धनगढी उपमहानगरपालिकाको बजेट दुई अर्ब १८ करोड

कृषि,शिक्षा,स्वास्थ्य, रोजगारी र सरसफाइ बजेटको मुख्य प्राथमिकतामा
सुदूर प्रेस संवाददाता

धनगढी –कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि दुई अर्ब १८ करोड ४२ लाख ३२ हजार रुपियाँको अनुमानित बजेट ल्याएको छ। 

सो उपमहानगरपालिकाको ११ औं नगर सभामा उपप्रमुख कन्दकलाकुमारी रानाले अनुमानित बजेट प्रस्तुत गर्नु भएको हो। प्रस्तुत बजेटमा चालुतर्फ एक अर्ब २० करोड १५ लाख ४४ हजार र पुँजीगततर्फ ९८ करोड २६ लाख ८८ हजार रुपियाँ रहेको छ। 

क्षेत्रगत विकास अन्तर्गत आर्थिक विकासतर्फ छ करोड छ लाख ३१ हजार, पूर्वाधार विकासतर्फ ६० करोड ७९ लाख ८६ हजार रुपियाँ बजेट विनियोजन गरिएको छ। यस्तै, सुशासन तथा अन्तर सम्बन्धिततर्फ १८ करोड ५२ लाख ३१ हजार, कार्यालय सञ्चालनतर्फ ३१ करोड ६३ लाख सात हजार रुपियाँ बजेट विनियोजन गरिएको छ। सामाजिक विकासतर्फ एक अर्ब १५ लाख ७७ हजार रुपियाँ बजेट रहेको छ। 

धनगढी उपमहानगरपालिकाको आन्तरिक आय ३६ करोड ६९ लाख ७६ हजार रुपियाँ रहेको छ। राजस्व बाँडफाँट अन्तर्गतको आय ४८ करोड २९ लाख ५४ हजार, नेपाल सरकारको अन्तर वित्तीय हस्तान्तरण एक अर्ब एक करोड ८७ लाख रुपियाँ रहने जनाइएको छ। 

यसैगरी, प्रदेश सरकारको अन्तर वित्तीय हस्तान्तरण आठ करोड २८ लाख र सरी आएको मौज्दात २३ करोड २७ लाख ४६ हजार रुपियाँ रहने जनाइएको छ। 

कृषि,शिक्षा,स्वास्थ्य, रोजगारी र सरसफाइ लाइ बजेटको मुख्य प्राथमिकता दिइएको छ ।  एक वडा एक कृषि उत्पादन,  विदेश वाट फर्किएका  र अध्ययनरत युवाहरूलाई स्वरोजगारीका अवसरहरू जुटाएर ‘आफैले कमाई, आफ्नै पढाई’ को स्थित सिर्जना गर्न रात्रि कालिन बजार सञ्चालन गर्ने कार्यक्रम बजेटमा समेटिएको छ ।  एक वडा एक एम्बुलेन्स,एक वडा एक खेल मैदान गर्ने कार्यक्रम पनि बजेटमा समेटिएको छ  । सामुदायिक विद्यालय शैक्षिक गुणस्तर सुधार कार्यक्रमलाई बजेटको प्राथमिकतामा राखिएको छ ।  हाम्रो धनगढी हामी बनाउँछौ अभियानका साथ ‘हाम्रो धनगढी सफा धनगढी अभियानलाई प्राथमिकता दिँदै उपमहानगर क्षेत्रभित्र अतिक्रमणमा रहेका ताल तलैया, खोलानाला, जग्गा लगायत सार्वजनिक सम्पत्तिलाई पुरानै अवस्थामा फर्काउन बजेटमा कार्यक्रम समावेश गरिएको छ ।

प्रकाशित:
2024/06/23, 7:56
SPA
KN
Priya Gahana Pasal