चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

सुदूर प्रेस संवाददाता

धनगढी– हाल देशभर आंशिकदेखि सामान्य बदली भई कोशी र बागमती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्टयाङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौं उपत्यका र आसपासको क्षेत्रमा रातिदेखि वर्षा भइरहेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै नेपालमा हाल भारतको उत्त्तर मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रकोसमेत आंशिक प्रभाव रहेको छ।

आज दिउँसो सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । कोशी, बागमती, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले आज बिहान प्रकाशित गरेको बुलेटिन अनुसार राति पनि देशका सातै प्रदेशका केही स्थानमा वर्षा हुनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ । 

प्रकाशित:
2023/08/21, 7:01