डोटीमा खाना पकाउने ग्यासमा पसलैपिच्छे भाउ फरक

gys

डोटी–डोटीमा खाना पकाउने ग्यासको पसलैपिच्छे भाउ फरक हुने गरेको पाइएको छ । सरकारले प्रति सिलिन्डर १३ सय ७५ रुपैयाँ तोकेको भए पनि डोटीमा व्यापारीले भाउ बढी लिने गरेको उपभोक्ताको गुनासो छ । त्यसमा पनि पसलैपिच्छे भाउ फरक(फरक हुने गरेको छ । ग्यास डिलरमा एउटा भाउ तथा सब डिलरमा अर्को भाउ लिएर बिक्री(वितरण हुने गरेको छ । मुख्य बजारमा भन्दा ग्रामिण क्षेत्रमा भाउ धेरै फरक पर्ने गरेको छ ।

डोटीमा १४ सय ५०, १५ सय तथा १६ सय रुपैयाँसम्ममा किन्नुपर्ने बाध्यता रहेको उपभोक्ताको गुनासो छ । डोटीको दिपायल, सिलगढी, राजपुर तथा पिपल्ला बजारमा खाना पकाउने ग्यासको भाउ फरक पर्ने गरेको शिखर नगरपालिका(२ कालागाढका हर्कबहादुर साउदले बताउनुभयो ।

दिपायल पिपल्लाका रेडिएण्ट ग्यासका व्यापारी देवेन्द्र खड्काले ग्यास कम्पनीले १३ सय १३ रुपैयाँ ७५ पैसामा ग्यास दिने गरेको भए पनि त्यसमा लोड, अनलोड तथा भ्याट नजोड्ने गरेको अनि पछि आफूबाट लिने गरेका कारण बढी मूल्यमा बेच्ने गरेको बताउनुभयो ।

ग्यास बिक्रेताले फरक मूल्यमा ग्यास बिक्री(वितरण गरिरहेको जानकारी पाए पनि सम्बन्धित निकायले अनुगमन नगरेको पिपल्लाका हरि विकले बताउनुभयो । डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले सरकारले तोकेको रकमभन्दा बढी ग्यासको मूल्य लिएर बिक्री गर्ने व्यापारीलाई कारबाही हुने बताउनुभयो ।

कुन पसल तथा व्यापारीले बढी मूल्य लिएर ग्यास बिक्री गर्ने गरेका छन् यसबारे जानकारी लिन र अनुगमनसहित कारबाही गर्नका लागि आफूले निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो ।

प्रकाशित:
2020/09/20, 11:34