चौतर्फी दबाब र आलोचनापछि बढ्यो घरजग्गाको कर्जा सीमा

सुदूर प्रेस संवाददाता

काठमाडौं– चौतर्फी दबाब र आलोचनापछि नेपाल राष्ट्र बैंकले सेयर तथा घरजग्गाको कर्जा सीमा बढाएको छ । तर, यसबाट बजार चलायमान हुनेमा व्यवसायी र सेयर लगानीकर्ता दुवै विश्वस्त छैनन् । बजार चलायमान बनाउन राष्ट्र बैंक अझै लचिलो नभएको विज्ञको भनाइ छ ।

२०७८ साउनमा नेपाल राष्ट्र बैंकले सेयरमा अस्वभाविक लगानी बढेको भन्दै एक व्यक्तिले एक बैंकबाट चार करोड र समग्र वित्तीय प्रणालीबाट १२ करोडभन्दा बढी ऋण लिन नपाइने गरी सीमा तोक्यो । चार करोडको सीमा यसअघि हटाएको राष्ट्र बैंकले १२ करोडको सीमालाई पनि बढाएर बिहीबार १५ करोड पुर्‍यायो । तर, असोज मसान्त ब्याज बुझाउने समय भएको र चाडबाडका बेलामा कारोबार खास नबढ्ने भएकाले यो नीतिका कारण तत्कालै बजार नबढ्ने सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुलेलको भनाइ छ ।

सेयरकर्जामा सीमा लगाउन नहुने लगानीकर्ताको माग छ । सेयर विश्लेषक मुक्ति अर्याल पनि सेयर र घरजग्गा चलायमान बनाउन राष्ट्र बैंक नै नचाहिरहेको धारणा राख्छन् ।

घरजग्गामा राष्ट्र बैंक केही उदार बन्न खोजेको देखिएको छ । काठमाडौं उपत्यकामा ४० प्रतिशत र उपत्यकाबाहिर ५० प्रतिशतको व्यवस्था संशोधन गर्दै सबैमा ५० प्रतिशत बनाए पनि व्यवसायीहरु आवश्यकताबमोजिम नआएको जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भोषराज लोहनी दाबी गर्छन् ।

चौतर्फी आलोचनापछि कर्जा सीमामा केही संशोधन गरेजस्तो गरेको देखिए पनि राष्ट्र बैंक सेयर कारोबार बढेपछि बजार चलायमान हुनेमा पूर्ण विश्वस्त हुन नसकेको पूर्वबैंकर भुवनकुमार दाहालको बुझाइ छ ।

नीतिगत अवरोधका कारण बजार अझै संकुचनमा छ । बजार चलायमान बनाउन राष्ट्र बैंकको पहल जरुरी छ । व्यवसायीको मागभन्दा पनि अर्थतन्त्रको आवश्यकताअनुसार नीतिगत परिवर्तन गर्न राष्ट्र बैंक तयार हुनु जरुरी छ । 

प्रकाशित:
2023/10/07, 8:56