११ महिनामा १२ लाख नेपाली बिदेसिए

स्वदेशमै रोजगारी सिर्जना गर्ने र गुणस्तरीय शिक्षा दिने सरकारी दाबी गलत
सुदूर प्रेस संवाददाता

काठमाडौं –चालु आर्थिक वर्षको ११ महिनामा करिब १२ लाख नेपाली विदेश उडेका छन् । रोजगारी र अध्ययनका लागि मात्रै बिदेसिनेको संख्या ८ लाख ५० हजारभन्दा बढी छ । स्वदेशमै रोजगारी सिर्जना गर्ने र गुणस्तरीय शिक्षा दिने सरकारी दाबीलाई यो संख्याले गलत साबित गरिदिएको छ ।

वैदेशिक रोजगार कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा श्रमका लागि म्यानपावर कम्पनीमार्फत्‌ विदेसिएका नेपालीको संख्या सबैभन्दा बढी छ । अधिकांश कामदार भएर खाडी मुलुक गएका छन् । अघिल्लो वर्ष श्रमकै लागि ६ लाख २८ हजार नेपाली विदेसिएकोमा यो वर्ष असार १३ गतेसम्म मात्रै ७ लाख तीन हजार विदेश गएका छन् ।


पछिल्ला ५ वर्षको तथ्यांक हेर्दा चालु आर्थिक वर्षमा विदेसिनेको संख्या उच्च देखिएको छ । यसरी श्रमका लागि विदेश जानेमा युवाहरुको संख्या अधिक छ । यो वर्षमात्रै ४ लाख ३६ हजारले पहिलोपटक श्रम स्वीकृति लिएका छन् ।

नेपालबाट संस्थागत रुपमा १ सय ११ र व्यक्तिगत पहलमा थप ६७ गरी १ सय ७८ मुलुकमा वैदेशिक रोजगारीमा जाने गरेका छन् । पछिल्लो समय केही युरोपेली मुलुकमा पनि रोजगारीका लागि नेपाली जाने गरेका छन् । कतिपय नेपाली भारतीय बाटो प्रयोग गरेर पनि रोजगारीकै लागि अन्य मुलुक जाने गरेका छन्, जसको अभिलेख सरकारसँग छैन ।


रोजगारीका लागि मात्रै होइन, अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या पनि बढेको छ । यस वर्ष ७१ मुलुकमा अध्ययनका लागि १ लाख ५ हजार ९२ विद्यार्थीले अनुमति लिइसकेका छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा २५ सयले बढी हो । अहिलो पनि दैनिक सरदर ५ सय विद्यार्थी अनुमतिका लागि वैदेशिक अध्ययन अनुमतिपत्र शाखामा धाउने गरेका छन् ।

समग्रमा यो वर्षमात्रै ११ लाख ६२ हजार ७२४ नेपाली विभिन्न प्रयोजनका लागि विदेश गएको अध्यागमन विभागको तथ्यांक छ । श्रम र शिक्षाका लागि मात्र नभइ भ्रमण, आफन्त भेटघाट, सरकारी कार्यक्रम अनुसार पनि नेपालीहरु विदेश जाने गरेका छन् ।


रोजगारीकै लागि बिदेसिनु रहर नभइ बाध्यता हो । यसरी विदेशिएकाहरुले पठाएको रेमिट्यान्स नै राष्ट्रिय अर्थतन्त्रको मुख्य हिस्सा बनेको छ। मुलुकमा उत्पादन र उत्पादकत्व घटिरहेका बेला यसरी युवा जनशक्ति विदेसिने क्रम बढ्दा देशको समग्र विकास नै प्रभावित हुने त होइन भन्ने प्रश्न उब्जेको छ ।

प्रकाशित:
2023/06/30, 7:11