मेरो जीवनको विरोधाभाषपुर्णत्यो दिनः “पौष १२ गते”

Bed joshi
बेद जोशी

मध्यरातको निन्द्रा भङ्ग गर्दै बजेको मोबाइलको घण्टी अनि त्यसमा सुनिएको बुवाको मलिन स्वरसँगै प्राप्त अकल्पनीय खबरले म अवाक् र मर्माहत भएको त्यो क्षण, अर्थात् धर्ती भासिएजस्तो र आकाश नै खसे झैँ लागेको त्यो क्षण मेरो जीवनमा तितो स्मृतिको रुपमा रहेको पनि नौ (९) वर्ष बितिसकेछ। मेरो जीवनकै विरोधाभाषपुर्ण र कालो दिनको रुपमा रहेको ‘पौष १२’ गतेले प्रत्येक वर्ष मेरो वियोगको घाउमा पिडा थप्दै सधैँ झस्काइरहन्छ ।

No description available.

 २०६८ पौष १२ गते राति आएको त्यो अकल्पनीय खबर अरु केही नभएर मेरी ममतामयी ममी  (भुवनेश्वरी जोशी) को निधनको खबर थियो । त्यो खबरले जति मलाइ भाव विह्वल बनाएको थियो सायद त्यो भन्दा बढी मेरो बुवालाई, जसले आफ्नो जिवनसङ्गिनीले आफू लगायत हामी सबैलाई सधैँका लागी छाडेर गएको दुःखदायी खबर आफ्नो सन्तानलाई सुनाउनु पर्दा भएको थियो होला। अब त मेरो जीवनमा खुसी नै खुसी छाएको छ भनेर म सरकारी जागिरे भएको प्रसङ्ग जोड्दै ममीले फेर्नुभएको सन्तोषको सासले अन्तः तह त्यो खुसीलाई मन अघाउन्जेल सँगाल्न नपाउँदै वहाँको साथ नै छोड्दिएको थियो। कस्तो विडम्बना, मेरो जीवनमा यो ‘पौष १२ गते’ एक विरोधाभासयुक्त दिन भएर रहेको छ किनकि त्यो भन्दा ठिक चार (४) वर्ष अगाडी (२०६४ पौष १२) जागिर को नियुक्तिको खबर बोकेको एउटा खुसीको दिन भएर आएको थियो भने पछिल्लो समयमा फेरी ममतामयी माताको निधनको खबर नै बोकेर आयो। दिनको परिचय एउटै तर परिवेश फरक....।

जागिर को वर्षगाँठलाई सधैँका लागी ओझेलमा पारेर ममीको सम्झनामा रुवाइदिने यो दिन मेरा लागी कालो दिनकै रुपमा रहेको छ भन्दा सायद फरक पर्दैन होला। जागिरको सिलसिलामा दाङ जिल्लामा जाँदा देखेको ममीको उज्यालो अनुहारमा यति चाँडै अँध्यारोपन छाउला भनेर मैले कल्पना समेत गरेको थिएन तर अनपेक्षित घटनालाई स्वीकार गर्नुको विकल्प नै भएन मेरा लागी। आफ्नो जीवनको ऊर्जाशील समय बुवासँगको सङ्घर्षमा सहयात्री भएर हाम्रो सुनिश्चित भविष्यको मार्ग कोर्नमै तल्लीन मेरी ममी (दुई जना आमाः कर्मदातालाई ‘ममी’ र जन्मदातालाई ‘आमा’ भन्ने हाम्रो आफ्नै प्रचलन)को सुखभोग गर्ने र खुसीयाली सहित बाँच्ने समयमा पुनः क्यान्सर जस्तो रोगसँग लड्नुपरेको विडम्बना सम्झँदा यस्तो लाग्दथ्यो कि, सायद छैँटीमा भावीले वहाँको निधारमा भाग्य नै लेख्न बिर्सिएछ क्यारे। क्यान्सरसँगको वहाँको लडाई मा बुवाले देखाउनुभएको साहस र निरन्तर प्रयास अनि सन्ततिहरुको अटुट साथलाई देखेर आत्मबल बलियो पार्दै आफूलाई रोगले जित्न नसक्ने दाबी गर्ने मेरी ममीले यति चाँडै हार स्वीकार गर्नुहुन्छ जस्तो लागेकै थिएन तर अपसोच जिन्दगीसँगको वहाँको त्यो हार नै हाम्रो परिवारको लागी सधैँ दुखिरहने घाउ बनेर रह्यो ।

