२०७७, साउन १७ गते ‘सेतोपाटी’ मा प्रकाशित सुदुरपश्चिमको आम ग्रामिण महिलाको स्थिती, नियती अनि दुर्दशालाई चित्रण गरिएको चेतना शर्माको ‘इजा’ शिर्षकको मर्मस्पर्शी कथा पढ्दै गर्दा सायद आफुपनि सोही प्रदेशकै भएर होला पहाडी भेगमा देखिने महिलाको कठिन जीवनशैली मै केन्द्रीत भएर मलाई पनी लेख्ने हुटहुटी जागेर आयो । काल्पनिक कथाको संरचना तयार गर्नुभन्दा आफैले देखेको अनि भोगेको तथ्यहरूलाई जोड्दै संस्मरणको रूप प्रदान गर्न म जस्तो लेखनीमा अभ्यस्त नभएको व्यक्तिलाई सायद सहज हुने अनुमान गर्दै केही लेख्ने जमर्को गरे । प्रसङ्ग २०७४ सालको स्थानीय निकाय तथा प्रदेशसभाको निर्वाचनको सेरोफेरोको हो, अफिसियल कामकै शिलशिलामा बझाङ जिल्लाको केदारश्युँ गाउँपालिका अन्तर्गत रहेको “देउरा बजार” लाई अस्थायी कर्मथलो बनाउदै आफ्नो जिम्मेबारीमा केही हदसम्म व्यस्त थिए । निर्वाचनको पुर्वार्द्धमा कामको चाप केही न्युन भएकाले नै प्राय: दिउसो ३:०० बजेपछिको समयमा स्थानीय सहकर्मीहरूसँग डाँडा-पाखा घुम्नु, सेती नदीको तिरको चिसो हावामा रमाउनु अनि पाए सम्मका सेती नदीको माछा किनेर साँझको खानासँगै रसस्वादन गर्नु मेरो दैनिकी जस्तै बनेको थियो ।
देउरा बजार क्षेत्रफलमा सानो भएपनि निकै पुरानो बजार भएकाले होला दैनिक जीवनयापन सँग सम्बन्धित खाद्यान्नका पसल, जुत्ता,चप्पल तथा कपडा पसल एवं खाजा पसलहरू प्राय: चलायमान नै देखिन्थे । सिमावर्ती छिमेकी जिल्ला डोटीको गिरीचौका, छपाली र वैतडी जिल्लाका बगाना, न्वागढीका स्थानीयहरूलाई समेत भौगोलिक हिसाबले यही बजार नै पायक पर्ने भएकाले मानिसहरुको ओहोर-दोहोर र निर्वाचनको सरगर्मिले समेत बजारको चहलपहल हेर्न लायक हुन्थ्यो । बजारको पुर्वपट्टी रहेको सेतीनदी माथिको झोलुङ्गे पुलमा बसेर देखिने रेगमज्युला र छपालीबाट ओहोरदोहोर गर्ने मानिसहरूको नियमित दृश्यहरूमध्ये एउटा फरक दृश्यले सधै मेरो ध्यान तानिरहेको हुन्थ्यो । निकै मर्मस्पर्शी लाग्ने उक्त दृश्यले त्यस भेगका महिलाको अवस्थिति अनि दुर्दशा समेत प्रष्ट पारिरहेको हुन्थ्यो । झिसमिसेमा उठेर घरधन्दा, चुलोचौको र वस्तुभाउकै सेरोफेरोमा घुमिरहने ग्रामिण महिलाहरू, आफैले उत्पादन गरेको मकै, भटमास, मास, गहत जस्ता अनाजहरूको भारी बोकेर घण्टौ सम्मको पैदल यात्रा तय गरी देउरा बजारसम्म पुगी आफुलाई चाहिने दैनिक उपभोग्यका सामानहरूसँग उक्त अनाज साटेर पुन: साबिक झैं भारी बोकेर उकालो लाग्दै साझँपख घर पुगी आफ्ना नियमित काममा सक्रिय रहनु नै उनिहरुको दैनिकी थियो । उनीहरुलाई पनि कहिलेकाँही अबेरसम्म सुत्न अनि शरिरमा थकान महसुश हुँदा आराम गर्न मन हुँदो हो तर यस्तो लाग्दथ्यो उनिहरुलाई यसतर्फ सोच्न समेत छुट थिएन । बिहान सबेरै उठेदेखी राती अबेरगरी नसुत्दासम्म जिवनपर्यन्त कामको तानमा चर्खा झैं घुमिरहनुलाई महिलाको संस्कृतिप्रदत्त सुन्दर विशेषता हो भन्ने बुझाइमा रमाएका उनिहरुलाई के थाहा थकान अनी आरामको बारेमा । उता नियमित तास खेल्ने, चिया पसलमा गफिदै बस्ने र मा.प.से.मा तल्लिन आम पुरुषहरू भने महिलाहरूको त्यो कष्टकर दैनिकीको प्रवाह नगरी उल्टै निरीह श्रीमतिमाथी शक्ती प्रदर्शन गर्नमै उद्धत देखिन्थे ।
