सत्तारुढ दल नेकपामा उत्पन्न राजनीतिक तनाव दुर्घटना नजिक

‘औपचारिक बैठक बसे नेकपा विभाजन’
kp prachanda
Photo–The Kathmandu Post
सुदूर प्रेस संवाददाता

काठमाडौँ — सत्तारुढ दल नेकपामा उत्पन्न राजनीतिक तनाव दुर्घटना नजिक पुगेको छ । सचिवालयका बहुमत सदस्यहरुको शुक्रबारको अनौपचारिक बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै बेला पनि पार्टी विभाजन हुन सक्ने चेतावनी दिएको बिफ्रिङ गरेका छन् ।


यद्यपि सचिवालयका बहुमत सदस्यहरुले आफ्नो तर्फबाट एकताको रक्षाका लागि अन्तिमसम्म प्रयास गर्ने निर्णय लिएका छन् ।


पार्टी मुख्यालय धुम्बाराहीमा बसेको सचिवालयका बहुमत सदस्य (दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ) को अनौपचारिक बैठकमा अध्यक्ष दाहालले बिहीबार प्रधानमन्त्री ओलीसँगको भेटका विषयबस्तुबारे बिफ्रिङ गरेका थिए ।

सचिवालयका एक सदस्यका अनुसार बिहीबार भेटमा ओलीले दाहाल–नेपाल समूहले औपचारिक बैठक बसाले पार्टी विभाजन हुने चेतावनी दिएको दाहालले बिफ्रिङ गरेका थिए ।‘बिहीबार बालुवाटारमा प्रधानमन्त्रीज्यूसँग भेट गरेर पार्टी बैठक बोलाउन आग्रह गरें । तर, उहाँले बैठक बस्नै नसक्ने बताउनुभयो । यतिमात्र होइन, औपचारिक बैठक बसे त्यही नै पार्टी विभाजनको औपचारिक विन्दु हुने चेतावनी दिनुभयो । उहाँले बैठक बसेकै दिन अर्को बैठक बसाली पार्टी घोषणा गर्ने र दर्ता गर्ने बताउनुभयो । अवस्था गम्भीर छ । के कसो गर्ने हो अब छलफल गरौं । हामीले एकताका लागि अन्तिमसम्म प्रयास गर्नुपर्ने भएको छ,’ बैठकमा दाहालले राखेको भनाइ उद्धृत गर्दै सयिचवालयका एक सदस्यले भने ।

शुक्रबारको सचिवालय बैठकमा दाहालले आफूसँगको भेटमा प्रधानमन्त्री ओलीले पार्टी विभाजन भइसकेको र औपचारिकता मात्रै बाँकी रहेको पनि दाबी गरेका थिए । दाहालको यस्तो बिफ्रिङपछि सचिवालयको अनौपचारिक बैठकले एकताका लागि ओलीलाई आधिकारिक बैठक बोलाउन सामूहिक आग्रह गर्ने निर्णय गरेको छ ।

अनौपचारिक बैठकले पार्टीको बैठक बोलाउन अध्यक्ष ओलीलाई सामूहिक रुपमा भेटेर आग्रह गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए । उनका अनुसार बैठकले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास गर्ने निर्णय पनि लिएको छ । यसअघि बिहीबार (कात्तिक २०) मा दाहालसँगको भेटमा ओलीले बैठक पनि नबस्ने र बहुमतको निर्णय पनि नमान्ने बताएका थिए ।

ओलीले औपचारिक बैठक बस्न अस्वीकार गरे के हुन्छ ? प्रवक्ता श्रेष्ठले भने, ‘हामी अझै त्यसरी सोच्ने ठाउँमा पुगेका छैनौं । पार्टी एकता आजको आवश्यकता हो । यसका लागि हामी अन्तिसम्म प्रयास गर्छौं ।’औपचारिक बैठक बोलाएर पार्टी विभाजन हुने ओलीको चेतावनीपछि दाहालले पछिल्लो परिस्थितिबारे छलफलका लागि अनौपचारिक बैठक बोलाएका थिए ।

तर, बैठकमा प्रधानमन्त्री ओली, सचिवालय सदस्य ईश्वर पोखरेल, सचिवालय रामबहादुर थापा बादल र महाचिव विष्णुप्रसाद पौडेल भने अनुपस्थित थिए । शुक्रबारको बैठकमा दाहालले ओलीले जुम बैठकमार्फत प्रदेशस्तरीय बैठक गरेकोमा आपत्ति जनाएको पनि सचिवालयका ती सदस्यले बताए ।

