बालेन ‘टाइम म्यागजिन’को उदीयमान सय नेताको सूचीमा

सुदूर प्रेस संवाददाता

काठमाण्डाै - काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन विश्वका उदीयमान एक सय नेताहरूको सूचीमा पर्नुभएकाे छ । प्रतिष्ठित टाइम म्यागजिनले सन् २०२३ का विश्वका उदीयमान सय नेताको सूचीमा काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई पनि समावेश गरेको हो ।

म्यागजिनले भविष्यमा आफ्नो क्षेत्रलाई आकार दिने र परिभाषित गर्न सक्ने विश्वभरका एक सय उदयमान नेतृत्वको सूची ‘टाइम १०० नेस्क्ट’ सार्वजनिक गरेको हो ।

स्वास्थ्य, वातावरण, खेल, व्यवसाय, राजनीति कलाजस्ता क्षेत्रका उदाउँदा नेताहरूको सूचीमा मेयर शाहलाई पनि समावेश गरेको हो । वर्ष व्यक्ति, संसारका प्रभावशाली सय व्यक्तिको सूची जारी गर्दै आएको टाइमले सन् २०१९ देखि उदयमान नेताहरुको सूची गर्न सार्वजनिक थालेको हो ।  

द न्युयोर्क टाइम्सले पाँच महिनाअघि शाहबारे प्रोफाइल पनि प्रकाशित गरेको थियो । टाइम म्यागजिनले शाहले पालिका चुनावमा हासिल गरेको अप्रत्याशित जितको चर्चा गरेको छ । ३३ वर्षीय स्वतन्त्र उम्मेदवार शाहले सामाजिक सञ्जालको प्रयोग गरेर मतदाताको निराशालाई पक्रँदै ‘बालेन प्रभाव’ सिर्जना गरेको जिकिर गरेको छ ।

चुनावअघि आफूले गरेका वाचा पूरा गर्नका लागि चालेका केही कदम, विशेष गरेर सहरका गरिबमाथि परेको प्रभावका कारण शाहले आलोचना पनि खेप्न परिरहेको म्यागजिनले प्रकाशन गरेको शाहको विवरणमा उल्लेख छ । 

प्रकाशित:
2023/09/14, 7:18