इंग्लिस प्रिमियर लिगः डेब्यु गोलमा लिभरपुलको पूनरागमन जित

foot ball

एजेन्सी – साविकको विजेता मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगमा लगातार तेस्रो जित दर्ता गर्ने क्रममा आर्सनलमाथि पूनरागमन जित निकालेको छ ।

घरेलु मैदानमा लिभरपुलले एक गोलले पछि परेको स्थिति उल्ट्याएर ३–१ को सहज जित हात पारेको हो । एनफिल्डमा सोमबार राति भएको खेलमा लिभरपुललाई जिताउन फरवार्ड साडियो माने, एन्ड्रिउ रोबर्टसन र डिएगो जोटाले गोल गरे । एलेक्सान्द्रे लाकाजेटले गरेको गोल सान्त्वना गोल बन्यो ।

खेलको १२औं मिनेटमा एलेक्सान्डर अर्नाेल्डको क्रसमा भर्जिल भान डाइकको प्रहारलाई आर्सनलका रक्षक डेभिड लुइजले क्लियर गर्दै लिभरपुलको अग्रता टारे । लगत्तै १३औं मिनेटमा नावी केइटाको प्रहार रोव होल्डिङलाई डिफ्लेक्ट हुदै पोस्टबाट थोरै बाहिरियो । १५औं मिनेटमा साडियो मानेको प्रहारलाई आर्सनलका गोलरक्षक बन्ड लेनोले मुस्किलले बचाए ।

२१औं मिनेटमा एलेक्सान्डर अर्नाेल्डको प्रहार क्रसबारमा लागेर फर्किएको बललाई गोलरक्षक लेनोले बचाएपछि लिभरपुल अग्रता लिनबाट चुक्यो । लगातार दवावमा परेको आर्सनलले २५औं मिनेटमा एलेक्सान्डर लाकाजेटको गोलबाट खेलमा १–० को अग्रता लिन सफल भयो ।

एन्ड्रिउ रोबर्टसनको गम्भीर गल्तीमा अफसाइड पोजिसनमा रहेका लाकाजेटले गोल गर्न सफल भएका थि । एइन्सले मेटल्यान्ड नाइल्सको पासलाई रोबर्टसनले क्लियर गर्न खोज्दा लाकाजेटको पास उपलब्ध हुन पुगेको थियो । तर, आर्सनलको त्यो अग्रता लामो समय टिकेन ।

२८औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई खेलमा फर्काए । नावी केइटामाथि फल भएपनि एडभान्टेज बलमा रोबर्टाे फिर्मिन्होले उपलब्ध गराएको पासमा मोहम्मद सलाहको प्रहारलाई गोलरक्षक लेनोले नियन्त्रणमा लिन नसकेको बललाई मानेले खाली पोस्टमा जाली चुमाएका थिए ।

३४औं मिनेटमा एन्ड्रिउ रोबर्टसनले गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए । आर्सनलको गोलमा गल्ती गरेका रोबर्टसनले ट्रेन्ट एलेक्सान्डर अर्नाेल्डको क्रसलाई नियन्त्रणमा लिदै गोल गर्न सफल भएका थिए ।

६२औं मिनेटमा भर्जिल भान डाइकको प्रहारलाई लेनोले विफल पारे । ६३औं मिनेटमा लाकाजेटको प्रहारलाई लिभरपुलका गोलरक्षक एलिसन बेकरले सहजै नियन्त्रणमा लिए । ८३औं मिनेटमा सब्सिच्युट डिएगो जोटाले गोल गर्ने सुवर्ण अवसर गुमाउदा लिभरपुल फराकिलो अग्रताबाट चुक्यो ।

८०औं मिनेटमा मानेको स्थानमा मैदान छिरेका जोटाले ८८औं मिनेटमा गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाए । उनले लिभरपुलबाट डेब्यु खेलमै गोल गर्न सफल भए । पोर्चुगिज फरवार्ड जोटा यसै समरमा वल्भ्सबाट लिभरपुल आएका थिए ।

लगातार तेस्रो जितसँगै लिभरपुल ९ अंक जोडेर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान ९ अंक नै रहेपनि गोलअन्तरमा लेस्टर सिटी शीर्षस्थानमा तथा एभर्टन तेस्रो स्थानमा छ । पराजित आर्सनल ६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

यस्तै प्रिमियर लिगको अर्काे खेलमा एस्टन भिल्लाले फुलहममाथि ३–० को सहज जित हात पारेको छ । भिल्लाको जितमा ज्याक ग्रियलिस, कोनोर होउरीहेन र टेरन मिङ्सले गोल गरे । फुलहमका बोबी रेइडले गोल गरेपनि भिएआरबाट मान्यता पाएन ।

भिल्लाको यो लगातार दोस्रो जित हो । फुलहमको लगातार तेस्रो हार हो । एस्टन भिल्ला ६ अंक जोडेर चौथो स्थानमा रहँदा फुलहम अंकविहीन हुदै पुछारमा छ ।

प्रकाशित:
2020/09/29, 6:08