इजरायलबाट नेपालीको शव ल्याउन जहाज तयारी अवस्थामा राख्ने निर्णय

सुदूर प्रेस संवाददाता

काठमाडौं – इजरालयमा मृत्यु भएका नेपालीको शव यथाशीघ्र फिर्ता ल्याउन हवाई जहाज तयारी अवस्थामा राख्ने निर्णय भएको छ ।

परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको आज बिहान बसेको बैठकले शव यथाशीघ्र फिर्ता ल्याउन जहाज तयारी अवस्थामा राख्ने निर्णय गरेको हो ।

बैठकमा इजरायलमा जारी पछिल्लो द्वन्द्वमा परी मृत्यु भएकाहरुको शव नेपाल ल्याउन इजरायली पक्षसँग समन्वय गर्ने निर्णय पनि भएको छ ।

यस्तै बैठकले इजरायलमा रहेका नेपाली नागरिकहरुलाई सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्ने निर्णय पनि गरेको छ । आइतबार (हिजो) सरकारले मन्त्री साउदको संयोजकत्वमा संयन्त्र गठन गरेको थियो ।

इजरायलमा रहेका नेपाली नागरिकहरुको आवश्यकताअनुसार उद्धारलगायतका विषयमा छलफल गर्न आज दिउँसो मन्त्रिपरिषद बैठक बस्दैछ । प्रधानमन्त्री दाहालले आह्वान गरेको मन्त्रिपरिषदको विशेष बैठक अपराह्न ४ बजे बस्ने जानकारी दिइएको छ । यस्तै साँझ ५ बजे सर्वदलीय बैठकसमेत बोलाइएको छ ।

इजरायलमाथि कट्टरपन्थी समूह हमासले गरेको भीषण आक्रमणमा परी १० नेपालीले ज्यान गुमाएको तेल अभिभस्थित नेपाली दूतावासले जनाएको छ । उक्त घटनापछि एक नेपालीको अवस्था अज्ञात रहेको छ भने आक्रमणमा परेका तीन जनाको हाल अस्पतालमा उपचार भइरहेको छ । 

प्रकाशित:
2023/10/09, 1:24