वीर अस्पतालको छैटौँ तलाबाट हामफालेका एक पुरुषको मृत्यु

सुदूर प्रेस संवाददाता

काठमाडौं–वीर अस्पतालको नयाँ भवनको छैटौँ तलाबाट खसेर एक पुरुषको मृत्यु भएको छ ।

अस्पतालको नयाँ सर्जिकल भवनको छैटौँ तलबाट आज बिहान २ बजे ती पुरुष खसेको सीसीटीभी फुटेजमा देखिएको छ । मृतक पुरुषको हालसम्म पहिचान हुन नसकेको अस्पतालका सूचना अधिकारी सागर मिश्रले जानकारी दिए ।

ती पुरुषले आफूलाई बिरामीको कुरुवा भन्दै अस्पताल प्रवेश गरेका थिए । तर अस्पताल प्रशासनले उनका कोही पनि बिरामी अस्पतालमा नभेटेको जनाएको छ ।

उनको मृत्यु पछि कोही पनि आफन्त सम्पर्कमा नआएको जनाइएको छ । हाल उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

छैटौँ तलामा रहेको खुला स्थानबाट उनले हामफालेको देखिएको सूचना अधिकारी मिश्रको भनाइ छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित:
2023/09/05, 8:47