धनगढी–सुदूरपश्चिम प्रदेशका नागरिकको प्रमुख रोजगारीको गन्तव्य हो– भारत । यहाँका अधिकांश नागरिक रोजगारीका लागि भारतका विभिन्न शहर जाने गर्छन् । स्वदेशमा रोजगारी नपाउँदा दुई छाक टार्नकै लागि युवा उमेरमै भारत छिरेका अधिकांश नागरिक आफ्नो जीवनकाल नै भारतमा सस्तो मूल्यमा श्रम बेचेर बिताउन बाध्य छन् ।
कैलाली लम्कीचुहाका हिरालाल देवकोटा लाई सानै उमेरमा आमाको निधन भएपछि छाक टार्नै मुस्किल प¥यो । १९ वर्षको कलिलो उमेरमै २०४३ सालतिर छिमेकी र साथीभाइसँगै उनी भारत गए । अहिले उनी ५४ वर्षका भए । तर भारतमै मजदुरी गरिरहेका छन् । भारतमा दिनरात नभनी काम गर्दा ५४ वर्ष भइसकेको पत्तै नपाएको उनी बताउँछन् । ६ वटी छोरी र एक छोरा छन् । श्रीमती अपाङ्ग छिन । ३ छोरीको बिहे भइसक्यो । तिन छोरीको बिहे गर्न बाँकी छ । आफ्नो कमाइले मात्रै गुजारा नचलेपछि उनका छोरा पनि भारतमै मजदुरी गर्छन् । नेपालमा रोजगारी पाइँदैन भारत नगएर के खाने ?सीमामा भेटिएका उनले दुखेसो सुनाए । यतिन्जेल शरीरमा तागत थियो भारतमा मरिमेटी काम गरे अब बुढो पनि भए तागत पनि सकियो कसरी काम गर्ने होला गहभरि आँसु बनाउँदै उनले पिडा सुनाए । गरिब र निमुखाका लागी नेपालमा सरकार नभएको उनको दुखेसो छ । चुनावका बेला हाम्रो सत्ता आउँछ,जितेपछि गाउँमै रोजगारी पाइन्छ भन्ने हरू पनि त्यसपछि फर्केर नआउने गरेको उनले सुनाए ।
उनी त एउटा प्रतिनिधि पात्र मात्रै हुन् ।
सुदूरपश्चिमका अधिकांश नागरिक जो कलिलो उमेरमा रोजगारीका लागि भारत जान्छन् र जीवनकाल नै भारतमा बिताउँछन् । दशैँ तिहारमा घर फर्किने र हिउँदे खेती सकेर भारत छिर्नेहरूको सीमा नाकामा लर्को लाग्ने गरेको छ । कैलालीको गोदावरी नगरपालिका–१२ ओलानीका नवराज जैशी अहिले ३९ वर्षका भए । सानैमा बुवाको निधन पछि १४ वर्षको उमेरमै भारत गएका उनी अहिले सम्म उतैछन । दुई वर्षमा मुस्किलले एक पटक घर आउँछन् । एक महिना बिताउँछन् र फेरी भारत हानिन्छन् । भन्छन्–यहाँ बसेर के गरौँ हामी जस्तालाई रोजगारी पाइदैंन । परिवार पाल्न त भारत जाने प¥र्योनी ।
यहाँका अधिकांश नागरिक बर्सेनि यसरी नै भारत जाने गरे पनि सरकारसँग आफ्ना कति नागरिक भारतमा छन् र उनीहरूको अवस्था कस्तो छ भन्नेसम्म थाहा छैन । भारतमा काम गर्दा होस् या आउजाउ गर्दा, धेरै कष्ट र दुर्व्यवहारसमेत खेप्नुपर्ने उनीहरू बताउँछन् । सुदूरपश्चिममा उच्च गरिबी छ । आफ्नै ठाउँमा काम गर्नका लागि रोजगारीका अवसर छैनन् । तसर्थ यहाँका नागरिकले कहिलेसम्म यसरी भारतमै जीवन बिताउनुपर्ने हो, यसको जवाफ कसैसँग छैन ।