सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले सुरु गर्‍यो अनलाइन परीक्षा

farwest

कञ्चनपुर — सुदूरपश्चिमाञ्चल विशवविद्यालयले अनलाइन प्रणालीबाट परीक्षा सुरु गरेको छ । पहिलो चरणमा शुक्रबार सिभिल इन्जिनियरिङ र कृषि विज्ञानका पहिलो र तेस्रो सेमेस्टरको परीक्षा सुरु भएको हो । विश्वविद्यालयका परीक्षा नियन्त्रक देवसिंह नाथका अनुसार पहिलो दिन इन्जिनियरिङका ८८ जना र कृषि विज्ञानका ९५ गरि १ सय ८३ विद्यार्थीले अनलाइनबाटै परीक्षा दिएका छन् । समय तालिका अनुसार परीक्षाका समय बिहान ९ देखि २ बजेसम्म तोकिएको छ । निर्धारित समयमा सबै विद्यार्थीले प्रश्नपत्र डाउनलोड गर्नेदेखि उत्तर लेखेर उत्तर पुस्तिकासमेत अपलोड गर्न सफल भएको परीक्षा नियन्त्रक नाथले बताए । उनका अनुसार प्रश्नपत्र विश्वविद्यालयले सबै विद्यार्थीको इमेलमा पठाएपछि विद्यार्थीले उक्त प्रश्नपत्र डाउनलोड गरेर उत्तर लेखेपश्चात उत्तरपुस्तिका स्क्यान गरी विश्वविद्यालयको इमेलमा अपलोड गरेका छन् ।

‘हामीले लामो समयदेखि रोकिएका पठनपाठनलाई अनलाइनबाटै सञ्चालन गरेका छाैं,’ विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले भने, ‘पठनपाठन पूरा भएका कक्षाहरुको परीक्षा गर्ने निर्णयमा पुगेका हौं ।’ उनले यसका लागि विगत एक/डेढ महिनादेखि तयारी गरिएको जानकारी दिए ।

शुक्रबारदेखि सुरु भएका परीक्षा असोज २४ मा सम्पन्न हुनेछन् । इन्जिनियरिङ र कृषि विज्ञानसँगै, मानविकी, शिक्षा र विज्ञान संकायका परीक्षा पनि असोज २४ भित्रै सम्पन्न हुनेछन् । ‘विभिन्न संकायका गरि ८ हजार २८० विद्यार्थी सम्मिलित हुनेछन्,’ परीक्षा नियन्त्रण्क नाथले भने, ‘बाँकी रहेका अन्य संकायको परीक्षा तालिका त्यसपछि प्रकाशन गरिनेछ ।’ सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा केन्द्रीय क्याम्पससहित १४ वटा आंगिक क्याम्पसमा १२ हजार बढी विद्यार्थी अध्ययनरत छन् ।

विश्वविद्यालयले अनलाइन परीक्षा सञ्चालनका लागि सबै विद्यार्थीको ट्रेसिङदेखि इन्टरनेटसम्म पहुँचका लागि सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तह, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र सुदूरपश्चिम प्रदेश सरकारलाई समेत सहयोगका लागि आग्रह गरेको थियो । अनलाइन परीक्षा पूर्व विद्यार्थीहरुलाई अभ्यास पनि गराएको थियो ।

प्रकाशित:
2020/09/26, 8:40