मन्त्री भागबन्डाको लफडाले नागरिक उन्मुक्तिको विवाद उत्कर्षमा

केन्द्रीय उपाध्यक्ष लक्ष्मणकिशोर चौधरी मन्त्री नबनाएपछि नेतृत्वप्रति आक्रोशित
सुदूर प्रेस संवाददाता

धनगढी–  थरुहट आन्दोलनको जगमा स्थापना भएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्र सुदूरपश्चिम प्रदेशमा मन्त्री छनोटलाई लिएर सुरु भएको विवाद उत्कर्षमा पुगेको छ । मन्त्री बन्न नपाएपछि पार्टीको तेस्रो वरीयतामा रहेका केन्द्रीय उपाध्यक्ष लक्ष्मणकिशोर चौधरीले नेतृत्वप्रति आक्रोश पोखेका छन् । उनले पार्टीमा व्यक्ति हावी भएको आरोप लगाएका छन् । 

सुदूरपश्चिम प्रदेशसभामा ७ सिटसहित चौथो दल बनेपछि नाउपामा संसदीय दलको नेता बन्न ठूलो हानथाप भयो । उपाध्यक्षसमेत रहेका लक्ष्मणकिशोर वरीयतामा सबैभन्दा वरिष्ठ सांसद भएकाले संसदीय दल नेताको प्रमुख दाबेदार थिए । सांसदहरूबीच उनलाई नेता बनाउने एकखाले तयारीसमेत भइसकेको थियो तर टीकापुर घटनामा जेलजीवन बिताइरहेका पार्टीका संरक्षक रेशम चौधरीले सातै सांसदलाई काठमाडौं बोलाएर पुस १० मा रामेश्वर चौधरीलाई संसदीय दलको नेता तोके । नाउपाका एक प्रदेश सांसदका अनुसार लक्ष्मणकिशोरले असन्तुष्टि व्यक्त गरेपछि रेशमले भनेका थिए, ‘कसैलाई मन छ भने पार्टीमा बस्दा हुन्छ, मन नभए गए हुन्छ ।’

दलको नेता हुनबाट वञ्चित लक्ष्मणकिशोरलाई प्रमुख सचेतकको जिम्मेवारी दिइयो । तर, वैशाख २८ मा उक्त जिम्मेवारी खोसेर खुसीराम डगौरा थारूलाई प्रमुख सचेतक बनाइयो । सोही दिन संसदीय दलको नेताको जिम्मेवारी पनि रामेश्वरबाट खोसेर घनश्याम चौधरीलाई दिइयो । जिम्मेवारी खोस्दा दुवै जनालाई सुदूरपश्चिम सरकारमा मन्त्री बनाउने आश्वासन दिइएको थियो । बिहीबार नाउपा सुदूरपश्चिम सरकारमा सहभागी भयो, जसमा रामेश्वर भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री र कैलाश चौधरी सोही मन्त्रालयको राज्यमन्त्री बने । लक्ष्मणकिशोरलाई भने मन्त्री बनाइएन । 

अहिले लक्ष्मणकिशोर पार्टीमा पद्धतिभन्दा व्यक्ति (नेतृत्व) हावी भएको भन्दै आक्रोशित छन् । ‘प्रदेशमा संसदीय दलको नेता चयनदेखि मन्त्री सिफारिससम्म बहुमत सांसद मेरो पक्षमा हुनुहुन्छ तर केन्द्रबाट पटक–पटक पेलेर निर्णय चेन्ज गरिएको छ,’ उनले भने, ‘पार्टीभित्र अलोकतान्त्रिक परिपाटी हावी भयो, पद्धतिमाथि गम्भीर प्रश्न उठेको छ ।’ पछिल्लो पटक मन्त्री छनोटको सन्दर्भमा गरिएको पूर्वाग्रही निर्णयलाई समर्थन गर्न नसक्ने उनले बताए ।

