कक्षा १२ को परीक्षा अनलाइन वा घरपायक गर्न प्रस्ताव

exam
सुदूर प्रेस संवाददाता

काठमाडौं–राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा अनलाइन वा विद्यार्थीको घरपायक पर्ने परीक्षा केन्द्रबाट गर्न सरकारलाई प्रस्ताव गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई अनलाइन वा विद्यार्थी रहेकै स्थानबाट परीक्षा संचालन गर्न प्रस्ताव पठाइएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जनाए । शिक्षा मन्त्रालयले उक्त प्रस्ताव मन्त्रिपरिषद्‍मा लगेर स्वीकृत गराएपछि मात्र कार्यान्वयनमा आउनेछ । कुल एक सय पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा गर्ने बोर्डले जनाएको छ । विद्यार्थीले कक्षा ११ मा प्राप्त गरेको अंकको आधारमा ४० पूर्णाङ्क र २० पूर्णाङ्कको प्रयोगात्मक परीक्षा गरिने बोर्डले जनाएको छ । ‘फेस टु फेस’ विधिबाट परीक्षा लिन सम्भव नहुने देखिएकाले रोकिएको परीक्षा गर्न यस्तो प्रस्ताव गरिएको हो । यसको विकल्पमा परम्परागत विधिमा विद्यार्थीलाई घरपायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने प्रस्ताव पनि तयार पारिएको छ । यसको लागि बोर्डले विद्यार्थी रहेको स्थानको तथ्याङ्क संकलन गरिरहेको छ । ‘अनलाइनलाई प्रयोग गरेर परीक्षा लिन सकिन्छ भनिएको हो,’ शर्माले भने, ‘विद्यार्थीलाई अनलाइनबाट प्रश्न दिने र खुला विधिबाट उत्तर लेखेर पठाउने मोडल हुन्छ ।’ प्रस्ताव स्वीकृत भइसकेपछि मात्र परीक्षा संचालनसम्बन्धी विस्तृत ढाँचा सार्वजनिक गर्ने बोर्डले जनाएको छ । प्रश्नपत्र अनलाइनबाट पठाएपनि उत्तर बुझाउन सूचना प्रविधिको अन्य साधन पनि प्रयोग गर्न सकिने भनिएको छ ।

वैशाख पहिलो साता संचालन हुने कक्षा १२ को परीक्षा लकडाउनका कारण स्थगित गरिएको थियो । कक्षा १२ मा ४ लाख ३२ हजार परीक्षार्थी छन् । कक्षा १० र ११ को परीक्षा भने विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनको आधारमा सम्पन्न गरिएको थियो । कक्षा १२ विद्यालय तहको अन्तिम कक्षा भएकाले बोर्डले नै परीक्षा संचालन गर्नुपर्ने पदाधिकारीहरुले बताउँदै आएका छन् ।

शिक्षा ऐनले कक्षा १२ को परीक्षा बोर्डले परम्परागत विधिबाट सम्पन्न गर्ने व्यवस्था गरेकाले फरक तरिकाले परिक्षा गराउन मन्त्रिपरिषद्को निर्णय आवश्यक पर्छ । मन्त्रिपरिषद्बाट निर्णय भएर नआएसम्म कुन विधिबाट परीक्षा संचालन हुन्छ भनेर एकीन गर्न नसकिने बोर्डका अधिकारीहरुले बताए ।

प्रकाशित:
2020/09/17, 7:41