सुरु भयो दसैं : आज घटस्थापना, घरघरमा जमरा राखिँदै

बिहान ११:२९ बजेको साइतमा जमरा राख्नु उत्तम
सुदूर प्रेस संवाददाता

धनगढी– हिन्दुधर्मावलम्बीको ठूलो पर्व दसैं अर्थात् नवरात्र आजदेखि सुरु भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना अर्थात् जमरा राख्ने गरिन्छ ।

दसैं आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको मानिन्छ । पञ्चांग निर्णायक समितिका अनुसार आज बिहान ११:२९ बजेको साइतमा घटस्थापना गरिनु अर्थात् जमरा राख्नु उत्तम मानिन्छ ।

आजको दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नुअगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । 

हिन्दूहरुको महत्त्वपूर्ण पर्व बडादसैं र जमरा नेपाली मौलिक संस्कृति एवं परम्पराका पर्याय हुन् । घटस्थापनाको दिन छरेर उमारिएको जौं, गहुँ र मकैका पहेँला आँकुरा अर्थात् जमरालाई दसैंको टीकासँगै देवीको प्रसादको रुपमा लगाइन्छ । यसरी लगाइने जमराको आफ्नै धार्मिक तथा शास्त्रीय महत्त्व छ ।

विजया दशमीको पहिलो दिन, आश्विन शुक्लप्रतिपदामा पूजाकोठामा चोखो बालुवा अथवा माटोमा धार्मिक अनुष्ठान गरी शुभसाइतमा जौं, गहुँ र मकै बाक्लोगरी छरेर उमारिएको पहेँलो आँकुरा नै जमरा हो । दसैंबाहेक अन्य पर्व र पूजाअनुष्ठानमा भने जमरा राखिँदैन । जौं रोपिएको घडामा नवदुर्गाको आहृवान गरी १० दिनसम्म पूजा आराधना गरिन्छ । दसैंको दिन देवीको प्रसादका रूपमा टीकासँगै जमरा लगाउने परम्परा नेपाली हिन्दूहरुको मात्र हो ।

जौ खाद्य पदार्थको दृष्टिले पौष्टिक हो भने स्वास्थ्यको दृष्टिले पनि औषधिको रूप मानिन्छ । पछिल्लो समय जमराको जुस लोकप्रिय पनि छ। वैदिक ग्रन्थमा जौलाई रोग निको गर्ने, यज्ञयज्ञादिमा उपयोगी, शक्ति प्रदायक वस्तुका रूपमा लिइएको छ ।

टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा

 

दसैंको पहिलो दिन आज घरका पूजा कोठा र दसैं घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँ घरमा विधिपूर्वक राखेर त्यसमा जौं रोपिन्छ ।

 यसरी जमरा राखेपछि बडा दसैं अर्थात् विजयादशमीका दिन यसलाई रातो टीकाका साथमा समृद्धिको प्रतीक मानेर पहेंलो जमरा लगाइने गरिन्छ । जौंको जमरा दुर्गा देवीको प्रिय वस्तु भएकाले आज रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन जमरा लगाइने गरिन्छ । यस वर्षको विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको छ ।

प्रकाशित:
2023/10/15, 7:43