एसईईको नतिजा आज, न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थी ननग्रेडिङ हुने व्यवस्था

सुदूर प्रेस संवाददाता

धनगढी– राष्ट्रिय परीक्षा बोर्डले प्रत्येक विषयमा सैद्धान्तिक (लिखित) तर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थी ननग्रेडिङ हुने व्यवस्थाअनुसार पहिलो पटक एसईईको नतिजा आज (बिहीबार) सार्वजनिक गर्दै छ । बोर्डका अनुसार प्राविधिक जटिलताको अवस्थाबाहेक बिहीबार (आज) नै एसईई परीक्षाको नतिजा सार्वजनिक हुनेछ । बुधबार बोर्डका पदाधिकारीहरूलाई नतिजा प्रकाशनको तयारीबारे जानकारी गराएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए । बिहीबार बिहान बोर्डको बैठक बोलाइएको छ । बोर्डले निर्णय गरेपछि नतिजा प्रकाशित गरिने उनले बताए । 

नयाँ पाठ्यक्रमअनुसार पहिलो पटक एसईई परीक्षा दिएका विद्यार्थीको लेटर ग्रेडिङ निर्देशिका–२०७८ को व्यवस्थाअनुसार नतिजा प्रकाशन हुने बोर्डले जनाएको छ । उक्त व्यवस्थाअनुसार विद्यार्थीले प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ । हरेक विषयमा ७५ पूर्णाङ्कको लिखित परीक्षा सञ्चालन भएकाले न्यूनतम २७ अंक ल्याउनै पर्छ । उक्त अंक अर्थात् १.६ जीपीएभन्दा कम अंक ल्याउने विद्यार्थी ननग्रेडिङ (एनजी) मा पर्नेछन् । उनीहरूलाई बोर्डले ग्रेडसिटसमेत उपलब्ध गराउने छैन ।

निर्देशिकामा दुई विषयसम्म एनजी आउने विद्यार्थीले बोर्डले तत्कालै मिति तोकेर लिने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । जुन विषयमा एनजी भएको हो सोही विषयमा मात्र परीक्षा दिए हुन्छ । दुई विषयभन्दा बढीमा एनजी आए अर्को वर्ष सम्बन्धित विषयको मात्र परीक्षा दिन पाइने व्यवस्था निर्देशिकामा गरिएको छ । यस्ता विद्यार्थीले ३ वर्षसम्म वार्षिक परीक्षामा सहभागी हुन पाउनेछन् । उक्त पद्धतिअनुसार गत वर्षदेखि नै कक्षा १२ को नतिजा सार्वजनिक हुँदै आएको छ । जसअनुसार परीक्षा दिएका मध्ये करिब ५० प्रतिशत विद्यार्थी मात्रै ग्रेडिङमा पर्दै आएका छन् ।

ग्रेडिङमा परेका विद्यार्थी मात्रै माथिल्लो कक्षामा भर्ना र पठनपाठन गर्न योग्य ठहरिन्छन् । यसअघि सैद्धान्तिक र प्रयोगात्मकतर्फको प्राप्तांक जोडेर ३५ अंक ल्याए पनि विद्यार्थी ग्रेडसिट प्राप्त गर्थे । अबदेखि सैद्धान्तिक र प्रयोगात्मकको छुट्टाछुट्टै ग्रेडिङ हुने व्यवस्था गरिएको हो । नयाँ पाठ्यक्रमले गणितसहितका प्रत्येक विषयमा २५ पूर्णाङ्कको प्रयोगात्मक परीक्षा हुने र बाँकी ७५ पूर्णाङ्कको सैद्धान्तिक परीक्षा हुने व्यवस्था गरेको हो । प्रयोगात्मक परीक्षा भने विद्यालयले नै सञ्चालन गरेर प्राप्तांक बोर्डमा पठाएका छन् । बोर्डले अंकलाई ग्रेडमा रूपान्तरण गरेर नतिजा सार्वजनिक गर्नेछ ।  

विद्यालय तहमा २०७२ देखि लेटर ग्रेडिङ पद्धति सुरु भएको हो । २०७८ मा पाठ्यक्रम विकास केन्द्रले निर्देशिका संशोधन गरेर ग्रेडिङ हुन न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था गरेको थियो । एसईईमा गत वर्षसम्म पुरानो पाठ्यक्रमकै आधारमा अध्ययन गरेका विद्यार्थी सहभागी भएकाले उनीहरूको हकमा संशोधित निर्देशिका लागू भएको थिएन । गत चैत १५ देखि २७ गतेसम्म सञ्चालित परीक्षामा ४ लाख ७५ हजार परीक्षार्थी सहभागी थिए । तीमध्ये ४ लाख ४९ हजार साधारण धारतर्फका विद्यार्थी हुन् । १५ हजार प्राविधिक धारतर्फका विद्यार्थी छन् ।

करिब ८ हजार विद्यार्थी परीक्षामा अनुपस्थित रहेको बोर्डले जनाएको छ । 

प्रकाशित:
2024/06/27, 7:15