कक्षा १२ को परीक्षा दिन छुटेका विद्यार्थीका लागि नयाँ परीक्षा तालिका सार्वजनिक

exam
सुदूर प्रेस संवाददाता

काठमाण्डाै - कोरोनाको कारण कक्षा १२ को परीक्षा दिन छुटेका विद्यार्थीले आउँदो १६ गतेदेखि परीक्षा दिन पाउने भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले कोरोनाको कारण यसअघि परीक्षा दिन नपाएका विद्यार्थीलाई फेरि परीक्षा दिन पाउने गरी तालिका सार्वजनिक गरेको हो । पुस १६ गतेदेखि सम्बन्धित विद्यालयमै मौका परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ । कक्षा १२ को परीक्षा गएको मंसिर ९ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको थियो ।

कोरोना महामारीका कारण कतिपय विद्यार्थी परीक्षामा सामेल हुन सकेका थिएनन् । सबै वा केही विषयको परीक्षामा सहभागी हुन नसकेका विद्यार्थीलाई सम्बन्धित विद्यालयमा सञ्चालन हुने परीक्षामा सहभागी हुन बोर्डले आग्रह गरेको छ । आ–आफ्नो मातहतमा रहेका विद्यालयहरुलाई जानकारी गराउन बोर्डले प्रदेश परीक्षा व्यवस्थापन कार्यालय एवं शाखा कार्यालयहरुलाई निर्देशन दिएको छ ।

प्रकाशित:
2020/12/26, 10:59