लक्ष्मणकिशोरले भनेझैं नाउपा नेतृत्व उनीप्रति पूर्वाग्रही भएकै हो त ? कान्तिपुरसँगको कुराकानीमा उनले केही आधार प्रस्तुत गरे । सुदूरपश्चिमका ७ सांसदमध्ये उनी पार्टी वरीयतामा वरिष्ठ हुन् । उनी पार्टीको केन्द्रीय उपाध्यक्ष र संगठन विभाग प्रमुख हुन् । अन्य ६ सांसद केन्द्रीय कार्यसमितिमा पनि छैनन् । लक्ष्मणकिशोर पार्टीका संस्थापक सदस्य हुन् । यतिमात्र होइन, उनी ०७४ को निर्वाचनमा कैलाली १ (२) मा राजपाबाट उठेका थिए । सोही निर्वाचनमा संघतर्फ कैलाली १ बाट रेशमले जितेका थिए । यसपटक पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले जितेकी छन् । ‘रेशमजीसहित हामीले थरुहट आन्दोलन गर्‍यौं, आन्दोलनलाई अझ उचाइमा पुर्‍याउन पार्टी स्थापना गर्‍यौं तर जुनियरलाई माथि राखेर मलाई सधैं पेल्ने काम भयो,’ लक्ष्मणकिशोरले भने, ‘मेरो वरीयतालाई अपमान गर्दै निरन्तर पेल्ने काम भएको छ, अब सहेर बस्न सकिन्न ।’ नाउपामा रेशमपत्नी रन्जिता अध्यक्ष छिन् भने दामोदर पण्डित दोस्रो वरीयताका उपाध्यक्ष छन् ।

नाउपामा रेशमको रुचिविपरीत कसैले बोल्न सक्ने अवस्था छैन । जेठ १५ मा जेलमुक्त भएपछि उनी अहिले पार्टीको संरक्षकको भूमिकामा संगठन विस्तार अभियानमा देश दौडाहामा छन् । नाउपाका कतिपय नेताले लक्ष्मणकिशोरलाई पार्टीभित्र प्रमुख प्रतिस्पर्धी ठानेरै ‘साइज’ मा राख्न रेशमले प्रमुख जिम्मेवारीबाट वञ्चित गरेको बताएका छन् । रेशम र लक्ष्मणकिशोर थरुहट आन्दोलनको उद्गम टीकापुर क्षेत्रका हुन् । उनीहरूको संघीय निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्र पनि एउटै हो । संगठन विभाग प्रमुखको समेत जिम्मेवारीमा रहेकाले लक्ष्मणकिशोरको प्रभाव बढिरहेको छ । ‘यस्तो अवस्थामा उनलाई संसदीय दलको नेता वा मन्त्री बनाउनु भनेको आफ्नो प्रतिस्पर्धीलाई झन् बलियो बनाउनु हो,’ नाउपाका एक सांसदले भने, ‘फेरि रेशमजीको कुरालाई हाकाहाकी चुनौती दिने भनेकै लक्ष्मणले हो ।’

संसदीय दलका नेता घनश्याम चौधरी भने मन्त्री बनाउँदा पार्टी वरीयताभन्दा संसदीय दलको वरीयता महत्त्वपूर्ण हुने भएकाले लक्ष्मणकिशोर छुटेको बताउँछन् । ‘लक्ष्मणजी संसदीय दलको प्रमुख सचेतक हुँदा रामेश्वरजी दलको नेता हुनुहुन्थ्यो, अब को सिनियर को जुनियर भन्ने आफैं छुट्याउनुहोस्,’ उनले भने, ‘पार्टीले दुईवटा मन्त्री पाइदिएको भए दुवै जना सरकारमा जानुहुन्थ्यो, एउटा मात्र पाएपछि सिनियर भएको नाताले रामेश्वरजी जानुभयो ।’

नाउपाका संरक्षक चौधरीले लक्ष्मणकिशोरमाथि पूर्वाग्रह राख्नुपर्ने कुनै कारण नभएको र संसदीय दलको निर्णयअनुसार मन्त्री सिफारिस भएको बताए । पार्टी प्रणाली र निर्णयविरुद्ध कार्य गरेमा जुनसुकै नेता वा सांसदमाथि कारबाही हुने उनले बताए । ‘उहाँ (लक्ष्मणकिशोर) ले अहिलेसम्म पार्टीमा असन्तुष्टि राख्नुभएको छैन तर मिडियामा आएजसरी राजीनामा दिनुभएमा हामी स्वीकृत गर्छौं,’ उनले भने, ‘पार्टी अनुशासनविपरीत काम गर्दैर् जानुभयो भने कारबाही गर्छौं, बरु त्यस क्षेत्रमा उपनिर्वाचन नै किन नहोस् ।’

साढे एक वर्षअघि स्थापना भएको नाउपाले प्रतिनिधिसभामा ३ सिट र प्रदेशसभा ८ (सुदूरपश्चिममा ७ र लुम्बिनीमा १) सिट जितेको छ । चार स्थानीय तहमा प्रमुख जितेको छ । संघीय सरकारमा पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ, लुम्बिनी प्रदेशमा धर्मबहादुर चौधरी र सुदूरपश्चिममा रामेश्वर चौधरी मन्त्री तथा कैलाश चौधरी राज्यमन्त्री छन् । कान्तिपुरबाट

प्रकाशित:
2023/08/07, 8:21