उ बेलाको समाज अनि त्यो समयमा नेपालको सुदूर पूर्वकी चेली सुदूरपश्चिमकी बुहारी बनेर भित्रिने साहस राख्नु नै एक उदाहरण थियो भने त्यसमाथि डोटी जिल्लाको पुर्ख्यौली घरमा गएर भाषा, संस्कृति र रहनसहनको अमिल्दो परिवेशमा आफूलाई सहजै ढाल्दै खुसी हुँदै र खुसी बाँड्दै जीवनयापन गर्ने एक साहसी महिलामा पर्नुहुन्थ्यो मेरी ममी । सधैँ अनुकूल र सहज वातावरण मात्रै खोज्ने र प्रतिकुल अवस्थामा आत्तिने मेरो पुस्तालाई वहाँको जीवन जिउने कलाले गतिलो शिक्षा दिएको झैँ लाग्दछ मलाइ । त्यो भन्दा पनि समाज र आफन्तहरुले निःसन्तान भएको प्रसङ्ग कोट्याउँदै लगाएका वचन रुपी बाणहरुले विक्षिप्त मुटुलाई दह्रो बनाउँदै सन्तानकै लागी बुवालाई दोस्रो विवाह गर्न लगाउने वहाँको आँटलाई सलाम गर्न मन लाग्छ । सायदै कुनै महिलामा हुन्छ होला खुसीसाथ आफ्नै मुटु टुक्रा पारेर बाँड्न सक्ने अदम्य साहस र हिम्मत। जुन वहाँमा थियो र त्यसको फलस्वरुप हामी चार (४) दिदिभाईहरुको अस्तित्व आजपर्यन्त कायम छ। वहाँको त्यो साहसले हाम्रो पुस्ताका दम्पतीमा देखिने अनावश्यक शङ्का र रिस रागको घटनाक्रमलाई खिल्ली उडाइरहेको भान हुन्छ र वैवाहिक जीवनरूपी रथलाई सहजताका साथ खुसी बोकेर हाँक्न प्रेरणा समेत दिइरहेको हुन्छ। मेरा यी आभिव्यक्तिहरु बहुविवाहको पक्षपोषणका लागी नभएर जीवनमा आइपर्ने कठिन परिस्थितिमा कहिलेकाहीँ कठोर निर्णय लिने साहस राख्नुपर्दो रहेछ, जसले चुनौतीहरुसँग सामना गर्नमा बल पुर्‍याउने रहेछ भन्ने हामी सबैले शिक्षा लिन सकियोस् भन्नका लागि मात्र हुन।

बालापनदेखि युवा अवस्थासम्मका थुप्रै अविष्मरणिय क्षणहरु जोडिएका छन् मेरी ममीसँग जुन अहिले जीवन जिउने आधार नै बनेर रहेका छन्। समाजका लागी हामी वहाँले जन्माएका सन्तान थिएनौ होला तर वहाँको सन्तानप्रतिको जिम्मेवारी बोध र निस्स्वार्थ लगावलाई हेर्दा हामीलाई कहिल्यै त्यस्तो अनुभव नै भएन त्यसैले त हामी वहाँका लागी प्राण प्रिय र वहाँ हाम्रा लागी सधैँ सम्मानित र आस्थाको केन्द्रको रुपमा रहनुभयो। सायद यसो हुनुमा हामीलाई जन्म दिने आमाले सधैँ भन्ने गरेको “ममीको मनमा तिमीहरुले आफूले जन्माएको सन्तान होइन भन्ने खालको सोच कहिल्यै आउन नदिनु है” भन्ने आदर्श वाक्यको नतिजा थियो होला। पुस्तकहरुमा पढिने र समाजमा देखिने ‘सौता’ र ‘सौतेलो व्यवहार’ जस्ता शब्दहरु हाम्रा लागी एकादेशको कथा जस्तै लाग्दथ्यो। यस अर्थमा हाम्रा अभिभावकहरु सदासर्वदा एक उदाहरणीय र अनुकरणीय जोडीका रुपमा रहनुभयो र रहिरहनुहुनेछ।

