कम्मरबाट पेस्तोल निकाल्न नपाउँदै असई गोविन्दको हत्या भएको प्रहरी निष्कर्ष

एक-दुई दिनमै रहस्य पर्दाफास गर्छौं: डिआइजी सुवेदी
police hatya

धनगढी –धनगढी उपमहानगरपालिका-१२ जुगेडामा २०६५ सालमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको थियो। अस्थायी प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षक (असई)को नेतृत्वमा १० जना प्रहरी खटाइएको थियो। साधारणतया चौकीमा खटाइने अधिकतम् प्रहरीको जनशक्ति पनि यति नै हो।  जुगेडा नेपाल-भारत सिमाना हो। भारततर्फ पलिया बजार छ। पलियाबाट वारि जुगेडा करिब ३० किलोमिटर टाढा पर्छ। दुवै देशको सीमा छुट्याउने मोहना नदीले हो। जुगेडाबाट नदी करिब साढे पाँच किलोमिटर हो। मोहना पारि भने लामो दूरीसम्म जंगल छ। बीचमा बस्ती पनि छन्। मोहना नदीमा शनिबार राति जुगेडा प्रहरी चौकीका इञ्चार्ज असई गोविन्द विकलाई हत्या गरी फालिएको थियो।

 

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार यो तस्करी हुने क्षेत्रले चिनिन्छ। यो ठाउँमा किराना सामान र कपडा तस्करी अत्यधिक हुने गरेको छ। चौकीमा विक तीन महिनाअघि मात्र गएका थिए।

अहिलेसम्मको प्रहरी अनुसन्धान तस्करी गर्ने समूहबाटै असई विकको हत्या गरेकोमा निश्चिन्त छ। सो ठाउँमा विकले तस्करीविरूद्ध आक्रामक कारबाही गरिरहेका थिए।


‘उनी गइकन गस्ती निस्किने र चोरी तस्करी नियन्त्रणमा प्रहरी सक्रिय भएको देखिन्छ,’ प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंह भन्छन्।

उनका अनुसार वारिवारि गर्न पुल नभए पनि नदीमा पानीको सतह कम रहेका कारण आउजाउ कठिन हैन।

सुदूरपश्चिम प्रदेशले गत असोज २४ गते चाडवाडलक्षित सुरक्षा योजना ल्याएको थियो। त्यसमा मोबाइल तथा मोटरसाइकल गस्ती थियो। प्रदेश प्रहरीले चाडवाडलक्षित सुरक्षा योजना ल्याएपछि असई विक सक्रिय रुपमा तस्करी रोक्न खटिने गरेका थिए।

असई विक चौकीबाट निस्किँदा ८ बजेको थियो। उनले दाङ बान्नीगढी-जयगढ गाउँपालिका-५ घर भएका ३२ वर्षीय प्रहरी जवान रामबहादुर साउँद साथमा लगेका थिए।

दुबै जना बा५८प ५२८४ नम्बरको मोटरसाइकल लिएर गस्तीमा निस्केका थिए। दुवै बर्दीमै थिए। मोटरसाइकल असई विकले नै हाँकेका थिए।

दुईमध्ये असई विकले साथमा चाइनिज पेस्तोल बोकेका थिए। तस्करी नियन्त्रणमा खटिने प्रहरीमाथि सुरक्षा चुनौती रहन्छ। तर, तस्करी नियन्त्रणकै क्रममा प्रहरी मारिएको यो घटना भने दुर्लभ हो।

खोलानजिक पुग्नेवित्तिकै हत्या

माओवादी सशस्त्र द्वन्द्वकालमा प्रहरीलाई नियन्त्रणमा लिएर हत्या गरिन्थ्यो। असई विकलाई पनि नियन्त्रणमै लिएर हत्या गरिएको हो कि भन्ने शंका पनि छ।

शान्ति प्रक्रिया सुरू भएपछि प्रहरी हत्याको शृंखला रोकिएको थियो। अपराध र तस्करी नियन्त्रणमा खटिने बर्दीधारी प्रहरीको हत्याले द्वन्द्वकालको घटनालाई पुनरावृत्ति गरेको झल्को दिएको छ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदीका अनुसार यो मोटरसाइकल चौकीबाट अढाइ किलोमिटर पर भेटिएको छ। विकको शव साढे पाँच किलोमिटर पर खोलामा भेटिएको छ।

भेटिएको र खोलाको बीच ठाउँमा मोटरसाइकल दौडाएको देखिएको छैन। बीच बाटोमा मोटरसाइकल रोकेर असई विक र जवान साउँद पैदलै हिँडेर गएका देखिएको छ।

खोलोबाट सामान वारि ल्याउने तस्करको समूह सक्रिय भएका कारण उनीहरू नाका छेक्न पैदल गएका थिए। उनीहरू खोलै छेउमा पुगेर तस्कर र सामान नियन्त्रणमा लिने उद्देश्यले गएको देखिन्छ।

‘खोलावारि करिब तीन सय मिटर ठाउँमा असई र जवान पुगेपछि तस्कर समूहबीच घम्साघम्सी भएको देखिन्छ,’ डिआइजी सुवेदीले भने।

उनका अनुसार बर्दीधारी प्रहरी हत्यामा विशिष्ट आपराधिक मनोवृत्ति देखिन्छ। दुवै जना राति ११ बजेसम्म सम्पर्कमै देखिन्छन्। ११ बजेपछि उनीहरूको सम्पर्क टुट्छ। तस्करी गर्ने समूह असईसँग चिढिएको भने हो। तस्करको ‘प्रि प्लान’  भने देखिँदैन। ‘मुठभेड भएको देखिन्छ, तस्करको समूह १० जनासम्म देखिन्छ,’ सुवेदीले भने। सुवेदीका अनुसार त्यो समूह नेपालमै नै छ र नेपालकै तस्करबाट असईको हत्या भएको छ। 

असईले गोली किन चलाउन सकेनन्?

