मनसुन फेरि सक्रिय : पाँच प्रदेशमा आज अत्यधिक वर्षाको सम्भावना

धनगढी–  देशभर सामान्यदेखि पूर्ण बदली भई हाल सुदुरपश्चिम,कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही र लुम्बिनी प्रदेशका थोरै स्थान वर्षा भइरहेको छ । काठमाडौंमा रातिदेखि नै झरी परिरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुको साथै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) रहेको महाशाखाले जानकारी दिएको छ ।

आज दिउँसो देशका धेरैजसो स्थानमा वर्षा हुनेछ । आज पाँच प्रदेशमा अत्यधिक वर्षा हुने महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ । तीन वटा प्रदेशमा भारी र धेरै भारी वर्षा हुने पूर्वानुमान छ भने दुई प्रदेश मधेस र लुम्बिनीमाका एक-दुई स्थानमा भारी वर्षा हुनेछ । 

कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी र धेरै भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ । यस्तै मधेस तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुनेछ । त्यसैगरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यस्तै राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी र एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी प्रदेशका एक-दुई स्थानमा पनि भारी वर्षा हुनेछ । महाशाखाकाअनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानमासमेत हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

भोलि (मंगलबार) पनि मधेस र बागमती प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। साथै कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानमा हल्कादेखि मध्यम वर्षा पनि हुनेछ । 

राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुँदा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा र एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ। साथै मधेस प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना छ।

 

बुधबार दिउँसो देशका धेरै स्थानमा वर्षाको सम्भावना छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुनेछ । साथै कोशी र मधेस प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि चल्नेछ ।

राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना छ । साथै लुम्बिनी प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । 

प्रकाशित:
2023/08/07, 7:45