पंक्तिकारले नियमित देख्ने यि दृश्यहरूमा अर्को आँखा नै रसाउने दृश्य चाहीँ दैनिक खाद्यान्नको भारी बोकेर बजार झर्ने थुप्रै आमाहरुले आफ्ना छोरीहरूलाई समेत उमेर अनुसारको उनिहरुले सक्ने भारी बोकाइदिएर आफ्नै पछी-पछी लाउँदै गरिरहने पैदल यात्राको दृश्य हुन्थ्यो । यस्तो लाग्दथ्यो, ती छोरीहरूले भोलीको नियती र भोग्नुपर्ने दिनहरूको पुर्व अभ्यास गरिरहेका छन अनि आमाले समेत उनीहरुलाई त्यसैमा अभ्यस्त बनाइरहेकी छिन । पुस्तान्तरणसँगै आफ्ना दुर्भाग्यहरु समेत हस्तान्तरण गर्नमा क्रियाशिल उनिहरुको त्यो कष्टकर यात्राको बिचमा सानो विश्राम भने पुल छेउमै रहेको खाजा पसलले प्रदान गरिरहेको हुन्थ्यो । ती आमा अनि छोरीहरू बजारबाट फर्कदा त्यही पसलको आधा प्लेट चाउमिनमा आफ्ना खुशी भेट्ने अनि दंग पर्दै पुन: उकालो लाग्दथे । नेपाली भाषाको पहिलो पाठ्यपुस्तक लेखेर नेपाली शैक्षिक इतिहासमा ठूलो योगदान दिएका राजा जय पृथ्वीबहादुर सिंहको त्यस ठाउँमा शिक्षा र विकासको पहुँच नगण्य देखिरहँदा चाइनिज फास्टफुडले भने आफ्नो बलियो पकड बनाएको देखिन्थ्यो ।
मैलो लुगा, फुस्रो कपाल अनि असिन-पसिन उनीहरूको अनुहारमा ‘चाउमिन चमक’ देख्दा, खुशी हुनलाई त कुनै ठूलो कुरा नचाहिने पो रहेछ भन्ने शिक्षा समेत पाइरहेको मेरो मनले सबै गतिविधी नियाल्दै गर्दा परिवर्तनको झिनो आशा समेत नदेखे पनि कता कता ती अबोध बालिका र किशोरीहरूमध्ये एकै जनाले मात्र भएपनि विनासोन्मुख त्यो जीवनशैलीलाई प्रश्न गर्ने सामार्थ्य राखे हुन्थ्यो , गफमै दिन काट्ने जुङ्गामुठे बाउ अनि तिघ्रे दाजुभाईलाई छोरा-छोरी बिच हुने असमान व्यवहारको बारेमा राम्रो सबक सिकाए हुन्थ्यो र हातमा नाम्लो होइन कपी-कलम बोकेर आत्मनिर्भर हुने बाटोमा हिड्ने क्रान्ती गर्ने हिम्मत जुटाए हुन्थ्यो नि भनेर कामना भने सधैं गरिरहेको हुन्थ्यो । यस बिचमा पिडाबोध हुने ति दृश्यहरु नियाल्दै गर्दा महिलाहरुको नियति झल्कने फोटो कैद गर्दै उनिहरुसँग गएर कुराकानि गर्ने प्रयास नगरेको भने होइन, तर मेरा प्रयासलाई बेवास्ता गर्नु ,नचिनेको मानिससँग सायद बोल्न नखोज्नु , फोटोमा कैद हुने भयले पछ्यौराले मुख लुकाउनु जस्ता निर्दोष कृयाकलापद्वारा संस्कार र परम्पराको नाममा उनिहरुले समाजबाट पाएको गलत प्रशिक्षण समेतलाइ उजागर गरिरहेका हुन्थे ।
