धनगढी–सुदूरपश्चिमका जिल्लामा आज ‘पुसे पन्ध्र’ पर्व मनाइँदैछ ।
हरेक वर्ष पुस १५ गते गाउँका सबै मानिस एकै ठाउँमा जम्मा भई रातभर जाग्राम बस्ने चलन रहेको छ । यस क्रममा १५ हात लामो मुढाको आगो ताप्दै दन्त्यकथा भन्दै रात काट्ने गरिन्छ ।
पुस १५ का दिन विशेषगरी तरुल, सखरखण्ड, फर्सी, पिँडालुलगायतका माटोमुनि उम्रिने चिजलाई उसिनेर खाने चलन रहेको छ । यी पदार्थ खाँदा जाडो भाग्ने र शरीरमा स्फूर्ति, तागत बढ्ने किंवदन्ती छ ।
यो दिन वनको पूजा गर्ने चलन छ । यो दिन यस क्षेत्रका मानिसले वनजंगलमा काम नगर्ने र बञ्चरो, हँसिया, बनारो, घाँसपात, दाउरा बान्ने डोरी आदिको पनि पूजा गर्छन् । ग्रामीण क्षेत्रका बासिन्दा घरमा लगाएको जंगलमा पाइने तरुल खनेर उसिनेर खान्छन् । आज तरुल खानैपर्ने मान्यताअनुरूप शहरी क्षेत्रमा तरुल किन्नेको घुइँचो लाग्ने गर्छ ।
पूर्वजका पालाका पौराणिक कथाहरुलाई एक पिँढीबाट अर्को पिँढीमा सम्झिँदै अनि सम्झाउँदै र सुन्दै वा सुनाउँदै यो पर्व मनाउँदै आइएको छ । पूर्वजका पालादेखि चल्दै आएका चाडपर्व र यी चाडपर्व मनाउने तिथिमितिलाई मनन गर्दा मान्छेले फुर्सदको समयमा मनोरञ्जन लिने र दिने सोचका साथ तय गरेको पाइन्छ ।
यसरी फुर्सदको समयमा मनाइने तिनै चाडपर्वअन्तर्गतको एउटा पर्व हो पुष पन्ध्र अर्थात् पुसे पन्ध्र । गहुँ छरिसकेपछि गाउँघरतिर पूर्ण फुर्सदिलो महिनाका रुपमा हेर्न सकिन्छ पुस महिनालाई । पुस पन्ध्रको लामो रातलाई कतै कतै कुनिकेउली खाने पर्वका रुपमा पनि अथ्र्याइएको पाइन्छ ।
सुदूरपश्चिममा मनाइने पुसे पन्ध्रलाई स्वतन्त्रताको प्रतीकका रुपमा लिन सकिने साहित्यकार हेमन्त विवशले बताए । उनले भने , “पुसे पन्ध्र सदियौँदेखि चल्दै आएको पर्व हो, जहाँ केटाकेटीदेखि बूढापाकासम्मले मनोरञ्जन लिने गर्छन् । समाजशास्त्रीय आँखाले हेर्ने हो भने यो पर्वलाई सामाजिक सद्भाव बढाउने अपनत्वको आभाष दिलाउने र नैतिकताको पाठ सिकाउने महत्वपूर्ण पाटोका रुपमा लिन सकिन्छ ।”
घर घरबाट विभिन्न परिकार बनाउन सामग्री लगेर एक ठाउँमा जम्मा भई पकाउने र बाँडीचुँडी खाने जुन चलन छ यसले थोरै मात्रामा भए पनि नजान्नेलाई परिकार पकाउन प्रोत्साहित गर्ने गर्छ । एउटा जिज्ञासापूर्ण पलको सिर्जना गर्छ । सहयोगी भावना र आफूभन्दा ठूलाप्रतिको आदरका साथै समूहमा घुलमिल हँुदा लजालु पन र संकुचित भावनालाई निरुत्साहित गर्नसमेत सघाउ पु¥याउँछ ।
रातभर विभिन्न पौराणिक र लोक कथाहरु, गाउँखाने कथाहरु सुन्ने, सुनाउने साथै गीत–संगीतको समेत भरपुर आनन्द लिने पर्वका रुपमा हेर्न सकिन्छ पुस पन्ध्रलाई । यसले युवा–युवतीमा सिर्जनात्मक कलाको समेत विकास गर्ने र भावी दिनमा समेत सिर्जनशील जिन्दगी जीउन सघाउ पु¥याउँछ । यो पर्व स्वतन्त्रताको प्रतीक पनि हो ।
पुस पन्ध्रको रातमा आमाबुबाको डर अथवा अन्य कसैप्रतिको संकोच रहँदैन । सुरुसुरुमा केटाकेटी सँगै मनाउँथे पुस पन्ध्रलाई । गाउँभन्दा टाढा एकान्तस्थलमा गएर शालिन र भद्र ढंगले रमाउने चलन थियो ।
पछिल्ला दिनहरुमा यो पर्व मात्र औपचारिकता निभाउने ढंगले मनाइँदैछ । विभिन्न विकृतिका कारण केटाकेटी छुट्टाछुट्टै समूहमा मनाइरहेका छन् । गाउँमै कसैको घरमा जम्मा भएर मनाइरहेका हुन्छन् । विस्तारै यो लोप हुने बाटोतिर गइरहेको छ ।
पुस पन्ध्रलाई कतिपय विद्वान्ले मानव संस्कृति र सभ्यताको अभिन्न अंगका रुपमा व्याख्या गरेको पाइन्छ । शालीन र भद्र ढंगले देउडा खेलमा सवाल जवाफसमेत हुन्छन् यो पर्वमा ।
परापूर्वकालदेखि नै महिला पुरुष सँगै देउडा खेल खेल्दै आइरहेका छन्, जसका लागि राज्यमा कुनै प्रजातन्त्र वा लोकतन्त्रको आगमनको बाटो कुर्नुपरेन ती महिलाले, जुन आफैँमा एउटा प्रजातान्त्रिक पद्धति हो ।