इजरायल युद्धमा बाँच्न सफल कृष्णपुरका चार जनालाई नगरप्रमुख ओझाले घरसम्मै पु-याए

सुदूर प्रेस संवाददाता

धनगढी–गत शनिवार इजरायलमा हमास विद्रोही समूहले गरेको साङ्घातिक आक्रमणबाट बच्न सफल कृष्णपुर नगरपालिकाका चारै जना विद्यार्थीहरूलाई नगरप्रमुख हेमराज ओझाले घरसम्म पु¥याएका छन् । बिहीबार नेपाल एयरलाइन्स मार्फत काठमाडौँ पुगेका २५३ विद्यार्थीहरूसँगै आएका उनीहरू शनिवार अबेर साँझ घर पुगेका हुन । कृष्णपुर नगरपालिका वडा न २ का नरेश सिंह भण्डारी (निथिन), प्रकाश भारती  र वड नं ४ का रमेश कार्की र पदम धामीलाई नगरप्रमुख ओझाले आफूसँगै श्री एयरलाइन्सको विमान मार्फत घर ल्याएका हुन् । बिहीबार बिहान नगरप्रमुख ओझाले चारै जना विद्यार्थीहरूलाई त्रिभुवन विमानस्थल स्वागत गर्दै उतैबाट आफ्नो निवासमा लगेका थिए । शुक्रवार दिनभरि आफूसँगै विद्यार्थी राखेका ओझाले शनिवार बेलुकी धनगढी विमानस्थल पुगेका विद्यार्थीहरूलाई नगरपालिकाकै गाडीमा सबैलाई घरसम्मै पु¥याएका हुन । 

धनगढीमा विमानस्थलमा सञ्चारकर्मी सँग कुरा गर्दै नगरप्रमुख ओझाले इजरायलमा हमास विद्रोही समूहको आक्रमणमा परी १० विद्यार्थीले ज्यान गुमाएको र दर्जनौँ घाइते भएको खबर सुन्दा आफू विक्षिप्त भएको बताए । उनले कृष्णपुरका पनि ४ जना  सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरू  ‘लर्न एन्ड अर्न’ प्रोग्राम अन्तर्गत इजरायल पुगेका खबर सुनेदेखि आफू नियमित उनीहरूसँग भिडियो कलमा जोडिनै रहेको थिए  । चिन्ता नमान्न र आत्मबल बढाउन भनेर बारम्बार भनिरहेको थिए नभन्दै बिहीबार नेपाल एयरलाइन्स मार्फत त्रिभुवन विमानस्थल आफ्नो नगरपालिकाका विद्यार्थीहरू देख्दा भावुक भएको बताए । उनले नेपाल सरकार र विशेष गरी परराष्ट्र मन्त्री एन.पी.साउँदको सक्रियताले उद्धार गर्न सम्भव भएको भन्दै नेपाल सरकार र परराष्ट्र मन्त्रीलाई धन्यवाद समेत दिए । नगरप्रमुख ओझाले इजरायलबाट सकुशल फर्केका आएका आफ्ना नागरिकलाई नगरपालिकाले के गर्न सक्छ भन्ने बारे विज्ञसँग छलफल गर्ने र उनीहरूको आत्मबल बढाउन केहि न केही पहल गर्ने बताए ।

मृत्युको मुखैबाट बाँच्न सफल भएर धनगढी विमानस्थलमा पुगेका कृष्णपुर नगरपालिका वडा न २ का नरेश सिंह भण्डारी (निथिन), प्रकाश भारती  र वड नं ४ का रमेश कार्की र पदम धामी बिछट्टै खुसी थिए । विमानस्थलमा पत्रकारहरूसँग नरेश सिंह भण्डारी ( निथिन ) ले भने बाँच्ने आशा मारी सकेका थियौँ खै कसरी जोगियौँ र आज घरसम्म पुग्यौँ यो सपना जस्तै लागिरहेको छ । प्रकाश ,रमेश र पदमको पनि एउटै भनाइ थियो हामीले आफ्नै देशको भूमि टेक्नु रैछ यो दोस्रो जुनी हो अब यतै केही गर्छौँ । राज्यले हामीलाई केही न केही सहयोग गरे हामी यतै नमुनाको काम गरेर देखाउँछौँ । उनीहरूले आफ्नो ज्यान दाउँमा राखेर धेरैलाई बचाएका आफ्नो साथी विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात रहँदा भने अत्यन्तै दुख लागेको भन्दै सरकारलाई विपिनको खोजी कार्य अगाडि बढाइदिन र मृतकहरूको लास नेपाल छिटोभन्दा छिटो ल्याउने वातावरण मिलाइदिन आग्रह गरे ।

 

प्रकाशित:
2023/10/15, 8:39