भद्रपुर –भद्रपुर विमानस्थलको धावनमार्गबाट बाहिरिँदै खोल्सोमा धसिएको बुद्ध एयरको एटीआर–७२ विमानलाई अन्ततः ३६ घन्टापछि घटनास्थलबाट सुरक्षित स्थान (विमानस्थल भित्रै) सारिएको छ।
शनिबार बिहान ११ बजेदेखि सुरु भएको उद्धार तथा स्थानान्तरण कार्य आइतबार बेलुकी साढे ९ बजे सम्पन्न भएको घटनास्थलबाट एक उद्धारमा खटिएका अधिकारीले जानकारी दिए ।
करिब १४ टन तौलको खाली जहाजलाई खोल्सोबाट सार्न आइतबार विहान ५२ टन क्षमताको मुख्य क्रेनसहित तीनवटा क्रेन परिचालन गरिएको थियो । उद्धार कार्यमा बुद्ध एयरका १८ जना प्राविधिक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीसहित करिब ५०–६० जना जनशक्ति परिचालित थिए ।