सुन तस्करी प्रकरण : चीनदेखि भारतसम्मको गिरोह सक्रिय, १० जना पक्राउ

सुदूर प्रेस संवाददाता

काठमाण्डाै - झण्डै एक सय किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा अहिलेसम्म १० जना पक्राउ परेका छन् । एक–एक जना भारतीय र चिनियाँ नागरिकसहित १० जना पक्राउ परेका हुन् । राजस्व अनुसन्धान विभागका अनुसार पक्राउ पर्नेमा कार्गाे र कुरियर सेवा दिने कम्पनीका सञ्चालक पनि छन्।

विभागका महानिर्देशक नवराज ढुङ्गानाले जसको नाममा सुन आएको थियो त्यही कम्पनीको सामान यसअघि पनि ल्याउने र लैजाने कार्यमा सक्रिय रहेको देखिएपछि उनीहरुलाई पक्राउ गरिएको बताउनुभयो । पक्राउ परेका कार्गाे तथा कुरियर सेवा दिने कम्पनीका तीन जना सञ्चालकहरूको नाम भने विभागले सार्वजनिक गरेको छैन ।

अवैध सुन प्रकरणमा पक्राउ परेका १० जनामध्ये छ जनालाई उच्च अदालत पाटनबाट १० दिनको म्याद लिएर अनुसन्धान थालिएको छ । चिनियाँ नागरिकसहित चार जनालाई भने आज म्याद थप गरिने विभागले जनाएको छ । यो प्रकरणमा चिनियाँ र भारतीय नागरिक पक्राउ परेसँगै चीनदेखि भारतसम्मको गिरोह सक्रिय रहेको खुलेको छ ।

नेपाली गिरोह पत्ता लगाउन अनुसन्धान भइरहेको छ । नेपाली मुख्य नाइके खोज्न अनुसन्धान भइरहेको राजस्वका अधिकारीहरूको भनाइ छ । भन्सार विभागले सुन जाँचपासका क्रममा कर्मचारीको संलग्नता र घटनाका विषयमा छानबिन गर्न विभागका निर्देशक मानबहादुर पौडेलको संयोजनमा ६ सदस्यीय समिति बनाएको छ । प्रहरीले पनि अनुसन्धान अघि बढाएको छ ।

अर्थ मन्त्रालयले विमानस्थल भन्सारका जाँचपास अधिकृत रमेश चन्द र जाँचकी खरिदार कुमार ढकाललाई निलम्बन गरिसकेको छ । बरामद सुन भने राष्ट्र बैंकको टक्सार विभागमा परीक्षण गरेर राष्ट्र बैंकको ढुकुटीमा पठाइएको छ । भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले अस्ति बुधवार राति हङकङबाट ल्याइएको झण्डै एक सय किलो सुन सिनामङ्गलमा बरामद गरेको थियो ।

प्रकाशित:
2023/07/21, 7:50