धनगढी– बझाङमा मंगलबार गएको ६ दशमलव ३ म्याग्निच्युटको भूकम्पले सुदूरपश्चिम प्रदेशका धेरै जिल्लामा क्षति पुर्यायो । बझाङमा एकजनाको मृत्यु भयो भने प्रदेशभर ७६ वटा घर भत्किए । तीमध्ये बझाङका ६४, बाजुराका ९, बैतडीका दुई र अछामका एक घर छन् ।
सातवटा पहाडी जिल्लाका तीन सय दुई घरमा आंशिक क्षति पुगेको छ । विभिन्न अध्ययनहरुले सुदूरपश्चिम प्रदेश भूकम्पको उच्च जोखिममा रहेको देखाएका छन् ।
पछिल्लो ५१८ वर्ष अर्थात् १५६२ सालदेखि नेपालको गोरखादेखि पश्चिम भारतको देहरादूनसम्मको पहाडी क्षेत्रमा ठूलो भूकम्प गएको छैन । ऊर्जाको ठूलो सञ्चिति भएकाले यो क्षेत्र भूकम्पको अति जोखिमका रुपमा रहेको विभिन्न अध्ययनले देखाएका छन् ।
यसपटक बझाङलाई केन्द्रविन्दु बनाएर गएको मध्यम भूकम्पले भने ठूलो क्षति पुर्यायो । गत वर्षको भूकम्पमा डोटीमा ६ जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए ।
पछिल्लो पाँच वर्षमा मात्र सुदूरपश्चिमका पहाडी जिल्लामा सानातिना दर्जनौं भूकम्प गए । पश्चिम नेपालको जमिनमुनि भूकम्प ल्याउने शक्ति लामो समयदेखि सञ्चित भएर बसेको भूकम्पसम्बन्धी अध्येता दिनेशराज जोशी बताउँछन् । जोशी थप्छन्, ‘सुदूरपश्चिममा भूकम्प आउने जोखिम बढी छ । यहाँको क्षति न्यूनीकरणका लागिसमेत कुनै अध्ययन भएको देखिँदैन ।’
विज्ञहरुले सुदूरपश्चिम प्रदेश भूकम्पको उच्च जोखिममा रहेको बताइरहे पनि प्रदेश र स्थानीय सरकारले जोखिम न्यूनीकरण र सचेतनामा भने ठोस काम गर्न सकेका छैनन् ।
सुदूरपश्चिमका अधिकांश बस्ती पुराना छन् । पुराना संरचना भएकाले भूकम्पले बढी क्षति पुर्याउन सक्छ । तर सम्भावित क्षति न्यूनीकरणका लागि भूकम्प प्रतिरोधी संरचना निर्माणमा ध्यान दिइएको छैन ।
डडेलधुराको अमरगढी नगरपालिकाका इन्जिनियर कवीन्द्रराज भट्ट भन्छन्, ‘हामी नक्सा पास गर्नुपर्छ भनेर मापदण्ड बनाएका छौं । तोकिएका मापदण्डअनुसार भवन निर्माण गर्न हामीले आग्रह गरेका छौं ।’
तर नक्सा पासबिनै घरहरु निर्माण कार्य तीव्र रहेको र स्थानीय तहको अनुगमन पनि फितलो रहेको स्थानीय बताउँछन् । डडेल्धुरा अमरगढीका अमर साउँद भन्छन्, ‘नयाँ घरहरु बनेका मात्रै छन् नक्सा पास पनि भएका छैनन् । स्थानीय तहले नियमन पनि गरेको छैन ।’