अध्ययन भन्छ – मोबाइलको स्क्रिन, पैसा आदिमा कोरोना भाइरस २८ दिनसम्म बाँच्नसक्छ

Corona Update

एजेन्सी–अस्ट्रेलियन शोधकर्ताहरूको एक अध्ययनले कोरोना भाइरसको संक्रमण गराउने भाइरस नोट, फोनको स्क्रिन तथा स्टिलमा २८ दिनसम्म रहन सक्ने देखाएको छ। 

अस्ट्रेलियाको नेशनल साइन्स एजेन्सीको प्रयोगशाला अध्ययनले सार्स-कोभ-२ यी स्थानहरूमा सोचे भन्दा लामो समयसम्म रहने देखाएको हो।

यध्यपी यो परीक्षण अध्यारो स्थानमा गरिएको थियो। यस्तै अल्ट्रा भ्वाइलेट प्रकाशले यिनलाई मार्ने यसअघि नै देखाइसकेको छ।

केही विज्ञहरूले वास्तविक जीवनमा यी सतहबाट हुने वास्तविक संक्रमणका बारेमा भने शंका व्यक्त गरिरहेका छन्। कोरोना भाइरस मुख्यरूपमा मानिसले खोक्दा, हाच्छिउँ गर्दा वा बोल्दा सर्ने गर्छ। 

हावामा रहने कणहरूबाट सर्ने प्रमाणहरू पनि भेटिएका छन्। 

यस्तै अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार भाइरस रहेको धातु तथा प्लास्टिकजन्य सतहको सम्पर्कमा आएमा पनि यो सर्ने सम्भावना छ। यध्यपी यो धेरै कम अवस्थामा हुने गरेको छ। 

अध्ययनले के भन्छ?

अघिल्ला प्रयोगशालाका परीक्षणमा कोरोना सार्ने भाइरसहरू नोट र सिसामा दुई देखि तीन दिनसम्म तथा प्लास्टिक र स्टिलमा ६ दिनसम्म रहनसक्ने देखाएको थियो। यध्यपी यसका परिणामहरू फरक हुनसक्छन्। 

अष्ट्रेलियन शोधकर्ताहरूको अध्ययनमा भाइरस मोबाइलमा हुने सिसा, प्लास्टिक र कागजको नोटमा कोठाको तापक्रम(२० डिग्री सेल्सियस)मा २८ दिनसम्म धेरै बलियोरूपमा रहने पाइएको छ।

यसको दाँजोमा फ्लु भाइरस भने १७ दिनसम्म रहने अध्ययनले देखाएको छ।

भाइरोलोजी जर्नलमा प्रकाशित अध्ययनका अनुसार कोभिड भाइरस चिसोमा भन्दा धेरै तापक्रममा कम समय बाँच्ने गर्छ। २४ घण्टाको अवधिमा ४० डिग्री सेल्सियसमा तापक्रममा भने सो भाइरस केही सतहहरूमा संक्रामक हुन बन्द हुने गरेको अध्ययनमा पाइएको छ।

यो कपडा जस्ता झरझरा पदार्थहरू भन्दा चिल्लो, गैर-झरझरा सतहहरूमा पनि लामो समयसम्म रहने गरेको पाइयो जबकी कपडा जस्ता पदार्थहरूले १४ दिनपछि कुनै संक्रामक भाइरस बोकेको पाइएन। 

यो अध्ययनले आलोचना पनि खेपेको छ। 

कार्डिफ विश्वविद्यालयको रूघाखोकी केन्द्रका पूर्व निर्देशक प्रोफेसर रोन एकल्सले यस अध्ययनको आलोचना गरेका छन्। उनले अध्ययनको भाइरस २८ दिनसम्म जिवित रहन्छ भन्ने निश्कर्षले आम मानिसमा अनावश्यक त्रास फैलाउने बताउँदै आलोचना गरेका हुन्।

'भाइरस सतहमा खोकी र हाच्छिउँबाट आउने छिट्टा तथा फोहोर औंलाहरूबाट सर्छ र यो अध्ययनले ताजा मानव खकारलाई भाइरस संक्रमण फैलाउने माध्यमका रूपमा प्रयोग गरेको छैन', उनले भने, 'ताजा खकार भाइरसका लागि प्रतिकुल वातावरण हो। यसमा भाइरसनाशक एन्जाइमहरू बनाउने धेरै श्वेत कोषहरू हुनुकासाथै भाइरसलाई तटस्थ बनाउने अन्य एन्टीबडी र रसायनसमेत हुनसक्छ।'

'मेरो विचारमा संक्रामक भाइरस खकारमा केही दिन भन्दा पनि केही घण्टासम्ममात्र रहन्छ', उनले भने।

जुलाईमा लान्सेन्टमा प्रकाशित रूटर्स विश्वविद्यालयका माइक्रो बायोलोजीका प्रोफेसर इम्यानुअल गोल्डम्यानको एक शोधपत्रमा 'निर्जीव सतहहरूको माध्यमबाट प्रसारणको संभावना धेरै थोरै हुन्छ' भनिएको थियो। 

उनले महत्वपूर्ण खतरा भनेको अध्ययनको संरचना वास्तविक जीवनसँग निक्कै कम निकट भएको बताए।

गत साता युनिभर्सिटी अफ क्यालिफोर्नियाकी मेडिसिन प्रोफेसर मोनिका गान्धीले कोरोना भाइरस सतहबाट नसर्ने बताएकी थिइन्।

प्रकाशित:
2020/10/12, 10:19