अमेरिकी राष्ट्रपति बाइडनको सबैभन्दा ठूलो आश्चर्यजनक जितमा महत्त्वपूर्ण भूमिका खेल्ने महिला
बीबीसी न्यूज
बीबीसी न्यूज–ज्यानुअरीमा उपपराष्ट्रपतिको पदभार ग्रहण लिँदा कमला ह्यारिसले नयाँ इतिहास लेख्नेछिन्। जो बाइडेन र ह्यारिसलाई ह्वाइट हाउस पुर्याउन अर्की अश्वेत महिलाले पनि मुख्य भूमिका निर्वाह गरेकी छन्।
जो बाइडनसँगै उभिएर जितमा खुसियाली मनाइरहँदा उपराष्ट्रपति निर्वाचित प्रथम अश्वेत तथा एशियाली अमेरिकी महिला ह्यारिसले एउटा विशेष समूह अर्थात अल्पसङ्ख्यक महिलाहरूका कारण आफ्नो अभियानले सफलता पाएको बताइन्।
उनले विशेषगरी अश्वेत महिलाहरूलाई अधिकांश अवस्थामा चासो नदिइने गरेको भए पनि उनीहरूले अमेरिकी लोकतन्त्रको मेरुदण्डका रूपमा आफूलाई धेरै पटक प्रमाणित गरेको बताइन्।
जोर्जिआमा ह्यारिसको यो सम्बोधन सुनिरहँदा हन्ट परिवारका सदस्यहरूको आँखा रसाएको थियो।
“अहिले जोर्जिआ नीलो भएको छ जुन यो राज्य र यहाँका बासिन्दा अझ त्यसमा पनि अश्वेत बसिन्दाहरूका लागि जीवनकै ठूलो परिवर्तन हो,” २७ वर्षीया क्रिस्टिन हन्टले भनिन्।
“यो स्टेसी एब्राम्स र स्थानीय सङ्घ-संस्थामार्फत् मानिसहरूलाई मतदानका लागि नाम दर्ता गर्न र हाम्रो मतको महत्त्व किन छ भनेर बुझाउन खटिएका अरू धेरै अश्वेत महिलाहरूको कारण सम्भव भएको हो।”