आइपिएलः हैदराबादको नाटकीय पतनसँगै बेंगलोर विजयी

ipl

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को तेस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

जितका लागि १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको हैदराबाद १९।४ ओभरमा १ सय ५३ रनमा अल आउट भयो । एक समय १५ ओभरमा १२१–२ को बलियो अवस्थामा रहेको हैदराबादका तल्लोक्रमका ब्याट्सम्यानले खराब प्रर्दशन गर्दा पराजित हुन पुगेको हो ।

हैदराबादलाई अन्तिम ३० बलमा ४३ रन आवश्यक रहँदा ८ विकेट हातमा थियो । हैदराबादले अन्तिम ३२ रन जोड्न ८ विकेट गुमाएपछि नाटकीय हार बेहोरेको हो । हैदराबादका कप्तान तथा ओपनर डेभिड वार्नर दोस्रो ओभरको चौथो बलमा अप्रत्याशित ६ रनमा रन आउट भए । जोनी बेयरस्टोले उमेश यादवको बलमा सट खेल्नेक्रममा नन स्ट्राइकमा बलले स्टम्पमा लाग्दा वार्नर रन आउट हुन पुगेका थिए ।

दोस्रो विकेटका लागि जोनी बेयरस्टो र मनिष पान्डेले ७१ रनको साझेदारी गर्दै इनिङ सम्हालेका थिए । १२ औं ओभरको अन्तिम बलमा युजभेन्द्र चहलले पान्डेलाई ३४ रनमा नवदीप सैनीबाट क्याच आउट गराए । पान्डेले ३३ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।


चहलले नै १६ औं ओभरको दोस्रो बलमा बेयरस्टोलाई ६१ रनमा बोल्ड आउट गर्दै बेंगलोरलाई खेलमा फर्काएका थिए । बेयरस्टोले ४३ बलमा ६ चौका र २ छक्का प्रहार गरे । लगतै अर्को बलमा चहलले विजय शंकरलाई बोल्ड आउट गर्दै बेंगलोरलाई खेलमा फर्काएका थिए । १७ औं ओभरको तेस्रो बलमा शिवम दुबेले प्रियम गर्गलाई १२ रनमा बोल्ड आउट गरे ।

अभिषेक शर्मा ७ रनमा रन आउट भए । दोस्रो रन लिने क्रममा राशिद खानसंग पिचको मध्यभागमा जुध्न पुग्दा अभिषेक आउट भएका थिए । राशिदलाई भने केहिबेर फिजियोको सहयोग लिनुपरेको थियो ।  १८ औं ओभरको चौथो बलमा नवदीप सैनीले भुवनेश्वर कुमारलाई शून्यमा बोल्ड आउट गरे । सैनीले अन्तिम बलमा राशिद खानलाई ६ रनमा बोल्ड आउट गर्दै जिततर्फ लम्काएका थिए ।

युजभेन्द्र चहलले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । नवदीप सैनीले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । शिवम दुबेले ३ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । डेल स्टेनले एक विकेट लिए ।

त्यसअघि दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६३ रन बनाएको थियो । बेंगलोरलाई ओपनर देवदत्त पाडिक्कल र आरोन फिन्चले ११ ओभरमा ९० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । डेब्यु खेल खेलि रहेका २० वर्षिय बायाँ हाते ब्याट्सम्यान पाडिक्कलले अर्ध शतक प्रहार गर्दै बेंगलोरलाई राम्रो सुरुवात दिलाए ।


विजय शंकरको ११ औं ओभरको अन्तिम बलमा ठूलो सट खेल्नेक्रममा बिट हुँदै पाडिक्कल ५६ रनमा बोल्ड आउट हुन पुगे । उनले ४२ बलमा ८ चौका प्रहार गरे । लगत्तै १२ औं ओभरको पहिलो बलमा युवा स्पिनर अभिषेक शर्माले फिन्चलाई २९ रनमा एलबिडब्लू आउट गरे । फिन्चले २७ बलमा २ छक्का र १ चौका प्रहार गरे ।

टि नटराजनको १६ औं ओभरको पाँचौ बलमा ठूलो सट खेलेका कप्तान विराट कोहली मिडविकेटमा राशिद खानबाट १३ बलमा १४ रनमा क्याच आउट हुन पुगे । एबी डिभिलियर्स ३० बलमा ४ चौका र २ छक्का ५१ रनमा रन आउट हुन पुगे । डी भिलियर्स अन्तिम ओभरको तेस्रो बलमा दुई रन लिने क्रममा मनिष पान्डेले लङअफबाट थ्रो फाल्दै विकेटकिपर जोनी बेयरस्टोले एबी डी भिलियर्सलाई रन आउट गराएका थिए । अन्तिम बलमा शिवम दुबे ७ रनमा रन आउट भए । जोश फिलिपे १ रनमा नट आउट भए ।


हैदराबादका अभिषेक शर्माले २ ओभरमा १६ रन खर्चेर १ विकेट लिए । विजय शंकरले १।२ ओभरमा १४ रन खर्चेर १ विकेट लिए । टि नटराजनले ४ ओभरमा ३४ रन खर्चेर १ विकेट लिए । राशिद खानले ४ ओभरमा ३१ रन खर्चेपनि विकेट लिन सकेनन् । । हैदराबादले दोस्रो खेलमा शनिवबार कोलकाता नाइट राइडर्ससँग खेल्ने छ । बेंगलोरले दोस्रो खेलमा किंस इलेभेन पञ्जाबसँग विहिबार खेल्ने छ ।

प्रकाशित:
2020/09/22, 6:05