पार्टीभित्र आफूमाथि दबाब बढ्दै गएपछि प्रधानमन्त्री ओलीले फेरि राजीनामा मागेको प्रसंग पनि उठाएका छन् । बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि परिस्थितिमा आफूले राजीनामा नदिने अभिव्यक्ति दिएका थिए ।

यसबाहेक बाहेक प्रधानमन्त्री ओलीले सरकारविरुद्ध फेरि षड्यन्त्र भएको भन्दै त्यसको सामना गर्न आफू तयार रहेको ‘ब्रिफिङ’ मन्त्रिपरिषद्को बैठकमा पनि गरेका थिए ।

बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले पार्टीमा संकट देखा पर्न सक्ने भन्दै त्यसको सामना गर्न तयार रहन मन्त्रीहरूलाई निर्देशन दिएका थिए ।

दाहाल नेपाल समूहले स्थायी कमिटीको निर्णय कार्यान्वयनको अवस्था, भारतीय गुप्तचर संस्था 'रअ' प्रमुखको नेपाल भ्रमणसहित राष्ट्रियताको मुद्दा, प्रधानमन्त्री ओलीले संघीयताविरोधी अभिव्यक्ति दिएको विषय र कोभिड १९ लाई सम्बोधन नगरेको लगायतका मुद्दामा छलफल गर्न पहिला सचिवालय र त्यसपछि स्थायी कमिटी बैठकको माग गरेको छ ।

तर, अर्का अध्यक्ष ओलीले बैठक पनि गुटको जस्तै हुने भन्दै यसलाई अस्वीकार गर्दै आएका छन् । यही विवादले ओली र दाहालबीच संवाद पनि पातलो हुँदै गएको थियो । बिहीबार ओली र दाहालबीच पाँच दिनपछि भेट भएको थियो । त्यसअगाडि उनीहरुबीच ११ दिनपछि कात्तिक १५ मा भेट भएको थियो । १५ कात्तिकमा दाहालसँगको भेटमा ओलीले बैठक पनि नबस्ने र बहुमतले गरेका निर्णय पनि नमान्ने बताएका थिए ।

पार्टी एकतादेखि अहिलेसम्म पटक-पटक लेनदेनमा धेरै विवाद गरेका नेकपाका दुई समूहबीचको विवाद अब प्राविधिक तयारीतर्फ उन्मुख भइसकेको छ । प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष दाहाल तथा वरिष्ठ नेता नेपाल दुवै समूह केही दिनयता विभिन्न विकल्पसहित प्राविधिक तयारीमा लागेका छन् ।

यसबीचमा ओली र दाहालले एकले अर्कोमाथि दबाब बढाउने कोसिस गरेका छन् । तर, संवाद भने उनीहरुबीच झन्‌झन् तितो बन्दै गएको छ । दुवै समूह अपजसको भारी बोक्न नपरोस् भनेर एक अर्काको कदम हेर्ने र जवाफी योजना बनाउने रणनीतिमा छन् ।

गत भदौ २६ को स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन, मन्त्रिपरिषद् हेरफेर, कर्णाली प्रदेशको पार्टी विवाद र भारतीय गुप्तचर 'रअ' का प्रमुखको अचानक भएको नेपाल भ्रमणले ओली र दाहालबीच विवाद बढाइदिएको छ । दुई अध्यक्षबीचको बढ्दो मनमुटावले नेकपा केन्द्रीय कमिटी बैठक प्रभावित भइसकेको छ ।

बिहीबार अध्यक्ष दाहालसँग छलफल सकारात्मक नभएपछि प्रधानमन्त्री ओली र निकट नेताहरुले बालुवाटारमा निर्वाचन आयोगका पदाधिकारीलाई बोलाएर छलफल गरेका थिए । यसअघि वैशाखमा नेकपामा विवाद हुँदा दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनुपूर्व पनि प्रधानमन्त्रीले आयोग पदाधिकारीसँग यसैगरी छलफल गरेका थिए ।

कर्णाली प्रदेश विवादबाट उत्पन्न नेकपा विभाजन बढ्दै गएर पार्टी विभाजनतर्फ उन्मुख भएको हो । यसले नेकपामा गहिरिँदो संकट कहाँ पुगेर टुंगिन्छ भन्ने अनिश्चतता बढाइदिएको छ । कान्तिपुरबाट

प्रकाशित:
2020/11/06, 8:40