तस्करी गर्ने समूह बढी संख्याको थियो र त्यसले असई र जवानलाई तुरुन्तै नियन्त्रणमा लिन सक्यो? अनुसन्धानको अर्को पाटो यसतर्फ पनि छ। सुवेदी भन्छन्, ‘मृतक असईले कम्मरबाट पेस्तोल निकालेर फायर गर्न असमर्थ रहे।’ उनका अनुसार दुवै प्रहरीको हत्या भइसकेको छ। जवानको शव भेटिन बाँकी हो।

‘फायर खोल्न मात्र सकेको भए पनि उनको ज्यानको थोरबहुत सुरक्षा सक्थ्यो,’ सुवेदीले भने, ‘उनले हतियार चलाउन सकेनन्, त्यसैले नदीभन्दा अगाडि नेपालतर्फ नै दुवै प्रहरीको हत्या गरियो।’

हत्यापछि खोलामा फालिएका असईको साथमा रहेको पेस्तोल छैन। तस्करको समूहले उनको पेस्तोल लुटेर लगेको सुवेदीले बताए।

सुवेदीले प्रहरीको हत्या गर्ने समूह पहिचान भइसकेको बताए। ‘शंकास्पद ११ जना पक्राउ परिसकेका छन्, हत्या गर्ने तस्कर नेपाली हुन्, भारतीय तस्करसँग उनीहरूको सम्पर्क सम्बन्धबारे अनुसन्धान भइरहेको छ,’ सुवेदीले भने, ‘एक-दुई दिनभित्रै रहस्य पर्दाफास गर्छौं।’

को हुन् असई विक?

कञ्चनपुरको पुनर्वास नगरपालिका–९ सुकुम्बासी बस्तीमा जन्मेका २८ वर्षीय विक पढाइमा अब्बल थिए। एसएलसी पास गरेपछि छात्रवृत्तिमा नाम निकालेर उनले प्लस टु र स्नातक गरेका थिए। ७ वर्षको छँदा उनका बुवा बिते। आमाले ज्याला मजदुरी गरेर घर चलाउँथिन्।

‘आमाको दुःख देखेका कारण परिवारप्रति उत्तरदायित्व छ भन्ने भाव उहाँमा थियो,’ उनका भाइ पवन विक भन्छन्, ‘सँगसँगै देश र जनताको निम्ति काम गर्ने मनोकांक्षा पनि।’

असई विक जन्म दिने आमा र मातृभूमिलाई ‘राम्रो’ बनाएर राख्छु भन्ने गर्थे। असई विकले २०७३ सालमा दीपायलबाट प्रहरी सहायक निरीक्षकमा नाम निकालेका थिए। 

१४ महिनाको तालिमपछि उनी सुर्खेतको वीरेन्द्रनगरस्थित आग्री प्रहरी चौकीमा खटिए। त्यहाँ १८ महिना काम गरे। विक जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा ८ दिन बसेपछि तीन महिनाअघि अस्थायी प्रहरी चौकी जुगेडाको इन्चार्ज भएर गएका थिए।

जागिर खानुअघि नै उनको बिहे भइसकेको थियो। उनको बिहे भएको १० वर्ष भएको छ। उनका दुई छोरी ५ र ३ वर्षका छन्।

उनी इमान्दार थिए। प्रहरीमा इमान देखाउँदै उनी प्रहरी निरीक्षक बन्न चाहन्थे। प्रहरी निरीक्षकका लागि काठमाडौंमा शरीरिक र स्वास्थ्य परीक्षण गराएर असोज ६ गते उनी धनगढी फर्केका थिए। उनी शारीरिक र स्वास्थ्य परीक्षणमा पास भइसकेका थिए।

असई विक घरपरिवारसँग १५ दिनअघि मात्र भेटघाट गरी फर्केका थिए। उनी हप्तामा एकपटक धनगढीमा डेरा गरी बसेकी श्रीमती र छोरीलाई भेट्न जाने गरेका थिए।

श्रीमती बिरामी भएका कारण उपचारका लागि धनगढीमा डेरा गरी बस्थिन्। ‘हामी सबैलाई आड दिने व्यक्ति हुनुहुन्थ्यो, दाइ हाम्रो भरोसा हुनुहुन्थ्यो,’ भाइ पवनले भने।

सोमबार साँझ उनको पुनर्वास नगरपालिका–९ मै पर्ने दोदा नदीमा अन्तिम संस्कार गरिएको छ। उनको पार्थिव शरीरमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी सुवेदीले नेपाल प्रहरीको झण्डा ओढाएर अन्तिम सम्मान व्यक्त गरे। प्रहरीमा सेवा गर्दागर्दै ज्यान गुमाएका उनको परिवारलाई अमर प्रहरीको परिवारका हैसियतले संगठनले मूल्यांकन गर्ने सुवेदीले बताए। सेतोपाटी बाट

प्रकाशित:
2020/10/20, 8:45