केदारनाथमा पहिरोमा बेपत्ताको खोजी र उद्धारबारे सीमावर्ती जिल्लाका सुरक्षा निकायसँग समन्वय

सुदूर प्रेस संवाददाता

कञ्चनपुर — भारत उत्तराखण्डको केदारनाथ मार्गमा पर्ने गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएका नेपालीहरुको खोजी तथा उद्धारका लागि सीमावर्ती जिल्लाका सुरक्षा निकायमार्फत समन्वय भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले आवश्यक सूचना आदानप्रदानदेखि खोज, उद्धारका विषयमा जानकारी प्राप्त भइरहेको बताए । 

बिहीबार राति गौरीकुण्डामा गएको पहिरोमा परी तीन जना नेपालीको मृत्यु भएको भारतीय अधिकारीहरूले पुष्टी गरेका छन् ।गौरीकुण्डमा नेपालीहरुले पसल तथा होटेल सञ्चालन गरेका थिए । पहिरोले पसल र होटेल सबै बगाएर मन्दाकिनी नदीमा पुर्‍याएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

‘अहिलेसम्म १३ जना बेपत्ता भएको भन्ने जानकारी आएको छ,’ प्रमुख जिल्ला अधिकारी अधिकारीले भने, ‘सीमावर्ती जिल्लाका डिएमसँग समन्वय भइरहेको छ, घटना भएको जिल्लाका डिएमसॅंग उहाँहरुले समन्वय गरिरहनुभएको छ ।’ उनका अनुसार दिल्लीस्थित नेपाली दूतावासमार्फत पनि आवश्यक समन्वय भइरहेको छ । प्रजिअ अधिकारीले गौरीकुण्डमा बेपत्ता भएका परिवारका आफन्त घटनास्थलतर्फ गएको विषयमा पनि जानकारी नआएको बताए ।

भारतको उत्तराखण्ड र हिमाञ्चल क्षेत्रमा लगातार बाढी पहिरोबाट ठूलो धनजनको क्षति भइरहेको छ । नेपालमा खेतीपातीको काम सकिएपछि नेपालीहरु रोजगारी खोज्दै हिमाञ्चलको सिमला र उत्तराखण्डको केदारनाथ लगायतका क्षेत्रमा गइरहेका छन् । पश्चिमी नाका गड्डाचौकीबाट दैनिक एक हजारको हाराहरीमा नेपालीहरु रोजगारीका लागि भारततर्फ गइरहेका गड्डाचौकीस्थित हेल्थ डेस्कका कर्मचारी दानसिंह बोहोराले बताए ।

२०७० मा पनि केदारनाथ र बद्रीनाथमा भीषण वर्षापछि बाढी र पहिरोले ठूलो धनजनको क्षति भएको थियो । उक्त क्षेत्रमा नेपालीहरु भरियाको काम गर्छन् । उनीहरु वृद्धवृद्धाहरुलाई डोकोमा बोक्ने, तीर्थयात्रीका सामान ढुवानीलगायत कामदेखि गर्दै आएका छन् । कतिपयले होटेल र किराना पसल चलाएर बसेका छन् । पछिल्लो पटक गौरीकुण्डमा होटेल चलाएका परिवार नै पहिरोको चपेटामा परेका हुन् ।

यसैबीच, कञ्चनपुरका प्रहरी प्रमुख एसपी कमल थापाले शनिबार अबेर साँझसम्म घटनास्थलबाट कुनै पनि नेपाली कामदार यहाँको गड्डाचौकी सीमानाका भएर फर्केको जानकारी नभएको बताए । उनले सीमावर्ती क्षेत्रका भारतीय सुरक्षाकर्मीसँग समन्वय भइरहेको जानकारी दिए ।

प्रकाशित:
2023/08/06, 8:23