साल्ट ट्रेडिङले ल्यायो युरिया मल

mal

धनगढी–किसानले मलको चरम अभाब खेपिरहेका बेला साल्ट ट्रेडिङ कर्पोरेसनले तीन सातायता वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह नाकाबाट साढे १७ हजार मेट्रिक टन युरिया मल भित्र्याएको छ । कर्पोरेसनले आयात गर्न लागेको ३२ हजार मेट्रिक टन युरियामध्ये २७ हजार मेट्रिक टन सुक्खा बन्दरगाह र बाँकी विराटनगर नाकाबाट आउन लागेको कर्पोरेसनका वीरगन्ज कार्यालय प्रमुख अमोज लामिछानेले जानकारी दिए । वीरगन्ज आउने २७ हजारमध्ये १७ हजार ५ सय मेट्रिक टन भित्रिइसकेको र बाँकी पनि आगामी साताभित्रै वीरगन्ज आउन सक्ने उनले बताए । २ हजार ५ सय मेट्रिक टन युरिया मल भारतको कोलकाता बन्दरगाहमा रेलवे र्‍याकमा लोड भइसकेको सूचना आएको लामिछानेको भनाइ छ । त्यसपछि बाँकी मल पनि निरन्तर आउनेछ । विराटनर आउने मल पनि सीमापारि भारतीय रेलवे स्टेसनमा क्रमशः आइरहेको छ । वीरगन्ज शाखामा आइसकेको युरिया मलमध्ये माग भएका झन्डै ६० जिल्लामा परिचालन भइसकेको उनले जानकारी दिए । ‘माग भएका जिल्लामा निरन्तर मल परिचालन गरिरहेका छौं,’ उनले भने, ‘विराटनगर कार्यालयले हेर्ने प्रदेश २ का सप्तरी र सिरहाबाहेक प्रायः जिल्लामा वीरगन्जबाटै मल पठाएका छौं ।’ यो मलले लामो समय माग नधाने पनि तत्कालका लागि किसानको माग धेरै हदसम्म पूर्ति गर्ने उनले बताए ।

कर्पोरेसनले ग्लोबल टेन्डरबाट आयात गरेको यो मल भारतको गुजरातस्थित कान्डला बन्दरगाहमा करिब ३ महिना अड्किएको थियो । तेस्रो मुलुकबाट आयातित मल बोकेका जहाज ठेकेदारले भूलवश कान्डला बन्दरगाहमा लगेपछि मल त्यहाँ थन्किएको थियो ।

प्रकाशित:
2020/09/21, 8:59