अष्ट्रेलियाका पूर्व क्रिकेटर जोन्सको हृदयघातको कारण मुम्बईमा निधन

आइपिएलमा स्टार नेटवर्कको कमेन्टेटरको रुपमा मुम्बईस्थित स्टुडियोमा थिए जोन्स
Death

एजेन्सी – अष्ट्रेलिया पूर्व चर्चित खेलाडी तथा कमेन्टेटर डीन जोन्सको ५९ वर्षको उमेरमा हृदयघातको कारण निधन भएको छ । उनको बिहिबार मुम्बईमा हृदयघातको कारण निधन भएको हो ।

जोन्स इन्डियन प्रिमियर लिग (आइपिएल) मा स्टार नेटवर्कको कमेन्टेटरको रुपमा मुम्बईस्थित स्टुडियोमा रहेका थिए । लोकप्रिय कमेन्टेटरको जोन्सले अष्ट्रेलियाका पूर्व शीर्षक्रमका ब्याट्सम्यान समेत हुन् । जोन्सले ५२ टेष्ट र १ सय ६४ ओडिआई खेलेका छन् । टेष्टमा ११ शतक र १४ अर्ध शतक सहित ३ हजार ६ सय ३१ रन बनाएका छन् । उच्च प्रर्दशन २ सय १६ थियो । ओडिआईमा ७ शतक र ४६ अर्ध शतक सहित ६ हजार ६८ रन बनाएका छन् । उनी ओडीआई क्रिकेटमा आधुनिक शैलीको ब्याटिङको संवाहकको रुपमा चिनिने गर्छन् ।

सन् १९८७ मा अष्ट्रेलियाले विश्वकप जित्दा जोन्स टोलीमा रहेका थिए । सन् १९८० देखि ९० को दशकमा जोन्स विश्वकै एक उत्कृष्ट र लोकप्रिय ब्याट्सम्यान थिए । जोन्सले सन् १९८४ मा वेस्टइन्डिजविरुद्ध टेष्टमा डेब्यु गरेका थिए । १९९२ मा श्रीलंकाविरुद्धबाट टेष्टबाट सन्न्यास लिएका थिए । ओडिआईमा सन् १९८४ मा पाकिस्टानविरुद्ध ओडिआईमा डेब्यु गर्दा सन् १९९४ मा दक्षिण अफ्रिकाविरुद्ध अन्तिम खेल खेलेका थिए ।

सन् १९९० मा इंग्ल्यान्डविरुद्ध ओडिआईमा उनले प्रहार गरेको १ सय ४५ रनको इनिङ उनको करिअरको उत्कृष्ट प्रर्दशन मानिन्छ । टेष्टमा सन् १९८६ मा चेन्नईमा भारतविरुद्ध २ सय १० रनको इनिङ एक उत्कृष्ट प्रर्दशन मानिन्छ । उनले १९८९ मा वेस्टइन्डिजविरुद्ध टेष्ट करिअरको रुपमा २ सय १६ रनको उत्कृष्ट प्रर्दशन गरेका थिए ।

पछिल्लो समय उनी कमेन्टेटरको रुपमा लोकप्रिय थिए । गतवर्ष इंग्ल्यान्डमा भएको आइसिसी एक दिवसिय विश्वकपमा उनले कमेन्टेटरको रुपमा दमदार विश्लेषण गरेका थिए ।

प्रकाशित:
2020/09/25, 4:59