रवि लामिछाने गृहमन्त्री हुँदा सीआईबी प्रमुखमा लगिएका ज्ञवाली प्रहरीकै छानबिनको दायरामा

राजनीतिक प्रभावमा काम गरेको आरोप, संसदीय समितिमा प्रश्न
सुदूर प्रेस संवाददाता

धनगढी– गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका प्रमुख नै छानबिनको दायरामा पर्नु भएको हो । रवि लामिछाने गृहमन्त्री हुँदा सीआईबी प्रमुख बनाइएका श्यामलाल ज्ञवालीमाथि प्रहरी प्रधान कार्यालयले नै छानबिन सुरु गरेको हो । ज्ञवालीले राजनीतिक प्रभावमा परेर गलत निर्णय गरेको उजुरी गृह मन्त्रालयमा परेपछि छानबिनको दायरामा पर्नुभएको हो ।

रवि लामिछानेले गत फागुनमा दोस्रो पटक गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि सबैभन्दा पहिलो निशानामा प्रहरी संगठनलाई नै बनाउनुभयो । सुन काण्ड र सहकारीको अनुसन्धान गरिरहेका सीआईबीका तत्कालीन नेतृत्व एआईजी किरण बज्राचार्यसहितको टोलीलाई उहाँले सरुवा गरेपछि सार्वजनिक रूपमै आलोचना भएको थियो । त्यसपछि लामिछानेले सीआइबीको नेतृत्वमा ल्याएका एआईजी श्यामलाल ज्ञवालीमाथि अहिले सरकार परिवर्तन भएपछि छानबिन सुरु भएको छ । प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय समिति गठन गरेको हो । 

सीआईबीले ६० किलो सुन काण्डमा दोस्रो चरणको अनुसन्धान ज्ञवालीकै नेतृत्वमा अघि बढाएको थियो । तर सुनका मुख्य आरोपी चिनियाँहरूसँग सम्बन्ध रहेका र अनुसन्धानको दायरामा राखिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशलाई उन्मुक्ति तथा चिनियाँ तस्करसँग तमसुक गरेको भिडियो सार्वजनिक हुँदासमेत पुनकै अर्का छोरा जितेन्द्रमाथि पनि अनुसन्धान नगरेपछि ज्ञवालीमाथि प्रश्न उठेको हो । 

यसैगरी फरार अर्का आरोपी जीवन चलाउनेसँगको सम्बन्धलाई लिएर पनि उहाँमाथि छानबिन भइरहेको गृह मन्त्रालय स्रोतले जनाएको छ । सुन तस्करीको आरोप लागेका कृष्णबहादुर महरालाई हाजिर जमानीमा छाडेर ज्ञवालीले नै प्रश्रय दिएको आरोप पनि छ । 

यसैगरी काठमाडौंको नक्सालस्थित बालमन्दिरको जग्गा हिनामिना प्रकरणको अनुसन्धानमासमेत ज्ञवालीमाथि प्रश्न उठाइएको छ । अहिले प्रहरी प्रधान कार्यालयले यी सबै विषयलाई जोडेर छानबिन अघि बढाएको हो । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले राज्य व्यवस्था समितिको बैठकमै एआइजी ज्ञवालीमाथि आन्तरिक छानबिन भइरहेको जानकारी दिनुभयो । 

समितिमै एमाले सांसद रघुजी पन्तले अघिल्ला गृहमन्त्री लामिछानेले आफूअनुकूल एउटा छानबिन गर्ने अहिले फेरि अर्को छानबिन भइरहेको भन्दै प्रश्न उठाउनुभयो । उहाँले राजनीतिक आग्रह र पूर्वाग्रह राखेर प्रहरी संगठनमा विभाजन ल्याउन नहुने बताउनुभयो । 

त्यसो त एआईजी ज्ञवालीले संगठनको चेनअफ कमान्ड उल्लंघन गरेको आरोप पनि लगाइएको छ । ज्ञवालीले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई हटाएर नेतृत्व लिन खोजेको आरोप पनि नलागेको होइन । गृहमन्त्री रमेश लेखकले पनि ज्ञवालीमाथि छानबिन भइरहेको भन्दै त्यो प्रहरी संगठनको आन्तरिक जीवन भएको बताउनुभयो ।

सीआईबीमा कार्यरत प्रहरीहरू अनुसन्धानमा विज्ञता हासिल गरेकाहरू नै हुन्छन् । तर त्यसको नेतृत्व  र राजनीतिक स्वार्थ बाझिँदा कतिपय घटना निष्कर्षमा नपुग्ने जोखिम हुन्छ। अझ कतिपय अवस्थामा संगठनको नेतृत्वले कानुनभन्दा राजनीतिक स्वार्थका आधारमा काम गर्दा विवादमा पर्ने गरेका छन् । अहिले सीआईबी प्रमुखमाथि भइरहेको छानबिन पनि राजनीतिक स्वार्थमा परेर गरेको गलत निर्णयको परिणामकै रूपमा लिइएको छ ।

प्रकाशित:
2024/08/01, 6:55
SPA
KN
Priya Gahana Pasal