
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा प्रस्तुत गर्ने प्रस्तावबारे नेकपाका अध्यक्षद्वय कपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ।
प्रधानमन्त्री समेत रहेका ओली र प्रचण्डबीच बुधवार बालुवाटारमा झण्डै दुई घण्टा छलफल भएको हो। छलफल भर्खरै सकिएको छ। छलफलमा स्थायी कमिटी बैठकमा पेश हुने एजेण्डा तय गरिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।
नेकपाले शुक्रवारका लागि स्थायी कमिटी बैठक बोलाएको छ। पार्टीको विवाद समाधानका लागि कार्यदलले बुझाएको प्रतिवेदनमाथि सचिवलयले दिएको सुझावलाई समेटेर स्थायी कमिटी बैठकमा प्रस्तुत गर्ने जिम्मेवारी अध्यक्षद्वयलाई दिइएको छ।
असार १० गते सुरु भएको स्थायी कमिटी बैठक असार १८ यता बस्न सकेको छैन्। शुक्रवारका लागि बोलाइएको बैठक एकै दिनमा सक्ने तयारी रहेको नेताहरु बताउँछन्।