आमा-छोरीहरूको त्यो ताँती आँखाबाट ओझेल हुन्जेल कैंयौ सोचमा डुबीरहेको म भारी मन लिएर कोठामा फर्कनु बाहेक कुनै विकल्प नभेटिरहेको परिवेशमा आफ्नो जिम्मेवारी सकेर केही दिनपछी तिनै धेरैथोक सोच्न बाध्य पारिदिने दृश्यहरूलाई मानसपटलमा खेलाउदै काठमाण्डौं फर्के । बझाङ जाँदा बाटोभरी प्राकृतिक मनोरम छटाहरुसँग रमाउदै गएको म फर्कदा रमाउनै सकिन, केवल तिनै ग्रामिण महिलाहरुको दुर्दशाले मनमा पिडाबोध भइरह्यो । नेपालको महिलाको स्तर, महिला अधिकार, महिला सशक्तिकरण, जस्ता शब्दको अर्थले समेत प्रष्ट पार्न नसक्ने ति सुदुरका महिलाको अवस्था मानसपटलमा नाचीरहँदा राजधानी लगायत देशका थुप्रै शहरमा भइरहने महिला अधिकार, न्याय, पहुँच र समानताका सेमिनारहरुको नजरमा समेत त्यस्ता दृश्य पर्छन कि पर्दैनन होला भनेर कौतुहल लागीरह्यो । त्यस्ता थुप्रै सेमिनार र गोष्ठीहरुमा आफु सहभागी भएको क्षणहरु सम्झे जहाँ सहभागी महिलाहरुको व्यक्तित्व अनि बौद्धिकता देख्दा हाम्रो नेपाली महिलाको स्तर निकै माथी उठिसकेको महसुश हुने मलाइ बझाङका दुर्गम भेगमा देखिएको कष्टकर जिवन व्यतित गरिरहेका महिलाहरुलाई सम्झँदा भने कहाली लागेर आउथ्यो । त्यसैले मनमनै महिला अधिकारमाथी नै ठुलो प्रश्न चिन्ह खडा गरिरहें । यात्राको क्रममै डडेल्धुराको उग्रतारा मन्दिरको दर्शन गर्ने अवसरको सदुपयोग गर्दै महिलाको हक अधिकारको क्षेत्रमा काम गर्ने थुप्रै संघ संस्थाहरुलाई सम्झँदै महिलाको अधिकार सुनिश्चित गर्दै आत्मनिर्भर भएर बाँच्न सक्ने बनाउन दुर्गमका थुप्रै देउरा बजारहरुलाई गम्भिर भएर नियाल्न र तमाम आमा-छोरीहरूको जीवनस्तर फेर्नका लागी निरन्तर सक्रिय प्रयास गरिरहन सक्ने शक्ति प्रदान गरिदिन उग्रतारा मातासँग प्रार्थना समेत गरे । अन्ततह: थुप्रै अनुत्तरित प्रश्नहरु मनमा खेलाउँदै यात्राको गन्तव्य काठमाण्डौ त पुगियो तर मन भने चंगा हुनै सकेन । देउरा बजारमा भएको त्यो पिडाबोधले आजसम्म पनि मलाई घोचिरहन्छ, त्यसैले बझाङ जिल्ला अन्तरगतका स्थानिय निकायका महिला जनप्रतिनिधीहरुलाई सम्झिन्छु, सोही जिल्लाबाट प्रदेश सांसद हुनुभएकी महिला नेतृ देवकी मल्ललाई सम्झिन्छु, वहाँहरुलाई भेटेर ती आमा र छोरीहरूको जीवनशैली कति फेर्नु भयो ? छोरीहरूलाई शिक्षा र स्वाबलम्बनको बाटोमा हिड्न कति उत्प्रेरीत गर्नुभयो? भनेर सोध्न मन छ, अनि महिलाको हक-हितमा काम गर्ने संघ- संस्थाहरूले मेरो सुदुरको थुप्रै विकट ठाउँहरूमा गई नतिजामुखी काम गरेको हेर्न मन छ । तर सबैभन्दा महत्वपुर्ण त गिरीचौकी, छपाली, रेगमज्युला, दङ्गाजी र बगना लगायत बझाङ जिल्लाका मैले नदेखेका अन्य ठाउँहरुका समेत किसानहरूले उत्पादन गरेको खाद्यान्न व्यवसायीले घर-घरमै गएर खरिद गरेको हेर्न मन छ, अनि त्यहाँका थुप्रै आमा छोरीहरूले दु:ख र दुर्दशाको नाम्लो हटाउँदै कलेटी परेको अनुहारमा खुशी छर्दै पँहेलो दात देखाइ मज्जाले हाँसेको हेर्न मन छ । देउरा बजार जस्ता थुप्रै दुर दराजका आमा, दिदी बहिनीहरुले साच्चै नै अनुभुत गर्न सक्ने समानता, अवसर र महिला हक-अधिकार सुनिश्चित भएको देख्न र सुन्न पाइयोस, शहर केन्द्रित मात्र होइन दुर्गम अनि दुर-दराजमा समेत महिला अधिकारको सुगन्ध फैलिएको महशुस गर्न पाइयोस....नारी दिवसको सबैमा शुभकामना..!
- बेद जोशी