आफ्ना आँखा अगाडी मायालु सन्तानहरु र प्रेमिल पारिवारिक माहौल देख्दा ममीले लिनुभएको बुवाको दोस्रो विवाहको  निर्णयप्रति समाज र आफन्तहरुले “आफ्नो खुट्टामा आफै किन बन्चरो हानेको ?” भनेर गरिरहने प्रश्नलाई समयले गतिलो जवाफ दिएको झैँ लाग्दथ्यो रे वहाँलाई। दूरदर्शी, नेतृत्वदायी र निर्भीक महिलाको रुपमा चित्रण गर्न सुहाउने मेरी ममी साक्षरतासँग त्यति परिचित नभएपनी वहाँले सुनाउने गीता, महाभारत तथा श्री स्वस्थानीका लययुक्त श्लोकहरू हुन या पूर्व क्षेत्रको सङ्गिनीका सुमधुर भाकाहरु हुन, त्यसै गरी देउडाका सुर तालसँग ताल मिलाउन सक्ने वहाँको खुबी धेरै साक्षरहरुमा समेत पाउन मुस्किल पर्दथ्यो। वहाँको सामाजिक मेलमिलापको भावना होस या परिवारमा देखाउनु भएको व्यवस्थापकीय गुण, यी सबै हाम्रा लागी सधैँ अनुसरणीय रहे र जिवनपर्यन्त रहीरहनेछन।

बाल्यकालका सम्झनाहरु र घटनाक्रमलाई रोचक तरिकाले हामीलाई सुनाउने वहाँको कला होस या दन्त्यकथा सुनाएर मन्त्रमुग्ध पार्ने शैली हाम्रा लागी सधैँ स्कुलका अनिवार्य कक्षाजस्तै थिए रे। त्यसकै लागी वहाँसँग सुत्न दिदी र मेरो सधैँ झैँ हानथाप जस्तै हुन्थ्यो रे। अन्तः तह वहाँलाई हामी दुबैलाई दाँयाबाँया राखेर सुताउनुपर्ने अवस्था आउँथ्यो र त्यसमाथि दिदी र मैले आफूतिर नै फर्केर सुत्नका लागी गर्ने किचकिचसँग त वहाँ अभ्यस्त नै हुनुहुन्थ्यो रे। यस्तै सिलसिलामा एक दिन बिहान ममी पूजा कोठामा पूजा गरिरहेको बेला म पुगेर भगवान् सँग हात जोड्दै भनेछु- “ हे भगवान् ! मेरो ममीको दुई वटा मुख बनाइदेऊ, एउटा मतिर फर्केर सुत्ने र अर्को दिदीतिर फर्केर सुत्ने” अबोध बालकले यस्तो भन्दा कुन आमाको आँखाबाट हर्षका आँसु नझर्लान् र, त्यस्तै वहाँलाई पनि भएछ । हर्षका त्यस्ता क्षणले वहाँलाई आफू निःसन्तान भएको कहिल्यै महसुस गराएन र हामीलाई ती घटनाक्रम सुनाउँदा वहाँको मात्र होइन हाम्रो आँखामा समेत आँसु आउने गर्दथ्यो। यस्ता प्रसङ्गहरु सम्झिरहँदा आफूलाई संसारकै खुसी आमा सम्झने त्यो महान् आत्मा आज हामीमाझ हुनुहुन्न भन्ने तितो सत्यले सधैँ मन कटक्क खाइरहन्छ। 

