सबै कैदी बन्दी रिहा भएपछि टिकापुर घटना फासफुस 

सुदूर प्रेस संवाददाता

धनगढी–२०७२ साल भदौ ७ कैलालीको टिकापुरमा भएको हिंसात्मक घटनाको मुद्दा खेपिरहेका सबै कैदी बन्दी रिहा भएपछि घटना फासफुस भएको छ ।  
राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमा सबै कैदी वन्दीको बाँकी कैद मिनाहा गरेपछि कैलाली कारागारमा रहेका ३ जना र पोखरा बाल सुधार गृहमा रहेका एक जना लाइ रिहा गरिएको हो ।  रिहा हुनेमा टीकापुर नगरपालिका–४ का वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ का हरिनारायण चौधरी र जानकी–७ कै प्रदीप चौधरी छन् । उनीहरू टीकापुर घटना मुद्दामा विगत ८ वर्षदेखि कैलाली कारागारमा थिए । सोही घटनामा माफी मिनाहा पाएका पोखरास्थित बाल सुधार गृहमा रहेका जानकी गाउँपालिका–७ का श्रवण चौधरी लाइ पनि आजै रिहा गरिएको छ । उनीहरुलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दामा कैद सजाय तोकिएको थियो । घटनाका  मुख्य आरोपी भनिएका रेशमलाल चौधरी यसअघि नै रिहा भइसकेका थिए । नागरिक उन्मुक्ति पार्टीका  अध्यक्ष तथा  भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ र संरक्षक रेशम लाल चौधरीले कैदी बन्दिलाई अबिर र खादा लगाएर स्वागत गरेका थिए । टीकापुर घटनामा संलग्न भएका ३० जना अझै फरार छन । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीले उनीहरू विरुद्ध लगाइएको झुटा मुद्दा छिट्टै खारेज हुने दाबी गरिन । 
थरुहट,थारुवान्  प्रदेशको माग गर्दै २०७२ साल भदौ ७ गते टीकापुरमा भएको हिंसात्मक झडपका क्रममा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका २ जना निरीक्षक, हवलदार, जवान, सशस्त्र प्रहरी हवलदार र नाबालक गरी ९ जनाको क्रूर तरिकाले हत्या गरिएको थियो । 

प्रकाशित:
2023/09/21, 8:25