सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

सुदूर प्रेस संवाददाता

धनगढी–आंशिकदेखि सामान्य बदली भई हाल बागमती र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

हाल मनसुनको न्यून चापीय रेखाको पश्चिमी भू-भाग सरदर स्थानको उत्तरतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी भू-भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर-पश्चिम भागमा रहेको न्यून चापीय प्रणालीकोसमेत आंशिक प्रभाव रहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन्/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। महाशाखाको अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनेछ ।

राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन्/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ ।

भोलि (बुधबार) कोशी र बागमती प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । राति कोशी प्रदेशलगायत पहाडी भूभागका थोरै स्थान तथा बाँकी भू-भागका एक-दुई स्थानमा वर्षा हुनेछ ।

बिहीबार भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन्/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षा हुनेछ ।

प्रकाशित:
2023/09/05, 8:13