शुक्लाफाँटा निकुञ्जको आम्दानी एक करोड

Shuklaphat
सुदूर प्रेस संवाददाता

कञ्चनपुर - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आव २०७६।७७ मा रु एक करोड ३४ हजार ७८५ राजस्व सङ्कलन गरेको छ। अघिल्लो वर्षको तुलनामा निकुञ्ज कार्यालयले रु १४ लाख ११ हजार ४३७ बढी राजस्व सङ्कलन गरेको हो। निकुञ्ज कार्यालयले आव २०७५।७६ मा ८६ लाख २३ हजार ३४७ राजस्व सङ्कलन गरेको थियो। 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालका अनुसार निकुञ्ज कार्यालयले २०७६र७७ मा काठ दाउरा बिक्री वितरणबाट रु ३५ लाख ८९ हजार ६६६ राजस्व सङ्कलन गरेको छ। यसैगरी पर्यापर्यटनबाट रु आठ लाख दुई हजार ६८७, दण्ड जरिवानाबाट रु २४ लाख ६० हजार १८९ र अन्य शिर्षकबाट रु ३१ लाख ८२ हजार २४३राजस्व सङ्कलन गरेको छ।

 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आव २०७६र७७ मा एक हजार ७७५ जना पर्यटकले भ्रमण गरेका छन्। यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा चार हजार २९४ले घटी हो। आव २०७५। ७६ मा छ हजार ६९ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए।

कोरोना महामारीको सङ्क्रमण र जोखिमका कारणले चैत, वैशाख र जेठमा बन्दाबन्दीको अवस्था रहेकाले पर्यटकीय गतिविधिमा कमी आएको निकुञ्ज कार्यालयका प्रमुख पौड्यालको भनाइ छ।

प्रकाशित:
2020/09/04, 9:58