ममीको नियमित चेक जाँचको लागी भरतपुर क्यान्सर अस्पताल लैजाने क्रममा दाङको लमहीमा भएको भेट नै वहाँसँगको मेरो अन्तिम भेट बनेर रह्यो। जागिरे जीवनको बाध्यतामा जकडिएको म र मेरा लागी त्यस उप्रान्त का भेटहरु केवल अभिलाषामै सीमित रहे। सधैँ झैँ भनिरहने एउटा कुरा त्यस अन्तिम भेटमा पनि दोहोर्‍याउनु भएको थियो – ‘बिहे गर भनेको कहिल्यै मान्दैनस्... के अब म मरेपछि गर्छस् त..?’ के थाहा मेरा लागी वहाँको त्यो प्रश्न जीवनभर खड्किरहने प्रश्न बन्ला भनेर। मलाइ आजसम्म पनि त्यो कुराले मन अमिलो बनाइरहन्छ कि, वहाँको त्यो सपना पुरा गर्न सकेको भए कति जाति हुन्थ्यो भनेर। तर के गर्नु, लेखान्तमै सायद यही लेखेको थियो होला भनेर मन बुझाउने प्रयास गरिरहन्छु।

आज वहाँ भएको भए बुहारी,नाति नातिनीहरू लाई देखेर कति खुसी हुनुहुन्थ्यो होला भनेर सम्झन्छु तर यी सबै अब कल्पनामै सीमित रहे। जे होस, हाम्रो परिवारमा वहाँको अभाव भने सधैँ खड्किरहनेछ, जुन कुरा हरेक सुख-दुःखको समयमा बुवाले उच्चारण गरिरहने वाक्य ‘ तेरी ममी भएको भए......’ ले समेत प्रमाणित गरेको आभास भइरहन्छ। जीवनमा जस्तोसुकै कठिन परिस्थिति आए पनि समयको बहावसँग बहनै पर्दो रहेछ भन्ने यथार्थलाई आत्मसाथ गर्दै वहाँसँगका मिठा स्मृतिहरू सँगाल्दै जीवनलाई चलायमान बनाइरहेको छु। भौतिक रुपमा वहाँ हामीमाझ नरहे पनि हरदम,हर क्षण हाम्रो प्रेरणाको स्रोत बनेर, हाम्रो अदृश्य शक्ति बनेर हाम्रै वरिपरि घुमिरहनुभएको छ जस्तो लागिरहन्छ र यो कुराले जीवनमा सकारात्मक ऊर्जा थपिएको आभास भइरहन्छ।

ममीले हामीलाई छाडेर गएको त्यो दिन हाम्रो लागी ‘कालो दिन’ बनेर सधैँ घाउलाई बल्झाइरहेता पनि वहाँसँग जोडिएका थुप्रै मिठा क्षणहरुले जीवनको सत्मार्गमा लम्कने र मानवीयता बोकेर बाँच्न सधैँ प्रेरणा दिइरहेको छ। मेरो जागिरे जीवनको वर्षगाँठ र ममीले छाडेर जानुभएको मिति एकै दिन पर्नु पनि मेरो लागी विडम्बना नै भएको छ। यद्दयपी तिथिका कारण वहाँको श्राद्ध अघि-पछि परिरहन्छ र हामी स-परिवार वहाँको सम्झनामा श्रद्धाञ्जली अर्पण गरिरहन्छौँ। वहाँप्रतिको आदर भावमा समेत न पहिले कमी थियो,न अहिले छ, र न पछि हुनेछ ।

सदा स्मरणीय एक आदर्श, प्रेरणादायी र ममतामयी माता प्रति मेरो सधैंझै शिर नमन र हार्दिक श्रद्धा–सुमन !

प्रकाशित:
2020/12/27, 6:54