अन्तः वामदेव गौतम लाइ राष्ट्रियसभा सदस्यका लागि सिफारिस गर्ने निर्णय

Bamdev
सुदूर प्रेस संवाददाता

काठमाडौं–सरकारले राष्ट्रियसभाको रिक्त एक सदस्यका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।  दुई साताअघि नै सत्तारुढ नेकपाले पार्टी संगठन विभाग प्रमुखसमेत रहेका गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय लिएको थियो।  उनले यसबीचमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेर सोमबारको मन्त्रिपरिषद्‍ बैठकबाट वामदेवलाई राष्ट्रियसभामा पठाउने निर्णय लिइएको छ। सरकारको सिफारिससँगै अब राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्ने कोटाबाट उनी राष्ट्रियसभामा प्रवेश गर्नेछन्।  मन्त्रिपरिषद् बैठकबाट सिफारिस गरेपछि राष्ट्रपतिले उनलाई मनोनित गर्ने छिन्। भदौ १८ गते बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो। बर्दियामा प्रत्यक्षबाट निर्वाचनमा पराजय व्यहोरेको गौतमलाई नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नै राष्ट्रियसभामा सिफारिस गर्ने निर्णय गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त स्थानमा अर्थमन्त्री युवराज खतिवडालाई निरन्तरता दिने पक्षमा थिए। तर, उपाध्यक्ष गौतमले अडान नछाडेपछि ओली व्याक भएका थिए। गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गत मङ्सिरदेखि नै हुँदै आएको थियो। तर, उनले राष्ट्रियसभाबाट प्रधानमन्त्री बन्‍ने बाटो खुला भएपछि मात्रै जाने अडान लिइरहेका थिए। त्यही क्रममा फागुन १३ गते बसेको सचिवालय बैठकले उनलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो।
 

प्रकाशित:
2020/09/15, 8:15