दीपेन्द्र र वर्षा सुदूरपश्चिम स्पोर्ट्स अवार्डको वर्ष खेलाडी घोषित

सुदूर प्रेस संवाददाता

धनगढी-क्रिकेटका दीपेन्द्रसिंह ऐरी र फुटबलकी वर्षा ओली चौथो एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्डको वर्ष खेलाडी घोषित भएका छन् ।नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना शुक्रबार धनगढीमा भएको अवार्डमा दीपेन्द्रले एथलेटिक्सका शिवराज पार्की र कबड्डीका प्रकाश गिरीलाई पछि पार्दै पुरुषतर्फको अवार्ड जिते ।दीपेन्द्रले गत वर्ष नेपाललाई विश्वकप क्वालिफायरमा पुर्‍याउन विशेष भूमिका खेलेका थिए । उनी गत वर्ष टी–२० अन्तर्राष्ट्रियमा एक हजार रन बनाउने र एकदिवसीयमा करिअरको पहिलो शतक प्रहार गर्ने खेलाडीसमेत बनेका थिए ।
महिलातर्फकी विजेता वर्षाले गत वर्ष नेपाललाई पहिलो पटक यू–१५ साफ च्याम्पियनसीपको उपाधि जिताउँदा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उनी उमेर समूह वा सिनियर साफ च्याम्पियनसीप र दक्षिण एसियाली खेलकुदमा नेपाली टोलीको उपाधि खडेरी तोड्दै ह्याटिकसहित ५ गोल गर्ने खेलाडीसमेत हुन् ।

गतवर्ष नेपाली यू–१५ टोलीले साफ च्याम्पियनसिपमा बंगलादेशविरुद्धको जित हात पार्दा उनले निर्णायक गोल गरेकी थिइन् । उनले यू–१७ साफ च्याम्पियनसिपमा ३ गोल समेत गरेकी थिइन् ।सुदूरपश्चिम युवा खेलाडीको अवार्ड क्रिकेटका हेमन्त धामीले जिते । उनले भारोत्तोलनका हेमन्त पाल र क्रिकेटकी अनु कडायतलाई पछि पारे । हेमन्तले गत वर्ष नेपाललाई यू–१९ विश्वकप क्रिकेटमा पुर्‍याउउन उत्कृष्ट प्रदर्शन गरेका थिए ।

यस्तै वर्ष प्रशिक्षकको अवार्ड क्रिकेटका जगत टमाटाले जिते । उनले गत वर्ष नेपाललाई यू–१९ विश्वकप क्रिकेटमा पुर्‍याए । उनी ८ वर्षपछि नेपाललाई यू–१९ विश्वकपमा कमब्याक गराउने प्रशिक्षक हुन् । उनले नेपाली महिला क्रिकेट टोलीलाई कतारविरुद्धको सिरिज जिताएका थिए । उनले कुस्तीका राजेन्द्र चन्द र भारोत्तोलनका जीवन गौतमलाई पछि पारे ।

सुदूरपश्चिम आइकन पुरुषतर्फ फेन्सिङका जलेन्द्र शाही घोषित भए । उनले नवौं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमका लागि स्वर्ण जितेका थिए । उनले मनोनयनमा रहेका फुटबलका जियारत शेख र करातेका आनन्द कामीलाई पन्छाएका थिए ।

सुदुरपश्चिम आइकन महिला फुटबलकी दीपा रोकाया भइन् । दीपाको कप्तानीमा नेपालले गतवर्ष पहिलो पटक यू–१५ साफ च्याम्पियनसिपको उपाधि जितेको थियो । उनले कविता कुँवर (क्रिकेट) र मनीषा सिंह (कुस्ती) लाई पछाडि पारिन् ।

विष्टलाई लाइफटाइम एचिभमेन्ट

भलिबलका प्रशिक्षक सहदेव विष्टलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरियो । २०२२ सालमा सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा जन्मिएका विष्टले कलिलै उमेरदेखि भलिबल खेल्न थालेका हुन् ।

वीरेन्द्र सिल्डको पहिलो सहभागितामै उत्कृष्ट खेलाडी बनेका विष्टले त्यही प्रतियोगिता हुँदै क्षेत्रीय टिममा रहेर धनकुटामा राष्ट्रिय प्रतियोगिता खेलेका थिए । जहाँ साविकको सुदूरपश्चिम विकास क्षेत्र तेस्रो भयो । ०४२ सालमा भएको दोस्रो राष्ट्रिय खेलकुदमा सहभागी भएपछि उनको ढोका नेपाली राष्ट्रिय भलिबल टिमका लागि खुल्यो । त्यस क्रममा भएका मैत्रीपूर्ण प्रतियोगितामा २० वर्षे उमेरमै तहल्का मच्चाए । काठमाडौं र उत्तर प्रदेशमा भएका मैत्रीपूर्ण खेलमा उत्कृष्ट प्रदर्शन गरेकै कारण उनी सन् १९८६ मा दक्षिण कोरियाको सोलमा हुने एसियाली खेलकुदका लागि छनोट भए । नेपाली भलिबल टिमले त्यसयता एसियाली खेलको अनुभव लिन पाएको छैन । एसियाली खेलकुदमा सहभागिता जनाउने उनी सुदूरपश्चिमका एकमात्रै खेलाडी हुन् ।

दुईलाई स्पेसल अवार्ड

कुस्तीका राजेन्द्र चन्द र करातेका आनन्द कामीलाई स्पेसल अवार्ड प्रदान गरियो । कुस्तीका चन्दको प्रशिक्षकत्वमा सुदूरपश्चिमले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पाँच स्वर्ण, एक रजत र तीन कांस्य पदक जितेको थियो ।

कैलालीको गोदावरी नगरपालिका–१२ ओलानीमा कपाल काट्ने सैलुनसमेत गरिरहेका करातेका आनन्द कामीले ०७९ सालमा गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा करातेबाट सुदूरपश्चिम प्रदेशलाई स्वर्ण पदक दिलाए । पर्वतको कुश्मामा भएको राष्ट्रिय कराते प्रतियोगितामा कामीले ५० केजी तौलमा स्वर्ण जितेका थिए ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार, सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रकाशित:
2023/07/01, 6:55