनि अझै मिलान हुन सकेको छैन । ०७४ मा आंगिक भएका ६ क्याम्पससँग ०७५ मा सम्झौता समेत भइसकेको छ । तर अझै दरबन्दी स्वीकृत हुन सकेको छैन । पछिल्लो पटक आंगिक भएका क्याम्पससँग सम्झौता हुन बाँकी छ ।

प्रकाशित:
2023/08/02, 8:08